भृकुटीमण्डपमा भोट क्रसको त्रास, कसको पक्षमा आउला परिणाम ? - www.sutranews.com
काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । गत शनिबारबाट जारी महाधिवेशनमा बुधबार बिहानदेखि मतदान सुरु भएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । मनोनयन दर्तादेखि मतदान प्रक्रिया सुरु हुँदासम्म दुवै पक्षले सार्वजनिक गरेका सूचीमा फेरबदल भएको देखिन्छ । मतदान प्रक्रियामा सहभागी भएर निस्केका केही प्रतिनिधिले पार्टी एकताका लागि भन्दै भोट क्रस भएको बताएपछि ओली समूह चिन्तित देखिन थालेको छ । ओली पक्षका प्रतिनिधिहरुले पोखरेल समूहलाई मतदान गरेको आंकलन गरिन थालिएको छ । भृकुटीमण्डपमा मतदान भइरहेको छ । भोट क्रसको चर्चाले ओली समूहमा चिन्ता बढाउँदा पोखरेल समूह खुसी देखिन थालेको छ । यद्यपि, महाधिवेशन प्रतिनिधिले कसलाई बढी मत दिए भन्ने अन्तिम परिणाम सार्वजनिक भएपछि मात्र थाहा हुनेछ । तर, महाधिवेशन स्थलमा भने भोट क्रस भएको चर्चा भइरहेको छ । अध्यक्षमा ह्याट्रिक गर्न लागेका ओली र पहिलो पटक अध्यक्ष बन्न चाहेका पोखरेल समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उर्त्रिएका हुन् । कतिपयले मिश्रित परिणाम आउने आंकलन गरिएका बेला ओली समूहबाट भोट क्रस भएको अनुमानसहित चर्चा भएको हो । भोट क्रसको आंकलन समूहकै उम्मेदवारले गर्न थालेका छन् । ओली समूहबाट असन्तुष्ट र गुठबन्दीका कारण भोट क्रसको आशंका गरिएको हो । मतदानका लागि देशभरीबाट आएका २ हजार २६३ महाधिवेशन प्रतिनिधिले आमागी नेतृत्व चयन गर्नेछन् । उनीहरुले ओली वा ईश्वर समूहलाई एमालेको आगामी दिनको नेतृत्व सुम्पिनेछन् । ओली समूहबाट अध्यक्षमा ओली, उपाध्यक्षमा गुरुप्रसाद बराल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमार अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यमलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की उम्मेदवार छन् । पोखरेल समूहमा अध्यक्षमा पोखरेल, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, डा. विन्दा पाण्डे, पर्शुमेघी गुरुङ, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी, सविचवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल उम्मेदवार छन् । कुनै बेला ओलीलाई साथ दिएका र उनको पक्षमा खरो उत्रिएर समर्थन गरेका नेताहरु पोखरेल समूहका उम्मेदवार बनेकाले पनि ओली समूहको भोट क्रस भएको अनुमान गरिएको हो । मतदान गरेर फर्किएरका केही प्रतिनिधिले पार्टी एकढिक्का बनाउन दुवै समूहबाट छानेर ‘राम्रा उम्मेदवार’ भोट दिएको बताएपछि भोट क्रस भएको अनुमान गरिएको हो ।