Redirecting...

विभिन्न कार्यक्रम गरेर मनाइयो संसद् सेवा दिवस - ehimalayatimes.com

विभिन्न कार्यक्रम गरेर मनाइयो संसद् सेवा दिवस - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हिजो विभिन्न कार्यक्रमका साथ संघीय संसद् सेवा दिवस मनाइएको छ । आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको हो । १९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरबारमा एक कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा दिवस मनाइएको हो । राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पु¥याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्वपूर्ण रहेको कुरा स्मरण गर्दै उक्त दिवस मनाइएको हो । जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरेप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्लाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । संघीय संसद् सचिवालयको दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिरसमेत गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘२७ भदौमा गएर संसद्लाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु, संसद्को सरकारको अधीनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद् आफैँमा पूर्ण स्वायत्त निकाय हो ।’ सभामुख घिमिरेले सरकारले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सरकारले संघीय संसद्लाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाइ थियो । सभामुख घिमिरेले सरकारले संघीय संसद्को सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनुपर्ने समेत बताउनुभयो । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व हो : अध्यक्ष दाहालराष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उहाँले सो आवश्यक्ता औँल्याउनुभएको हो । संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभूति सम्बन्धित सबै पक्षलाई भएको पनि बताउनुभयो । निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसद्को भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । ‘लोकतन्त्रको सुन्दर र उन्नत पक्ष भनेको निर्वाचन हो । यो चुनाव समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित गराउन सरकारको जति दायित्व छ । सरकारलाई सहयोग गर्न हाम्रो पनि त्यत्तिकै दायित्व हो भन्ने कुरा बुझन उत्तिकै जरुरी छ,’ उहाँले भन्नुभयो । अध्यक्ष दाहालले जेन-जी आन्दोलनको मुख्य मागका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणको काममा संसद्ले पनि उत्तिकै महत्वका साथ काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकार निर्वाचनको तयारीमा केन्द्रित छ : कानुनमन्त्रीकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमारसिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ । संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद् सेवाका कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसद्को विशेष सहयोगीको रूपमा रहेको संसद् सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो,’ उहाँले भन्नुभयो । उहाँले कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको बताउनुभयो ।