मलंगवामा गोली प्रहारबाट पूर्वाधार विकास कार्यालय सर्लाहीका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु - janatatimes.com
काठमाडौं, फागुन ३ । सर्लाहीको मलंगवामा गोली प्रहारबाट पूर्वाधार विकास कार्यालय सर्लाहीका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ। पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रबार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटना मलंगवा नगरपालिका–१० क्षेत्रमा भएको बताइएको छ। गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि मलंगवा अस्पताल पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार उहााको मुटुको नजिक गोली लागेको थियो। उहाँकाे उपचारकै क्रममा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार अज्ञात समूहले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।