दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष यादव पक्राउ - www.sutranews.com
काठमाडौं । शुक्रबार साँझ सिरहाको कल्याणपुर नगरपालिका–८, अरङमा पाँच दलित परिवारका घर प्रहरीकै अगाडि भत्काइयो।स्थानीय शोभित पासवान भन्छन्, “हामी कराउँदै थियौं, प्रहरी हेरिहेरि हाम्रो घर लुटिए।” राजकुमार, प्रभाष, शैलेन्द्र, नितेश सिंहलगायत २०–२५ जनाको समूह आएर घर तोडफोड गरेको उनीहरू बताउँछन्। विवादको कारण असोज १ गतेको विश्वकर्मा पूजामा भएको झगडा थियो। त्यसको बदला स्वरूप उनीहरूका घर तोडफोड गरिएको स्थानीयको भनाइ छ। अहिले वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् र तीन जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो। त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका एसपी अनन्तराम शर्माले जानकारी दिए। वडाध्यक्ष यादवका अलावा तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको थियो। स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट भएको थियो। पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगयत २०/२५ जनाको समूहले घर तोडफोड तथा लुटपाट गरेका थिए। मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि उनीहरू भागेका थिए।