Redirecting...

राष्ट्रियसभाको तालमेल प्रतिनिधिसभासम्मै विस्तार गर्ने रणनीति - ehimalayatimes.com

राष्ट्रियसभाको तालमेल प्रतिनिधिसभासम्मै विस्तार गर्ने रणनीति - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । ‘जेन-जी’ आन्दोलनपछि सत्ता-राजनीतिबाट टाढिएका पुराना प्रमुख दलहरू फेरि एक ठाउँमा आएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सहितका दलहरूले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति गरेका हुन् । कांग्रेस-एमालेले सात/सात, नेकपाले तीन र जसपाले एक सिट लिनेगरी तालमेल गर्ने सहमति भएको हो । सहमतिमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मिसाउने तयारी छ । राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । आज (बुधबार) मनोनयनको कार्यतालिका छ । कुल ५९ सदस्य रहने राष्ट्रियसभाका प्रत्येक एकतिहाइ सांसदहरू हरेक दुई वर्षमा रिक्त हुन्छन् । यही क्रमअनुसार पदावधि पूरा भएर फागुन २० गतेबाट राष्ट्रियसभामा १९ जना सांसदहरू बिदा हुँदै छन् । तीमध्ये १८ जना चुनावबाट निर्वाचित हुन्छन् भने बाँकी एक जना राष्ट्रपतिबाट मनोनीत हुन्छन् । यसअघि प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि राष्ट्रियसभामा सहकार्य गर्ने सहमति भएको हो । राष्ट्रियसभाका लागि गरिने गठबन्धनलाई प्रतिनिधिसभा निर्वाचनसम्मै विस्तार गर्ने रणनीति मा तीन दल लागेका हुन् । एमाले नेताहरूले सार्वजनिक रूपमै आगामी चुनावमा कांग्रेस र नेकपासँग चुनावी तालमेल हुनसक्ने बताउँदै आएका छन् । एमाले उपमहासचिव रघुवीर महासेठले आइतबार मात्रै एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताउनुभएको थियो । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको परिस्थितिअनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको बताउनुभएको थियो । ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्रविरुद्ध गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । हुनसक्छ भोलि कांग्रेस-एमालेसँगै चुनाव लड्न सक्छ,’ उहाँको भनाइ थियो । कांग्रेससँग चुनावी तालमेल हुनसक्ने एमाले सचिव महेश बस्नेतले पनि बताउनुभयो । एमाले सचिवालय बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव बस्नेतले चुनावमा कहीकतै तालमेल हुने स्थितिमा कांग्रेससँग उच्चस्तरको समझदारी साथ अगाडि बढ्ने बताउनुभयो । एमाले मात्रै होइन, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर जान सकिने बताउनुभएको छ । नेकपा धनकुटा प्रचार विभागले आइतबार बिहान धनकुटामा गरेको पत्रकार भेटघाट कार्यक्रममा सहसंयोजक नेपालले अन्य दलहरूले गठबन्धन गर्न चाहे आफूहरू छलफल गर्न तयार रहेको बताउनुभएको हो । कांग्रेस संस्थापन पक्षका नेता पनि आगामी चुनावमा गठबन्धन गरेर जान सकिने बताउँदै आएका छन् । तर, इतर पक्षका नेताहरूले कांग्रेस एक्लै लड्नुपर्ने अडानमा छन् । अघिल्लो प्रतिनिधिसभामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग देशैभरि तालमेल गरेको कांग्रेस संसद्मा सबैभन्दा ठूलो दल बनेको थियो । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक भनिएका दल र नयाँ अनुहारहरूसँग एकता गरिरहेको छ । रास्वपाले सोमबार मात्रै बालेन्द्र साह र कुलमान घिसिङसँग भएको एकता अनुमोदन गरेको थियो । ‘जेन–जी’ विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ बालेन र अन्तरिम सरकारका मन्त्रीसमेत रहनुभएका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भइसकेका छन् । ‘जेन-जी’ आन्दोलनपछि नेपाली राजनीति एजेण्डामा भन्दा बढी उमेर समूहका आधारमा दुई ध्रुवमा विभाजित छ । नयाँहरू एकठाउँ भएपछि अस्तित्व रक्षार्थ पुरानाहरू पनि चुनावी गठबन्धनको प्रयासमा लागेका आमबुझाइ राजनीतिक वृत्तमा छ । चुनावमा तालमेल गर्नेगरी कांग्रेससँग उच्चस्तरको समझदारी कायम गर्छौं : बस्नेतएमाले सचिव महेश बस्नेतले चुनावमा कहीँकतै तालमेल हुने स्थितिमा कांग्रेससँग उच्चस्तरको समझदारी साथ अगाडि बढ्ने बताउनुभएको छ । एमाले सचिवालय बैठकपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले देश र लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग उच्चस्तरको समझदारी बनेको बताउनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीसँग पनि औपचारिक÷अनौपचारिक छलफल चलिरहेको उहाँको भनाइ थियो । ‘कांग्रेस-एमालेबीच प्रतिस्पर्धा हुँदा उच्च तहको समझदारी साथ जानुपर्छ । कहीँकतै तालमेल हुने स्थिति आएमा त्यसका लागिसमेत छलफल गर्छौं’, उहाँले भन्नुभयो, ‘वैदेशिक दलालको अस्तित्वलाई जिरो बनाउन चुनावमा तीन दल मिल्नुपर्छ भन्ने ढंगले पनि बहस भइरहेको छ । हामी एक ठाउँमा हुँदा निर्वाचन बिथोलिने स्थिति होला भन्नेतर्फ पनि सचेत छौँ ।’ बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रूपमा उपयोग गर्ने बताउनुभयो । निर्वाचनलाई आन्दोलनको रूपमा अघि बढाउने उहाँको भनाइ छ । प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसँग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुँदा एक्लै चुनावमा होमिने उहाँले बताउनुभयो । आगामी निर्वाचनमा एक्लै जान डा. कोइरालाको सुझावनेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताउनुभएको छ । मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूसँगको भेटमा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्न नहुने बताउनुभएको हो । गठबन्धन गर्दा प्रत्यक्षतर्फ दुई-चार सिट बढी आए पनि यसले समानुपातिकतर्फको मत घटाउने उहाँको भनाइ थियो । ‘गठबन्धन गर्दा प्रत्यक्षतर्फ दुई–चार सिट बढी आउला, तर यसले समानुपातिकतर्फको मत घटाउँछ’, उहाँले भन्नुभयो, ‘गठबन्धनले कांग्रेसलाई दीर्घकालीन रूपमा हानि गर्छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ भन्नेमा म प्रष्ट छु ।’ कांग्रेस-एमाले नजिकिएपछि सरकार चुनाव सार्ने षड्यन्त्रमा लाग्यो : ओलीएमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि निर्वाचन सार्ने षड्यन्त्र गरिएको बताउनुभएको हो । ‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन । एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचन सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको छ’, बैठकमा ओलीको ब्रिफिङ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर एकैपटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभयो । चुनावमा होमियो एमालेएमाले प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरेको छ । निर्वाचनमा पार्टीले अघि सार्ने एजेण्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरूलाई समेटिएको छ । समितिका सदस्यहरूमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ । यसैगरी, बैठकले निर्वाचन ‘निर्वाचन परिचालन कमिटी’ पनि गठन गरेको छ । उक्त कमिटीको संयोजकको जिम्मेवारी पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । परिचालन कमिटीको सचिवमा विष्णु रिमाल रहनुभएको छ भने सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही, भीष्म अधिकारी नेताहरू सदस्य रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उपमहासचिव पदमा पराजित रिमाललाई पार्टीका तीनवटा महत्वपूर्ण जिम्मेवारी सुम्पेको हो । यसअघि एमाले अध्यक्ष ओलीले चुनाव नभई प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउँदै आउनुभएको थियो । प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने एमालेको अडान अझै पनि कायमै छ ।