Redirecting...

साँचो साहित्य (समीक्षा/नवपुस्ता) - sahityapost.com

साँचो साहित्य (समीक्षा/नवपुस्ता) - sahityapost.com
Source: shpt

‘बसाइँ’ एउटा सशक्त सामाजिक उपन्यास हो जसले ग्रामीण नेपालको कठोर यथार्थलाई नग्न रूपमा प्रस्तुत गर्छ । कथा दिमागबाट सजिलै पखालिँदैन; यो कल्पना होइन, जीवनको दस्तावेज जस्तो लाग्छ । === ‘बसाइँ’ एउटा यस्तो कथा हो जसले गरीबीको कठोर अनुहारलाई नजिकबाट देखाउँछ । धने बस्नेत गाउँमा बस्ने एउटा साधारण मान्छे हो । श्रीमती, बहिनी र सानो छोरासँग उसको सिङ्गो संसार त्यही सानो झुप्रोमा अडिएको छ । ऊ दिनरात खट्छ, परिवार पाल्न सङ्घर्ष गर्छ तर नियतिले उसलाई कहिल्यै हाँस्न दिँदैन । उसको गाभीनु भैँसी मर्छ, बाली नष्ट हुन्छ, ऋण नै ऋणको बोझ थाप्लो माथि छ अनि यस्तै एक पछि अर्को दुःखको पहाड थपिँदै जाँदा अन्ततः उनले गाउँ छोड्ने निर्णय गर्छ । ऊ श्रीमती र सानो छोरालाई लिएर अज्ञात ठाउँतर्फ लाग्छ । यो बसाइँ होइन, बाध्यता हो । कथाको अर्को धागो, धनेकी बहिनी झुमासँग जोडिन्छ । गाउँमा हुर्के बढेकी र गाउँभन्दा बाहिरको संसार नदेखेकी झुमा निर्दोष, निष्कपट र निश्चल छिन् । यौवनको संघारमा पुगेकी उनले एकदिन एउटा रिकुटेको विश्वास गर्छिन् र आफ्नो यौवन उसलाई सुम्पिन्छिन् तर उनले विश्वास गरेको मान्छेले उनलाई धोका दिन्छ । जीवनको सबैभन्दा कठिन घडीमा उनको हात थामिदिन मोटे कार्की आइपुग्छ । एउटा साँच्चैको मान्छे । मोटेले झुमालाई मात्र होइन, उनको गर्भको बच्चालाई पनि आफ्नो ठान्छ । बिना कुनै स्वार्थ, बिना कुनै अपेक्षा उसले झुमालाई माया गर्छ । ठीक यहाँ आएर उपन्यास भन्छ — दुनियाँ जति कठोर भए पनि, असल मान्छे अझै बाँकी छन् । बसाइँ यो उपन्यासले विपत्तिमा साथ दिन सिकाउँछ, ग्रामीण गरिबीको यथार्थ चित्रण गर्छ; किन मानिसहरू गाउँ छोडेर बसाइँ सर्छन् भन्ने कुरा जीवन्त रूपमा देखाउँछ । मोटे कार्की पात्रमार्फत साँचो प्रेमको परिभाषा दिन्छ । सरल र भावनात्मक भाषा शैलीले पाठकको मन छुन्छ । यद्यपि उपन्यास पूर्ण रूपमा दोषमुक्त हुन सकेको छैन । कथामा दुःखका घटना एकपछि अर्को गर्दै यति धेरै आइपर्छन् कि कतिपय पाठकहरूलाई त्यही कुरा ‘मोनोटोनस’ लाग्न सक्छ । पात्रहरूलाई प्रायः ‘राम्रो’ र ‘नराम्रो’ को साधारण खेमामा राखिएको छ; उनीहरूका मनोविज्ञान र व्यवहारका पछाडिका कारणहरूबारे थप खुलाइएको भए कथामा गहनता हुने थियो । उपन्यास अन्त्य गर्न अलि हतारिएको जस्तो लाग्छ—धने आफ्नो परिवारसहित कहाँ पुग्छ, के हुन्छ, त्यो रहस्यमै छोडिएको छ । धने र उसको परिवारप्रति गहिरो सहानुभूति र धनीमानीहरूले गरीब–गुरूवाहरू माथी गर्ने अन्यायले रिस उठ्नु त सामान्य नै हो । एउटा दुःख सकिन नपाउँदै अर्को दुःख मडारिएर आउँदा मान्छे कति हतास र निराश बन्छ ? झुमाले पाएको धोकाले मनमा च्वास्स हुनु, मोटे कार्कीको निःस्वार्थ मायाले आफ्नै शरीरमा न्यानो स्पर्श गरेझैँ हुनु जस्ता मनोभावहरू उपन्यास पढ्दै गर्दा उत्पन्न हुन्छन् । उपन्यास पढिसकेपछि पाठकका मनमा उदासी छाउनुका साथै गरीबहरूको सहनशीलता प्रति सम्मानको मिश्रित भाव रहन्छ । धेरैले समाजले कसरी मानिसहरूलाई बसाइँ सर्न बाध्य बनाउँछ भन्ने कुरालाई लिएर धेरैबेर गम्ने छन् । कोही भावनात्मक रूपले निकै थकित महसुस गर्नेछन् तर वास्तविकताको नजिकै पुगेको अनुभव पनि गर्नेछन् । ‘बसाइँ’ एउटा सशक्त सामाजिक उपन्यास हो जसले ग्रामीण नेपालको कठोर यथार्थलाई नग्न रूपमा प्रस्तुत गर्छ । कथा दिमागबाट सजिलै पखालिँदैन; यो कल्पना होइन, जीवनको दस्तावेज जस्तो लाग्छ । यसको सबैभन्दा ठूलो बल भनेको यसले उमार्ने कच्चा भावना र गरिबीले लादेको बसाइँको मार्मिक चित्रण हो । पुस्तकमा रहेका केही सुक्ष्म कमजोरीहरू — जस्तै: धने बस्नेत (जातले एउटा क्षेत्री) भन्दा लेउते दमाई (जातले दलित) बढी धनी हुनु अस्वाभाविक लाग्छ । हुन त यस्तो परिवेशले चाहे जो सुकै होस्, एउटा मान्छेले अभावमा बाँचेको अर्को मान्छेलाई थिचोमिचो गरेर आफूले मनोरञ्जन गर्ने प्रवृति देखाउन खोजेको पनि हुन सक्छ । यसरी हेर्दा अलि बढी सूक्ष्मता र आशाको किरण थपिएको भए यो कृति अझ अमर बन्न सक्थ्यो जस्तो लाग्छ । तैपनि, नेपाली साहित्यका लागि ‘बसाइँ’ एउटा अविस्मरणीय योगदान हो । यो पढेपछि लामो समयसम्म मन अमिलो बन्छ र त्यही अमिलो मनको अमिलोपनले यसलाई साँचो साहित्य बनाउँछ । The post साँचो साहित्य (समीक्षा/नवपुस्ता) appeared first on साहित्यपोस्ट.