कुलमानको आह्वान- ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’ - www.pardafas.com
उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । बुधवार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन् । उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए । उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए । उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गरे । बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उनको भनाइ छ । राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री घिसिङले प्रमुख अतिथिको रुपमा पार्टी घोषणा सभाको सम्बोधन गरे ।