ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो -उपप्रमुख डङ्गोल - kendrabindu.com
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिएकी छन् । २२औं ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित समारोहमा उनले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराइन् । यस दिवसले ज्यापूहरुको मेहनत, माटो र सांस्कृतिक पहिचान दर्शाइरहेको उनको भनाइ छ । “यःमरि केवल परिकार होइन, हाम्रो समृद्धि, उब्जनी र परिवारको एकताको प्रतीक हो”, समारोहमा शुभकामना व्यक्त गर्दै उपप्रमुख डङ्गोलले भनिन्, “ज्यापू दिवस र यस पर्व परम्परा मात्र होइन हाम्रो पहिचान हो । विभिन्न जात्रा र पर्वहरुलाई परम्परा मात्र होइन अस्तित्वका रुपमा लिनुपर्छ ।” उनले नयाँ धान घरभित्र भित्र्याई बनाइने परिकार यःमरिको सांस्कृतिक र सामाजिक पक्षबारे चर्चा गरिन् । यःमरि पुन्हि र ज्यापू दिवस माटोसँगको प्रतिज्ञा र भूमिप्रति सम्मान प्रकट गर्ने अवसर भएको उपप्रमुख डङ्गोलले बताइन् । यस चाडका सांस्कृतिक महत्वसँगै दार्शनिक मूल्यलाई उजागर गर्नुपर्नेमा उनको जोड थियो ।