गत वर्ष काठमाडौं महानगरभित्रका ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्ति पाए - bishwokhabar.com
काठमाडौं– काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका छन् । महानगरले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा ५ हजार ८ सय ९५ जनालाई, दलित छात्रवृत्तिमा १ हजार ३ सय २२ जनालाई, अपाङ्ग र आवासीय छात्रवृत्ति ४ सय ५५ जनालाई यो अवसर प्राप्त भएको हो । यस्तै संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्म १९ हजार ३ सय ६ जना र कक्षा ११ र १२ मा ३ हजार ८ सय १ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका हुन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरुका विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो । यस वर्ष ३९ वटा विद्यालयहरुले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरे । कक्षा १ देखि १२ सम्मका ५६ हजार ३० सय १ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरे । ५८ हजार ७ सय ३९ जना विद्यार्थीले नियमित दिवा खाजा प्राप्त गरे । सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६ सय ८९ जना छात्राले निःशुल्क सेनिटरी प्याड प्राप्त गरे । शिक्षातर्फ यस वर्षका लागि ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३।८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको विभागको भनाई छ । यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च भयो ।