रुस र चीनविरुद्ध ट्रम्पले योजना गरेको 'गोल्डन डोम' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले यसरी काम गर्छ - www.bbc.com
Reuters अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो महत्त्वाकाङ्क्षी 'गोल्डन डोम' प्रतिरक्षा प्रणालीको विकासका लागि ग्रीनल्यान्डको स्वामित्व प्राप्त गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलनमा बोल्दै उनले भने, "राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अनि हाम्रा ऊर्जाशील र खतरनाक सम्भावित शत्रुहरूलाई टाढै राख्न हामी डेन्मार्कबाट त्यो भूमि चाहन्छौँ, जहाँ हामीले अहिलेसम्मकै सबैभन्दा ठूलो गोल्डन डोम बनाउन गइरहेका छौँ।"गत वर्ष ट्रम्पले सन् २०२९ मा आफ्नो राष्ट्रपतीय कार्यकालको अन्त्यसम्ममा यो प्रणाली "पूर्ण रूपमा सञ्चालनमा" आउने बताएका थिए। ग्रीनल्यान्ड हात पार्न ट्रम्पले 'अत्यधिक बल प्रयोग नगर्ने'ग्रीनल्यान्ड ट्यारिफको धम्कीबाट पछि हटे ट्रम्प, भने 'भविष्यको सम्झौताको ढाँचा' तयार प्रारम्भिक रूपमा २३ अर्ब डलर लगानीपछि राष्ट्रपतिले यस प्रणालीको कुल लागत लगभग १७५ अर्ब डलर हुने अनुमान गरेका छन्। तर कङ्ग्रेसनल बजेट अफिसले दुई दशकमा अन्तिम लागत लगभग पाँच गुणा बढी हुन सक्ने चेतावनी दिएको छ। यी योजनाहरूमा जमिन, समुद्र र अन्तरिक्षमा "नेक्स्ट जेनरेशन" प्रविधिहरूको सञ्जाल समावेश छ। यसमा आउने क्षेप्यास्त्रहरूलाई रोक्ने लक्ष्य राखेर अन्तरिक्षमा रहने गरी सचेत गराउने र नियन्त्रण गर्ने प्रविधि समावेश गरिने छन्। गोल्डन डोमले रुस र चीनजस्ता देशहरूबाट बढ्दो रूपमा परिष्कृत हवाई खतराहरूबाट जोगाउने गरी ढङ्गले विद्यमान प्रणालीको विस्तार र निर्माण गर्ने छ।'गोल्डन डोम'ले कसरी काम गर्छ?ट्रम्पको योजना आंशिक रूपमा इजरेलको 'आइरन डोम'बाट प्रेरित छ, जसले छोटो दूरीको क्षेप्यास्त्र खतरा रोक्न रेडार प्रतिरक्षा प्रणाली प्रयोग गर्छ। इजरेली प्रणाली सन् २०११ देखि त्यो प्रयोगमा छ।तर गोल्डन डोम त्योभन्दा धेरै गुणा ठूलो हुने छ र व्यापक दायराको खतराहरूको सामना गर्ने ढङ्गले डिजाइन गरिएको हुन्छ।यसले सम्भवतः सयौँ उपग्रहहरूको सञ्जाल प्रयोग गर्ने छ, जुन विगतमा निकै महँगो हुन्थ्यो तर आज त्यसको व्यावहारिक सम्भावना बढेको छ।तत्कालीन राष्ट्रपतिले सन् १९८० को दशकमा 'स्टार वार्स' नामको अन्तरिक्षमा आधारित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्रस्ताव गरेको उल्लेख गर्दै ट्रम्पले भने, "रोनाल्ड रेगनले धेरै वर्षपहिले नै त्यो चाहन्थे, तर उनीहरूसँग प्रविधि थिएन।"गोल्डन डोम विश्वको अर्को छेउ वा अन्तरिक्षबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई पनि रोक्न सक्षम हुने ट्रम्पको भनाइ छ। रुस र चीनबाट ग्रीनल्यान्ड कब्जा हुनबाट रोक्न अमेरिकाले 'स्वामित्व' लिनुपर्ने ट्रम्पको भनाइ क्रूज र (ध्वनिको भन्दा तीव्र गति हुने हाइपरसोनिक हतियारहरूसहित) बलिस्टिक क्षेप्यास्त्रहरू अनि फ्र्याक्शनल अर्बिटल बम्बार्ड्मन्ट प्रणालीबाट रक्षाका निम्ति यसको निर्माण गरिने छ। यसले अन्तरिक्षबाट युद्ध सामग्री ल्याइपुर्याउन सक्छ।यूएस सेन्टर अन साइबर एन्ड टेक्नलजी इनोभेशनका वरिष्ठ निर्देशक तथा अवकाशप्राप्त रिअर एड्मरल मार्क मोन्ट्गोमरीले गोल्डन डोम "भूउपग्रहहरूको तीन वा चार समूहहरूमा निर्भर हुने र त्यसको जम्मा सङ्ख्या सयौँ पुग्ने" बीबीसीलाई बताए।"तपाईँसँग सयौँ भूउपग्रहहरू छन्, जसले प्रक्षेपणहरूको भेउ पाउँछन्। अनि एउटा समूहले ट्र्याक गर्छ र प्रहार नियन्त्रण गर्छ," उनले बीबीसीको न्यूजडे कार्यक्रमसँग भने, "त्यसपछि अन्य भूउपग्रहहरू हुन्छन् जसले किनेटिक हतियारहरू वा दुस्मनका क्षेप्यास्त्रहरू खसाल्न प्रयोग गरिरहनुभएको हतियार बोक्न सक्छन्।" के 'गोल्डन डोम' तीन वर्षमा बनाउन सकिन्छ? Getty Images गोल्डन डोमले विश्वको अर्को छेउ वा अन्तरिक्षबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई पनि रोक्न सक्ने ट्रम्पले बताएका छन् 'द इकोनमिस्ट'का रक्षा सम्पादक शशाङ्क जोशी अमेरिकी सेनाले यो योजनालाई निकै गम्भीरतापूर्वक लिने बताउँछन्। तर ट्रम्पको कार्यकालमा यो योजना पूरा हुने छ भनेर सोच्नु अव्यावहारिक हुने उल्लेख गर्दै त्यसको लागतले अमेरिकी रक्षा बजेटको ठूलो हिस्सा ओगट्ने उनले बीबीसीलाई बताए।भूतपूर्व एड्मरल मोन्ट्गोमरी पनि सहमत छन्। "यो लक्ष्य प्राप्त गर्न चरणबद्ध रूपमा पाँचदेखि सात वा १० वर्षसम्मको समय लाग्न सक्छ, तीन वर्षमा यस्ता के चिजहरू हुन्छन् जसले हामीलाई अझ सुरक्षित बनाउँदछन्? पक्कै पनि," उनले भने, "तर राष्ट्रपतिको वर्तमान कार्यकालको अन्त्यसम्ममा शतप्रतिशत सुरक्षित प्रणाली सम्भव छैन।"'गोल्डन डोम' कसले बनाउने छ?जेनरल माइकल ग्यूट्लन अर्बौँ डलरको गोल्डन डोम परियोजनाको नेतृत्व गर्ने व्यक्ति हुन्।उनी डिसेम्बर २०२३ देखि स्पेस फोर्समा स्पेस अपरेशन उपप्रमुख छन्। यो अमेरिकी सेनाअन्तर्गतको निकाय हो। त्यसले "क्षेप्यास्त्र आउन लागेको चेतावनी, अन्तरिक्षका गतिविधि, अवस्थिति, न्याभिगेशन र समयबारे सूचना, सञ्चार सम्पर्क र अन्तरिक्षमा इलेक्ट्रोनिक युद्ध" मा सहयोग गर्छ।राष्ट्रपति ट्रम्पद्वारा "एक निकै प्रतिभाशाली व्यक्ति" को रूपमा प्रस्तुत गरिएका चारतारे जनरल ग्यूट्लन अन्तरिक्ष र क्षेप्यास्त्र प्रतिरक्षाको महत्त्वपूर्ण अनुभवका साथ अहिलेको भूमिकामा आएका छन्। उनी यसअघि स्पेस सिस्टम कमान्डका प्रमुख र रिमोट सेन्सिङ सिस्टमका निर्देशक थिए।अमेरिकाको ओक्लहोमा राज्यमा जन्मे-हुर्केका ग्यूट्लन सन् १९९१ मा ओक्लहोमा स्टेट यूनिभर्सिटीबाट पढाइ सकेपछि अमेरिकी वायुसेनामा भर्ती भएका थिए। EPA / Shutterstock डाभोसमा बोल्दै ट्रम्पले गोल्डन डोम प्रतिरक्षा प्रणालीको विकासका लागि ग्रीनल्यान्डमाथिको स्वामित्व महत्त्वपूर्ण रहेको बताएका छन् रुस र चीनको धारणा गोल्डन डोम मुख्य रूपमा रुस र चीनले प्रक्षेपण गर्ने क्षेप्यास्त्रहरूविरुद्धको प्रतिरक्षामा लक्षित छ।डिफेन्स इन्टेलिजन्स एजेन्सीले हालै जारी गरेको एउटा दस्ताबेजमा क्षेप्यास्त्र खतराहरूको "आकार र परिष्कृत स्वरूप विस्तार हुने" उल्लेख छ। साथै त्यसमा दुवै देशले अमेरिकी प्रतिरक्षामा रहेको "रिक्तताको लाभ उठाउने ढङ्गले" सक्रिय रूपमा प्रणाली विकास गरिरहेको आरोप पनि लगाइएको छ।चीन र रुस दुवैले 'गम्भीर अस्थिरताको कारक' भन्दै यो अवधारणाको आलोचना गरेका छन्। ट्रम्पको उपस्थितिले डाभोस मञ्चमा निम्त्याएको विश्वव्यापी 'उथलपुथल'को 'त्रास'ग्रीनल्यान्डमाथि अमेरिकी नियन्त्रणको इच्छा ट्रम्पले दोहोर्याएपछि डेनमार्कद्वारा रक्षा खर्च वृद्धि सन् २०२५ को मे महिनामा रुस र चीनबीचको वार्तापछि क्रेम्लिनले जारी गरेको विज्ञप्तिमा नयाँ प्रतिरक्षा प्रणालीले "अन्तरिक्षमा युद्ध सञ्चालन गर्न अस्त्रहरूलाई महत्त्वपूर्ण रूपमा सबलीकरण गर्ने" उल्लेख छ।पछि क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोफले उक्त योजनालाई अमेरिकाको "सार्वभौम मामिला" को सङ्ज्ञा दिँदै परमाणु हतियारसम्बन्धी वार्ता पुनः सुरु गर्न सक्ने आकलन व्यक्त गरेका थिए।चीनले यो योजनाले बाहिरी अन्तरिक्षमा सैनिकीकरण र हतियार होडबाजीको जोखिम बढाएर अन्तर्राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने बताएको छ।विदेश मन्त्रालयका प्रवक्ताले गत मे महिनामा अमेरिकालाई उक्त प्रणालीको योजना त्याग्न आग्रह गरेका थिए। उनका भनाइमा गोल्डन डोमले "खुला रूपमा बाहिरी अन्तरिक्षमा युद्ध क्षमतामा ठूलो मात्रामा वृद्धिको प्रस्ताव गर्दछ... र कडा आक्रामक प्रकृतिको पक्ष समेटेको, अनि यो आउटर स्पेस ट्रीटीले प्रोत्साहित गरेको शान्तिपूर्ण प्रयोगको विपरीत छ।" ट्रम्पको घोषणापछि अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?डोनल्ड ट्रम्पले कस्ता कर थपे, कुनकुन देश मारमा पर्न सक्छन् के क्यानडा गोल्डन डोम प्रणालीमा सामेल हुनेछ?ट्रम्पले घोषणा गरेको ट्यारिफ वृद्धिलाई लिएर छिमेकी मुलुकहरूबीच उच्च रूपमा तनाव बढिरहेकाले क्यानडाले प्रतिरक्षा परियोजनामा भाग लिने वा नलिने भन्ने अझै स्पष्ट भएको छैन।डाभोसमा बोल्दै अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ओटवालाई यसमा सामेल हुन निम्तो दिइएको बताए।ट्रम्पले अमेरिकाबाट प्राप्त गरेको 'सित्तैमा पाइने उपहार' का लागि क्यानडा कृतज्ञ हुनुपर्ने र उक्त प्रणालीले क्यानडाको पनि रक्षा गर्ने बताएका छन्।सन् २०२५ को मेमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले उनी र उनका मन्त्रीहरूले आफ्ना अमेरिकी समकक्षीहरूसँग नयाँ सुरक्षा र आर्थिक सम्बन्धबारे छलफल गरिरहेको बताएको थियो।उसले भनेको छ, "यी छलफलहरूमा स्वाभाविक रूपमा उत्तर अमेरिकन एरोस्पेस डिफेन्स कमान्ड र गोल्डन डोमजस्ता सम्बन्धित पहलहरूलाई सुदृढ पार्ने विषयहरू समावेश छन्।"क्यानडाका तत्कालीन रक्षा मन्त्री बिल ब्लेअरले पनि गत वर्ष क्यानडा डोम परियोजनामा सहभागी हुन इच्छुक रहेको स्वीकार गरेका थिए। त्यो "तर्कसङ्गत" र देशको "राष्ट्रिय हितमा" रहेको उनको तर्क थियो।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।