क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, जनही १३ करोड ५७ लाख ४६ हजार बिगो माग - corporatesamachar.com
काठमाडैं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माण सम्बन्धमा भएको अनियमिता सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित अन्य ६ जनाविरुद्ध विशेष अदालतमा आज अभियोग पत्र दायर गरेको हो । अख्तियारले महानिर्देशक प्रदीप अधिकारीसहित क्यानका तत्कालिन निर्देशक मुरारी भण्डारी, तत्कालिन बरिष्ठ अधिकृत, हाल उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालिन सञ्चालक विजय थापामाथि भष्टाचार मुद्दा लगाएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिईएको छ’ महानिर्देशक अधिकारी माथि थप सजाय माग गर्दै अख्तियारले भनेको छ ‘ साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक रही प्रतिवादी निज प्रदीप अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित कसुर गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिईएको छ ।’ अभियुक्तहरूविरुद्ध जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो माग गरिएको छ। प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरिरहेको छ। सोही क्रममा अख्तियारले प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो । नलिन्चोकमा हेलिप्याडको ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक प्रदीप अधिकारीले उद्घाटन गरेका थिए। अख्तियारले उनीहरूलाई जेल सजाय र जरिवानासहितको दण्डको मागसमेत गरेको छ । आयोगले महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार पक्राउ गरेको छ ।