एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी र रिएले भिड्ने - ehimalayatimes.com
काठमाडौं । यही साउन अन्तिमदेखि सुरु हुने एन्फा महिला लिग छनोट २०२५ को उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिकाअनुसार साउन २७ गते छहारी र रिएलेबीच एन्फा कम्प्लेक्स, सातदोबाटोमा उद्घाटन खेल हुनेछ । खेल साढे १२ बजे सुरु हुनेछ । सोही दिन दिउँसो ४ बजे एन्फा कम्प्लेक्समै संकटा एफसी र नेपाल खेलकुद क्लबबीच खेल हुनेछ । महिला लिग छनोटमा ‘ए’ डिभिजन क्लब, नेपाल सुपर लिग फ्रेन्चाइजदेखि विभिन्न क्लबहरू गरी १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेण्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले छन् । यस्तै, समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब छन् । यसअघि असार पहिलो साता एन्फाले महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा रहेकामध्ये चित्लाङ एफसी र कन्काई खेलकुद प्रतिष्ठानले कागजात समयमा नबुझाएपछि स्वतः हटेका छन् । महिला लिग छनोटबाट शीर्ष पाँच टिम महिला लिगको अन्तिम चरणका लागि छनोट हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । ‘छनोटको दुई समूहको शीर्ष दुई-दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । यस्तै, दुवै समूहको तेस्रो हुने टिमबीच प्लेअफ खेलाउने र त्यसमा विजयी हुने टिम पनि अन्तिम चरणमा हुनेछ,’ उहाँले भन्नुभयो । यसअघि महिला लिगको सुपर राउण्डमा खेलेका पाँच टिम र छनोटबाट छानिएका पाँच गरी १० टिमबीच महिला लिग हुनेछ ।