नारायणी वाङ्मय पुरस्कार २०८३ का लागि कृति आह्वान - sahityapost.com
वीरगञ्ज । नारायणी वाङ्मय प्रतिष्ठानले नारायणी वाङ्मय पुरस्कार २०८३ का लागि कृति आह्वान गरेको छ। प्रतिष्ठानको वीरगञ्जमा बसेको बैठकले २०८२ असारदेखि प्रकाशित कृतिहरू २०८३ जेठ १५ गतेभित्र पेश गर्न आग्रह गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष विशम्भर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले विगतझैँ यस वर्ष पनि मधेश प्रदेशका आठ जिल्ला तथा मकवानपुर र चितवन गरी १० जिल्लाका स्रष्टाद्वारा प्रकाशित कृतिलाई प्रतिस्पर्धामा समेट्ने जनाएको छ। ती जिल्लाका लेखकहरूले आवश्यक विवरणसहित आफ्नो कृति प्रतिष्ठानमा बुझाउन सक्नुहुनेछ। महासचिव महेशचन्द्र गौतमका अनुसार कविता, कथा, उपन्यास, निबन्ध, समालोचना लगायत जुनसुकै विधामा प्रकाशित कृति प्रतिस्पर्धाका लागि पठाउन सकिनेछ। तोकिएको समयसीमाभित्र कृति उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएकाे छ। छनोट गरिएका उत्कृष्ट कृतिका लेखकलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ। प्रतिष्ठानले प्रत्येक वर्ष भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती)का अवसरमा पुरस्कार प्रदान गर्दै आएको छ। गत वर्ष साहित्यकार गणेशप्रसाद लाठ र रामप्रसाद अधिकारी पुरस्कृत हुनुभएकाे थियाे भने त्यसअघि कालो गुलाफ कृतिका लेखक गोपाल अश्कले नारायणी वाङ्मय पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।