नेपाल लाइफको तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम - www.palikalive.com
काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। साउन १६ देखि १८ गतेसम्म द सोल्टी होटल काठमाडौंमा आयोजित उक्त कार्यक्रम ‘लायन वर्षः लिड, रोअर, रिपिट’ नारासहित सम्पन्न भएको कम्पनीले जनाएको छ। देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी, एजेन्सी मेनेजर तथा कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पानसमा दीप प्रज्वलन गर्दै सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। सञ्चालक समितिका सदस्य अग्रवालले आर्थिक वर्ष २०८१/८२ मा प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई बधाई तथा धन्यवाद दिए। सञ्चालक ढकालले आर्थिक मन्दीको अवस्थामा पनि उत्कृष्ट प्रदर्शन गरेको भन्दै सबै अभिकर्ता र कर्मचारीको प्रशंसा गरे। प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित अभिकर्तालाई बधाई दिँदै चालू आर्थिक वर्षको लक्ष्य सुरुबाटै दत्तचित्त भएर पूरा गर्न आग्रह गरे। उनले गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै २०८२/८३ को बिक्री रणनीतिबारे जानकारी गराए। नेसनल सेल्स हेड उमापति पोखरेलले गत वर्षको लक्ष्य प्राप्तिमा योगदान गर्ने सबै अभिकर्ता, बिक्री टिम र कर्मचारीलाई धन्यवाद दिँदै संरचनात्मक परिवर्तनका कारण सेवा प्रवाह अझ प्रभावकारी भएको बताए। पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले अभिकर्ता टिम सक्षम रहेको र आगामी लक्ष्य प्राप्तिमा पूर्ण प्रतिबद्ध रहने बताए। पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता देशकै उत्कृष्ट भएको उल्लेख गर्दै सिकेको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न तयार रहेको बताए। कार्यक्रममा एजेन्सी मेनेजरतर्फ उत्कृष्ट १११ र व्यक्तिगत कोडतर्फ उत्कृष्ट ३२९ अभिकर्तालाई सम्मान गरिएको थियो। साथै, ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदक प्रदान गरिएको थियो। एजेन्सी मेनेजरतर्फ नेपाल प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा भए भने व्यक्तिगत कोडतर्फ सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी नगदसहित अवार्ड प्राप्त गरे। तीन दिनसम्म चलेको कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति पनि रहेको थियो।