पाँचथरमा बाढीपहिरोले दुई जनाको मृत्यु, तीन घाइते - janatatimes.com
काठमाडौं, असोज २० । लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण पाँचथर जिल्लामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको घरमा पहिरो खस्दा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घरमाथिबाट आएको पहिरोले शेर्माको घर पूरै भत्काउँदा उहाँको घटनास्थलमै ज्यान गएको हो। त्यस्तै, फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका १७ वर्षीय मिसेक नेम्बाङ, थलीबहादुर नेम्बाङका छोरा, को मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। अर्का तीन जनालाई विभिन्न स्थानमा पहिरोले पुरिएर चोटपटक लागेकाे छ। मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट आएको पहिरोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन्। त्यस्तै, फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पनि पहिरोमा परेर घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा अझै पहिरो खस्ने जोखिम कायमै रहेकोले स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।