नयाँ दिल्लीमा दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन हुँदै - www.pardafas.com
भारतले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहकार्यमा दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन सन् २०२५ डिसेम्बर १७ देखि १९ तारिखसम्म नयाँ दिल्लीमा हुनेछ । डब्लुएचओको विश्वव्यापी परम्परागत औषधि रणनीति २०२५–२०३४ बाट निर्देशित यस सम्मेलनमा परम्परागत चिकित्सा प्रणालीहरूले जनमुखी स्वास्थ्य सेवा र पृथ्वी तथा वातावरणीय सन्तुलनमा कसरी अर्थपूर्ण योगदान दिन सक्छन् भन्ने विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ । सम्मेलनमा आयुर्वेद, योग, सिद्ध, युनानी, परम्परागत चिनियाँ चिकित्सा लगायत विश्वका विभिन्न परम्परागत उपचार पद्धतिहरूको वैज्ञानिक आधार, आधुनिक स्वास्थ्य प्रणालीसँगको एकीकरण, नीति निर्माण, अनुसन्धान तथा दिगो अभ्यासका विषयहरू केन्द्रमा रहनेछन् । यसै सन्दर्भमा भारत र नेपालबीच आयुर्वेद क्षेत्रको सहकार्य पनि थप सुदृढ हुँदै गएको छ । दुवै देशले ज्ञान, विशेषज्ञता र क्षमता विकास आदान–प्रदानमार्फत आयुर्वेदको प्रवर्द्धनमा विभिन्न पहलहरू गर्दै आएका छन् । आयुर्वेद शिक्षा, अनुसन्धान, औषधि उत्पादन तथा मानव संसाधन विकासमा भारत–नेपाल सहकार्यले क्षेत्रीय स्तरमै परम्परागत चिकित्सा प्रणालीलाई संस्थागत गर्न सहयोग पुर्याउँदै आएको छ । विशेषज्ञहरूका अनुसार, भारतमा आयोजना हुने यस शिखर सम्मेलनले दक्षिण एशियाली देशहरूबीच परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्नुका साथै नेपालजस्ता आयुर्वेद परम्परामा गहिरो जरा भएका देशहरूको अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बन्नेछ ।