सडकमा खटिन थाले निर्वाचन प्रहरी - www.pardafas.com
आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशभर निर्वाचन प्रहरीको परिचालन तिब्र पारिएको छ। अहिले राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकहरूमा म्यादी प्रहरीहरू नीलो बर्दीमा सजिएर खटिएको देख्न सकिन्छ। नेपाल प्रहरीले उनीहरूलाई केवल सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण, र निर्वाचन आचारसंहिता पालनाका विषयमा सुक्ष्म प्रशिक्षण दिइरहेको छ। प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन्। यो परिचालनले सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति गराउनुका साथै निर्वाचनको वातावरणलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ। निर्वाचन प्रहरीहरूलाई निर्वाचनका दिन मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग पुर्याउने मुख्य जिम्मेवारी दिइएको छ।