जरासन्धको रोमाञ्चक उपाख्यान - sahityapost.com
इन्द्रप्रस्थमा मय दानवले निर्माण गरेको देवनगरीतुल्य दिव्य सभाभवनमा एक पटक देवर्षि नारदको आगमन भयो । उहाँले राजा युधिष्ठिरलाई राजसूय यज्ञ गर्न उत्साहित गराउनुभयो । समस्त लोकमा आफ्नो कीर्ति एवम् ऐश्वर्यको वृद्धिका लागि राजा युधिष्ठिर सो यज्ञ गर्न उद्यत भए । यस विषयमा उनले आफ्ना सबै भाइहरू, मन्त्रीहरू र ऋषिमुनिहरूसँग पनि सल्लाह लिए । सबैले राजाका इच्छाको अनुमोदन गरे । अन्त्यमा सबैभन्दा सम्मान्य सुहृद्वर श्रीकृष्णसँग धर्मराज युधिष्ठिरले यस यज्ञका सम्बन्धमा आफ्नो मनको उत्कण्ठा प्रकट गरे । भगवान् श्रीकृष्णले भन्नुभयो : सर्वैर्गुणैर्महाराज राजसूयं त्वमर्हसि जानतस्त्वेव ते सर्वं किञ्चिद् वक्ष्यामि भारत । (महाभारत, सभापर्व, १४ अध्यायको पहिलो श्लोक) हे महाराज युधिष्ठिर, तपाईंमा ती सबै सद्गुणहरू विद्यमान छन् जो राजसूय यज्ञका कर्तामा हुनुपर्ने हुन् । हुन त तपाईंलाई सबै कुरा थाहा नै छ, तैपनि सोधिहाल्नुभयो, तेसैले म यस विषयमा तपाईंका सामू केही कुरा निवेदन गर्दछु – राजसूय यज्ञ गर्नका लागि संसारका सारा वीरहरू र सबै राजाहरूलाई तपाईले जित्नुपर्नेछ । दुर्योधन, भीष्म, द्रोण, अश्वत्थामा, कृपाचार्य, कर्ण, शिशुपाल, रुक्मी, धनुर्धर एकलव्य, द्रुम, श्वेत, शैब्य र शकुनि यी सारा वीर योद्धाहरूमाथि रणभूमिमा विजय प्राप्त नगरीकन तपाईं कसरी राजसूय यज्ञ गर्नुहोला र ? लु भइहाल्यो ! यिनीहरू त तपाईंको गौरव स्वीकार गरेर लड्न नआउलान् अरे, तर जरासन्धलाई नजितीकन त तपाईंको यज्ञ किमार्थ पूरा हुनेछैन । हे राजन्, आजभोलि मगधनरेश जरासन्धकै सर्वत्र बोलबाला छ । उनका अगि आज विश्वभरिकै वीरहरू सबै त्राहिमाम्गर्दछन् । जरासन्ध यति बलवान् छन् कि उनले यस जगत्का सारा राजाहरूलाई बलवत् बन्दी बनाएर आफ्ना इष्टदेवलाई बलि दिन भनी कैद गरी राखेका छन् । ती सबै राजाहरूलाई कैदबाट मुक्त नगरीकन तपाईंको यज्ञ सफल हुन सक्दैन । अनि जबसम्म जरासन्ध जीवित छन् तिनलाई तपाईंले कैदबाट छुटाउन पनि सक्नुहुन्न । तेसैले हे राजन्, राजसूय यज्ञ गर्ने नै हो भने सबैभन्दा पहिले जरासन्धलाई सिद्ध्याउने उपाय गर्नुहोस् । श्रीकृष्णका मुखबाट जरासन्धका वीरताको यत्रो बयान सुनेपछि राजा युधिष्ठिरले उनका बारे जिज्ञासा राखे, अनि श्रीकृष्णले भन्नुभयो : कुनै समय मगधदेशमा बृहद्रथ नाम गरेका एक बलवान् राजा राज्य गर्दथे । तिनी देवराज इन्द्रतुल्य यशस्वी थिए । उनी तेजमा सूर्य, क्षमामा पृथिवी, क्रोधमा स्वयं यमराज र धनसम्पत्तिमा कुबेरकै समान थिए । तिनले काशीराजका परमरूपवती जुम्ल्याहा छोरीसँग विवाह गरेका थिए । ती युवती–युगलका साथ उनले आफ्नो यौवनका आनन्दमय दिनहरू कामभोगपूर्वक व्यतीत गरे । राजाको सारा जवानी ती रूपसीहरूका समागममा बित्न लाग्यो तर पनि तिनका सन्तान भएनन् । एकदिनको कुरा हो, चण्डकौशिक नाम गरेका मुनि आफ्नो उत्कट तपस्या सम्पन्न गरेर एउटा विशाल वृक्षतलमा आराम गरेर बसिरहेका थिए । उनको ख्याति सुनेर राजा बृहद्रथ प्रशस्त उपहारको भारी बोकाएर त्यहाँ पुगे र ती तपस्वीवर चण्डकौशिकको पूजा आराधना गरेर उनलाई प्रसन्न तुल्याए । सेवाभावले सन्तुष्ट बनेका मुनिले राजालाई वर माग्न भने । उनले आफ्नो मनोव्यथा बयान गर्दै सन्तान प्राप्त होस् भन्ने वर मागे । उनका कुरा सुनेर मुनि मौनभावका साथ ध्यानस्थ बने । तेसै बेला कतै शून्यबाट एउटा आँपको फल ती चण्डकौशिक मुनिका काखमा खस्न आइपुग्यो । त्यस दिव्य फललाई मुनिले अभिमन्त्रित गरे र राजालाई दिंदै भने : लिनुहोस्, तपाईंको इच्छा अब पूर्ण भयो । यो सिद्धफल लगेर रानीलाई खुवाउनुहोस्, यसै फलले तपाईंलाई पुत्र–प्राप्ति गराउनेछ । हे राजन्, म तपाईंका पुत्रलाई अहिले नै यी आठवटा वर दिन्छु : १. यो ब्राह्मणवर्गको भक्त हुनेछ । २. यसलाई सदा युद्धमा अभिरुचि हुनेछ । ३. यो युद्धमा अजेय हुनेछ । ४. यो अतिथिहरूको प्रेमी हुनेछ । ५. यसले दीनदुःखीहरूमाथि सदा कृपा दृष्टि राख्नेछ । ६. यसको बल महान् हुनेछ । ७. यसको यस लोकमा अक्षय कीर्ति रहनेछ । ८. समस्त प्रजाजनमा यसको सदा स्नेह रहनेछ । यो परमकृपा पाएर मुनिका चरणमा शिर झुकाएर राजा बृहद्रथ राजधानी फर्किए र आफ्ना रानीहरू ती दुवै जुम्ल्याहा काशीराजपुत्रीलाई त्यो आँपको फल खान दिए । त्यो आँप बीचमा काटेर दुवैले आधा–आधाभाग खाए, दुवै गर्भवती पनि भए र यथासमय सन्तान पनि जन्माए । तर सन्तान कस्ता जन्मिए भने ती एउटै शरीरका आधा आधा फ्याक थिए । काँक्राका दुई चीरा जस्ता ती दुवै टुक्रामा एउटा आँखा, एउटा हात, एउटा गोडा थिए । तिनलाई देखेर ती दुवै जुम्ल्याहा दिदीबहिनीको सातोपुत्लो उड्यो, तिनीहरू कहालिए । हुन त ती दुवै टुक्रा प्राणवान् थिए, तर आपसमा सल्लाह गरेर ती दुवैले त्यो बीभत्स अर्धशरीरलाई त्यागिदिने अठोट गरे, अन्ततः तिनका धाईहरूले लुगामा बेरेर ती दुवै अर्धशरीरलाई अन्तःपुरको ढोकाबाहिर चोकमा लगेर फ्याँकिदिए । दैवसंयोगले त्यही बेला त्यसै चोकबाट एउटी राक्षसी जाँदै थिई, त्यसको नाम थियो : जरा । आहा कति मीठो कुरा पाएँ भन्दै उसले ती दुवै अर्धशरीर उठाई अनि बोकेर लैजान सजिलो होस् भनेर ती दुवै फ्याकलाई ट्याप्प मिलाएर जोडिदिई । अचम्म के भयो भने जोडिनासाथ त्यो एउटा सग्लो शरीर भएको अत्यन्त बलशाली वीर कुमारको स्वरूप पो बन्यो । यो चमत्कार देखेर जराका आँखा विस्मयले विस्फारित भए । क्षणभरमा त्यो यति भारी हुँदै गयो कि यस्तो लाग्दथ्यो मानौं वज्रबाट बनेको हो । उसले उचाल्नै सकिन र त्यस फलामे शरीर भएको बालकलाई भुइँमै राखिदिई । आफ्नो मुठ्ठी बटारेर उसले मुखमा हाल्यो र घनगर्जितजस्तो गम्भीर निर्घोष निकालेर रुन थाल्यो । त्यो मर्मभेदी घनघोर रोदन सुनेर रनिवासका सारा रानीहरू के भएछ भनेर आत्तिँदै राजाका साथ बाहिर निस्किए । दुवै जुम्ल्याहा रानीहरू पनि अँध्यारो मुख लाएर छातीबाट दुग्धधारा बहाउँदै त्यहाँ आइपुगे । जराले सोची : म यसै राजाका राज्यमा बस्दछु । राजा पुत्रका लागि उत्कण्ठित छन् । मैले यसलाई मार्नु उचित होइन । अनि उसले तुरुन्तै सुन्दरी मानवीको रूप धारण गरेर राजासामू आएर भनी : हे राजन्, यो हजुरकै सन्तान हो । ब्रह्मर्षिको वरदानका प्रभावले हजुरका जुम्ल्याहा रानीहरूबाट यसको जन्म भएको हो । धाईहरूले यसलाई यहाँ ल्याएर फ्यालीदिएका थिए, तर मैले यसको रक्षा गरेकी हुँ । यति भनेर त्यो बालक उसले राजालाई सुम्पिदिई । अनि विस्मयान्वित बनेका ती दुवै जुम्ल्याहा रानीहरूले त्यस वीर बालकलाई पालैपालो आफ्ना छातीमा टाँसेर दूध पियाउन थाले । बृहद्रथले त्यस सुरूपधारिणी राक्षसीलाई सोधे : हे कमलपत्राक्षी सुन्दरी, तिमी को हौ ? लाग्दछ, मलाई पुत्र प्रदान गर्नेवाली तिमी साक्षात् देवी हौ । उसले भनी : हे राजन्, तपाईंको कल्याण होस् । म इच्छानुसार विचरण गर्ने राक्षसी हुँ । यतिका दिनसम्म तपाईंकै घरमा पुजिएर सुखपूर्वक रहँदै आएकी थिएँ । म मनुष्यका घरमा सदा रहने गर्दछु, हुन त म राक्षसी हुँ तर, परापूर्वकालमा स्वयं ब्रह्माजीले गृहदेवीका नामले मेरो सृष्टि गर्नुभएको हो । उहाँले मलाई दानवहरूको विनाशार्थ नियुक्त गर्नुभएको हो । म दिव्य रूप धारण गर्न समर्थ छु । म तपाईंका घरका भित्तामा अनेक पुत्रहरूले घेरिएकी देवीका रूपमा चित्रांकित छु । त्यहाँ दीप, धूप, गन्धाक्षत एवं खाद्यान्नद्वारा विधिवत् पुजिंदै आएकी छु । जसले आफ्ना घरको भित्तामा यौवनवती देवीका रूपमा मलाई अंकित गरेर यसरी पुज्दछ उसका घरमा सदा समृद्धि कायम रहिरहन्छ । तपाईंको घरमा मैले पाएको पूजाआजा र भक्तिका कारण म प्रसन्न भएकी छु । त्यसैले आज एउटै शरीरका यी दुई टुक्रा जोडिदिएकी हुँ । दैववश तपाईंको सौभाग्यले यिनको जोडबाट यी सुन्दर राजकुमार प्रकट भएका हुन् । म त यस कार्यमा केवल निमित्त मात्र हुँ । हुन त ममा सिंगै सुमेरु पर्वत सर्लक्कै निल्न सक्ने शक्ति विद्यमान छ, यो सानो बालकलाई सुलुक्कै निल्नु मेरा लागि कुन ठूलो कुरा भयो र ? तर तपाईंका घरमा मेरो जुन सम्मान र सत्कार भएको छ त्यसैबाट सन्तुष्ट भएर यो बालक म तपाईंलाई समर्पित गर्दैछु । हे राजन्, अब यस बालकको आवश्यक संस्कार आदि सम्पन्न गर्नुहोस् । यो बालक यस जगत्मा मेरै नामले प्रसिद्ध हुनेछ । यति भनिसकेर त्यो जरा नाम गरेकी त्यो रूपवती राक्षसी हेर्दाहेर्दै त्यहीं विलीन भई । यस विस्मयोत्पादक वृत्तान्तका अन्त्यमा भगवान् श्री कृष्णले राजा युधिष्ठिरलाई भन्नुभयो : हे राजन्, यसरी जराले सन्धान गरेर जीवित बनाएको हुँदा त्यस बालकको नाम रह्यो : जरासन्ध । कालान्तरमा चण्डकौशिक मुनिले दिएका सकल वरहरू त्यसमा फलित भए र खपिनसक्नुको दुर्जेय भएर त्यसै जरासन्धले आज समस्त जगत्लाई थरहरी पारेको छ । ……………. महाभारत आदिपर्व, अध्याय : १३ देखि १८ मा आधृत २०८२ श्रावण १६गते शुक्रवार, ॐ अक्षरालयः । The post जरासन्धको रोमाञ्चक उपाख्यान appeared first on साहित्यपोस्ट.