संकटग्रस्त घोषणामै सीमित इलाम, स्थानीयले गरे आन्दोलनको घोषणा - www.nepalclicks.com
इलाम: गएको असोज १८ र १९ गतेको बाढीपहिरोपछि इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि पुनर्निर्माण, मर्मत तथा स्तरोन्नतिको काम अघि नबढेपछि इलामेली नागरिकहरूले सरकारप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। जिल्लामा मुख्यत: भौतिक पूर्वाधार र सडक सञ्जालमा ठूलो क्षति भए पनि संकटग्रस्त जिल्ला घोषणामै सीमित भएको अवस्था देखिएको उनीहरूको आरोप छ। जिल्लाको भौतिक क्षति तथा सडक सञ्जालमा भएको क्षतिको तुलना गर्ने हो भने अब केही समयमै सुरु हुने वर्षाका कारण इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्ला मुख्य सडक सञ्जालबाट विच्छेद हुने र तीनवटै जिल्लाहरूमा स्थिति भयावह हुने अवस्था आउने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। झापाबाट इलाम लगायतका अन्य पहाडी जिल्ला जोड्ने मुख्य सडक तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माणको कार्य प्रारम्भ गर्न इलामका राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ–संस्थाहरूले पटक–पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय तथा सरकार मौन रहेको उनीहरूको भनाइ छ। ‘जिल्लाका विभिन्न क्षेत्रमा भएको क्षति मुख्यतः भौतिक पूर्वाधार तथा सडक सञ्जालका सन्दर्भमा संकटग्रस्त जिल्ला घोषणा गरिए पश्चात् उक्त क्षेत्रहरूको पुनःनिर्माण, मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक नीति, बजेट तथा कार्यक्रम विनियोजन भई हालसम्ममा पुनर्निर्माणका अधिकांश कार्यहरू सम्पन्न हुने अपेक्षा गरिएको थियो। तर उक्त अपेक्षा प्राकृतिक विपद् संकटग्रस्त जिल्ला घोषणामै सीमित रहेको तथ्य स्पष्ट भइसकेको छ। यस सन्दर्भलाई जिल्लाको भौतिक क्षति तथा सडक सञ्जालमा भएको क्षतिको तुलना गर्ने हो भने अब केही समयमै सुरु हुने वर्षाका कारण इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्ला मुख्य सडक सञ्जालबाट विच्छेद हुने र तीनवटै जिल्लाहरूमा स्थिति भयावह हुने कुरामा कुनै दुईमत छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ झापाबाट इलाम लगायतका अन्य पहाडी जिल्ला जोड्ने मुख्य सडक तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माणको कार्य प्रारम्भ गर्न इलामका राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ–संस्थाहरूले पटक–पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने कार्य हुँदा समेत सम्बन्धित निकाय तथा सरकार मौन रहेको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँदै सरकारको यस प्रकारको मौनताप्रति खेद व्यक्त गर्दछौँ।’ सचेत इलामेली नागरिकका संयोजक ईश्वर चिपालुद्वारा जारी विज्ञप्तिमा इलाम, पाँचथर र ताप्लेजुङको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग तथा वैकल्पिक राजमार्गको पुनर्निर्माण र स्तरोन्नतिका लागि ठोस कदम चाल्न सरकारसँग माग गरिएको छ। तोकिएको समयमा काम सुरु नभए चरणबद्ध आन्दोलनदेखि आम हडतालसम्म उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। उनीहरूले पहिलो चरणका आन्दोलन कार्यक्रमहरू समेत तय गरेका छन्। जसअनुसार पुस २ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रमहरू तय गरिएको छ। असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु हुनुका साथै अन्य भौतिक क्षति भएको थियो। पहिलो चरणको आन्दोलन कार्यक्रम: बिहान ११ देखि १२ बजेसम्म एक घण्टा मेची राजमार्ग सांकेतिक बन्द दिउँसो १२:३० देखि १:३० बजेसम्म इलामस्थित सडक डिभिजन कार्यालय घेराउ तथा तालाबन्दी दिउँसो २ देखि ३ बजेसम्म जिल्ला प्रशासन कार्यालय इलाम घेराउ तथा ध्यानाकर्षण पत्र बुझाउने इलामको समस्या समाधान नभएसम्म सरकारद्वारा घोषित निर्वाचन कार्यक्रम बहिष्कार गर्ने र दोस्रो चरणमा जिल्ला निर्वाचन कार्यालय तालाबन्दी गर्ने