Redirecting...

कथा : रिठेको राजनीति - sahityapost.com

कथा : रिठेको राजनीति - sahityapost.com
Source: shpt

चुनावको प्रचारप्रसारको क्रममा केही दिन सदरमुकाम गएको थियो रिठे । ऊ राजनीतिक दलका ठूला भनाउँदासँग कसरी मोटो रकम असुल्न सकिन्छ भन्ने ध्याउन्नमा त्यता पसेको थियो । … हिजोअस्तिका दिनसम्म सुनसान देखिने गैरी भञ्ज्याङ गाउँमा फेरि चहलपलह बढेको थियो । गाउँका टाठाबाठाहरु चलमलाउन थालेका थिए । किनकि उनीहरुको कमाइ हुने दिन नजिकिदै थियो । देशभर चुनावको महामेलाको समय थियो । अघिल्लो चुनावमा गैरी भञ्ज्याङका रिठेले तीन पार्टीबाट मनग्य आम्दानी गरेको कुरा चुनाव सकिएको करिब वर्ष दिनपछि थाहा भएको थियो । उसलाई पैसो दिएका पार्टीका नेताबाट नै यो कुरा गाउँले युवाहरुले थाहा पाउँदा निकै पछुताएका थिए । रिठेले प्लस टु गरी १८ महिने सब इन्जिनियर प्राविधिक शिक्षा पनि उत्तीर्ण गरेको थियो । २०७२ सालमा नेपालको गोर्खाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण सोही बेला भूकम्प पीडित मानिसका भत्किएका घरको पुनर्निर्माणका लागि सरकारले अस्थायी करारमा विभिन्न जनशक्तिको व्यवस्थापन गर्ने क्रममा उसले जागिर पाएको थियो । केही समयपश्चात् ऊ जागिरबाट निस्केपछि व्यापार व्यावसायमा पनि हात हालेको थियो । व्यापारमा पनि लगानी डुबेपछि ऊ राजनीतिमा हाम फालेको थियो । आजभोलि उसको निकै फस्टाएको व्यापार राजनीति भएको छ, लगानीबिनाको आम्दानी । हरेक चुनाव उसको लागि कमाइ गर्ने मौसम नै बनेर आउँछ । देशका मुख्य दल मानिएका सबै दलसँग सेटिङ मिलाउन माहिर खेलाडी हो रिठे । उसको सेटिङमा माझ गाउँका दलबिरे र तल्लो गाउँका लालबिरे पनि सामेल छन् । उसले माझ गाउँका दलबिरेलाई एउटा पार्टीको मोर्चा सम्हाल्न लगाएको छ भने लालबिरेलाई अर्को मुख्य दलको पार्टीको सेटिङमा लगाएको छ । यी तिनैजना हुन्, गाउँलेलाई गुमराहमा राख्ने पात्र । विचरा ! गाउँका सिधासादा गाउँलेहरुले यो कुराको भेउ नै पाउँदैनन् । जगबिरे काँइलाका छोरा रिठेकोे गाउँलेलाई हरेक चुनावमा आफूले सेटिङ मिलाएको नेतालाई मत दिन सहमत गराउने र मोटो रकम असुल्ने उसको विशेषता थियो । नेतालाई गाउँमा ल्याएर खानेपानीको बोरिङ खनाउने, घर अगाडिको बाटो बनाउने, कालोपत्रे गर्ने, नाला निर्माण, विद्यालयको भवन यस्तै यस्तै माग पनि उठाउँथ्यो, रिठेले । यसरी गाउँलेहरु भरोसा गरेर रिठेलाई नै गाउँका नेता पनि मान्थे र उसले भनेको दल र नेतालाई मत दिन्थे । गैरी भञ्ज्याङ गाउँमा अर्का एकजना सामान्य व्यापारी रङ्बिर पनि थिए । गाउँमा सबैजसो इमानदार मानिस बस्थे । तर, झुपबहादुरको छोरा रङ्गबिरको चाहिँ भिन्न तर्क राख्थ्यो । रङ्गबिर सहकारीबाट ऋण गरेर सानोतिनो व्यापार गरेर जीवन गुजारा गरेका थिए । उसका कुरामा गाउँका केही युवा पुस्ताले विश्वास गर्थे । उसले राजनीति नगरे पनि नेपालको राजनीति राम्रैसँग बुझेको थियो । वर्षौदेखि देशमा राजनीतिक अस्थिरताले गाउँका सयौ युवाहरु विदेशिनु, उद्योग कलकारखाना नहुनु, कृषिमा आधुनिकीकरण नहुुनु, गाउँका दाजुभाइका कृषि उत्पादनले बजार नपाउनु, बाटोघाटको विकास नहुनुले गाउँलेहरु दुःख पाएको यथार्थ ऐनाजस्तै छर्लङ्ग थियो । तैपनि रिठेले नानाभाँती प्रलोभनमा गाउँको मन जितेर आफ्नो दुनो सोझ्याउने काम वर्षौदेखि गर्दै आइरहेको थियो । …. यसै क्रममा चुनाव पनि नजिकिैदै थियो । रिठेको गाउँघरतिरको दौडधुप पनि बढ्न थालेको थियो । उसले गाउँलेहरुलाई यस पटक पनि आफ्नो पक्षकोलाई मत हाल्नका लागि के गर्ने भन्ने उपाय सोच्दै थियो । उसले गाउँको भेला बोलायो र भन्यो, “हेर्नुस् गाउँले दाजुभाइ तथा दिदी बहिनी आमाबुवाहरु यस पटक पनि हाम्रा नेता चुनावमा उठ्या छन् । अब छिट्टै चुनाव पनि नजिकिदैँ छ । तपाईहरु कत्ति पनि दोधारमा नपर्नुहोला । मैले भनेको चुनाव चिन्हमा झ्याप्प छाप लगाउनु होला । विकासका लागि एकदमै राम्रो उम्मेदवार छन् ।” त्यो भेलामा रङ्गबिर पनि उपस्थित थियो । उसले भन्यो, “रिठे दाइले भनेको कुरामा विश्वास गरिहाल्नु उचित छैन । बरु चुनावमा उम्मेद्वारी दिएका कुन नेता हुन् ? कस्ता एजेण्डा छन् ? पुराना दल, नयाँ दल भन्छन् । पहिला सांसद बनेका हरिबहादुरजस्तै गफाडी र काम नगर्ने पो हुन् कि ? गाउँलेका लागि यो बनाइदिन्छु, त्यो गरिदिन्छु भन्दै बकम्फुसे रहेछ भने पाँच वर्ष व्यर्थै जान्छ । देशले पनि गति लिन सक्तैन । हामीलाई त भड्खालोमा पार्छ पार्छ । देश पनि डुबाउन सक्छ । साथीहरु हो, यसपालिको चुनावमा नयाँ ढङ्गले सोच्ने हो कि ?” उक्त भनाईले गाउँका केही मानिसहरु सहमत भए । केही दिन पछि गाउँमा छुट्टै भेला गरियो । चुनावको प्रचारप्रसारको क्रममा केही दिन सदरमुकाम गएको थियो रिठे । ऊ राजनीतिक दलका ठूला भनाउँदासँग कसरी मोटो रकम असुल्न सकिन्छ भन्ने ध्याउन्नमा त्यता पसेको थियो । ऊ गाउँमा फर्केपछि माझ गाउँका दलबिरे र तल्लो गाउँका लालबिरेसँग पनि गोप्य बसाइँ गरिसकेको थियो । आफूहरु विरुद्धमा रङ्गबिर गाउँमा गाउँलेलाई भड्काएको आरोप लगाएर आफ्नो गाउँमा दलबिरे र लालबिरेलाई मतदातालाई रकम बाँड्ने, भोजभतेरको चाँजोपाँजो मिलाइसकेको थियो । गैरी भञ्ज्याङ गाउँमा दलबिरे र लालबिरे कन्सुत्ला झै गाउँलेलाई रङ्गबिरविरुद्ध उक्साए । नेताबाट पैसा खाएर गाउँमा व्यापार गरेको सम्म भन्न भ्याए । गाउँमा खान पल्केका केही खन्चुवा ब्वाँसाहरु थिए । चुनावमा पुरानै नेता हरिबहादुर उठेका थिए । गाउँलेसँग उम्मेदवारीको साक्षात्कार गराए मत गुम्ने पक्कापक्की थियो । किनकि हरिबहादुर त्यो क्षेत्रबाट पटक पटक चुनाव जितेर पटक पटक मन्त्री पनि बनिसकेका थिए । दुर्भाग्य त्यो गाउँमा चुनाव जितेपछि न विकास गरे न फर्केर आए, मात्र चुनावका वेला आउने गर्थे । रिठेले माझ गाउँका दलबिरे, तल्लो गाउँका लालबिरेको सेटिङमा गाउँलेलाई आफ्नो पक्षमा ल्याउन गाउँका वृद्ध बुवाआमाको खुट्टै ढोगेर आफूले भनेकै पार्टी र नेतालाई मत हाल्न वाचा कसम खान पनि भ्यायो । गाउँमा विभिन्न दलका नेता कार्यकर्ता आउने जाने क्रम बढेकै थियो । सुनसान गाउँमा घोषणा पत्र, पर्चा पम्पलेट लिएर ढ्वाङ फुक्थे । आआफ्ना दलका नेतालाई लिएर कार्यकर्ताहरु जनतासँग मत माग्दै नारावाजी गर्थे । गाउँमा जात्रा मेला चलेको छ, जस्तो लाग्थ्यो । रिठेले पार्टीका नेताबाट सदरमुकाम गएको वेला रकम असुली सकेको रहेछ । एक दिन रिठेले आफ्नो घरमा गाउँमा भोजभोतेरको आयोजना गरेको थियो । उक्त भोजमा गाउँमा को को विरोधी छन् ? तिनलाई मासुभात, वियर खुवाएर विरोधी युुवालाई आफ्नो बनाइ छाड्यो । उता गाउँका सोझा दिदीबहिनीलाई गुन्युचोली, चप्पल पाएर मख्ख थिए । रिठे र उसका साथी दलबिरेले राती राती गुन्युचोली, चप्पल दिने क्रममा साइली पुकुली बज्यैलाई एकै गोडाका एक जोर चप्पल परेछ । भोलिपल्ट बिहानै दाहिने दाहिने चप्पल लगाएर निकै खुसीका साथ रङ्गबिरको पसलमा पुगेकी थिइन् पुकुली बज्यै । उनी नयाँ एक हजार रुपैयाको नोट दिएर एक पाकेट बिंडी मागेकी रहेछिन् । रङ्गबिरले पुकुली बज्यैको खु्ट्टामा दुबै दाहिने दाहिने चप्पल देखेपछि अचम्म पर्दै सोधेछन्, “पुकुली बज्यै भोट हाल्न जानलाई नयाँ चप्पल किनेर ल्याउनु भएछ कि क्या हो ?” “का किन्नु नाति आज राती त्यै रिठेले दिया त हो नि । मैले भन्या ठाउँमा भोट हाल्नु भन्दै थियो । बुहारीलाई पनि नयाँ गुन्यु चोली दियो । छोरोलाई त वियर पनि खुवाएछ मोराले । अस्ति घरदैलो कार्यक्रममा नयाँ नेतालाई ल्याएर भेटघाट गरायो । यसपालि त नेता पनि नयाँ रहेछन् नाति ।” रङ्गबिर अक्मकियो । किनकि त्यही पुरानै दलका भ्रष्ट नेता उनै हरिबहादुर चनावमा टिकट पाएका थिए । गाउँमा हरिबहादुर छिरेकै थिएनन् । रिठेले हरिबहादुरलाई गाउँले भोट दिदैनन् भनेर सेटिङमा एकजना नयाँ अनुहारका अरुलाई नेता बनाएर घर घरमा भेटाएका रहेछन् । उनी पुकुली बज्यैलाई ए ए भन्दै एक पाकेट बिंडी पनि दिए । रिठेको यस्तो चाला खासै नौलो होइन । अघिल्लो वर्ष गाउँमा आएको सडक मर्मत नाला निर्माण योजनामा आफ्नै श्रीमतीलाई अरुको श्रीमती भनी कोषाध्यक्ष बनाएको थियो र आफू अध्यक्ष भएर लाखौ रकम हसुरेको थियो । पुकुली बज्यै प्रायः घरकै काँचो पातको तमाखु खाने गर्थिन् । आज एकाबिहानै त्यो पनि हजारको नयाँ नोट लिएर पसलमा बिंडी किन्न आएकोमा अचम्मित परे रङ्गबिर । ठट्टा गर्दै रङ्गबिरले भने –“यो त हातै काट्ने जस्तो नयाँ नोट दियौ, बज्यै भत्ता बुझ्नु भो कि क्या हो । ” “का बुझ्नु नाति । यै चप्पल दिन आ वेला त्यो रिठेले त दिएको हो नि । अघि भने त भोट माग्न आयाथ्यो भनेर ।” रङ्गबिरले उत्सुकतापूर्वक सोध्यो, “कति दिएछन् त रिठे दाइले ।” “खै, के भनु नाति मलाई त यै एउटै दिए । छोरा बुहारीसँग खासखुस कुरा गर्दै यस्तै पाँच सात वटा गनेको देख्या थे ।” रङ्गबिरले गाउँमा केही युवा जम्मा गरेर यसबारे बुझ्न कोसिस गर्यो । जो जो विरोधी थिए, ती सबै अब रिठेका भइसकेका थिए । यो सब सेटिङमा भएको थियो । ती परिवर्तन चाहनेहरु पनि रङ्गबिरका खिल्ली उडाइरहेका थिए । यसले गर्दा रङ्गबिरको अनुहारको रङ उडिसकेको थियो । अघिल्लो चुनावपछि पनि गाउँमा विकासको योजना आएको रहेछ । त्यो पनि लालबिरे, दलबिरेको सेटिङमा कागजी विकास गरी करोडौँको बजेट कुम्ल्याएको रहेछ रिठेले । यसरी सेटिङमा कति दिन देश चल्ने हो भनी रङ्गबिर निराश हुँदै घरतिर लाग्यो । (कथाकार ‘पन्ना’को थारु भाषामा ‘ककनदरान छोटकी’ कथासंग्रह प्रकाशित छ ।)