Redirecting...

हिमाली भेगमा बाक्लो हिमपातले जनजीवन प्रभावित : कृषकमा भने आशा - www.lumbinisanchar.com

हिमाली भेगमा बाक्लो हिमपातले जनजीवन प्रभावित : कृषकमा भने आशा - www.lumbinisanchar.com
Source: lbns

दाङ । मङ्गलबार रातिदेखि सुरु भएको निरन्तर हिमपात र वर्षाले हिमाली जिल्लाहरूको दैनिकी एकाएक फेरिएको छ । देशका उत्तरी भेगका डाँडाकाँडा सेताम्मे हुँदा चिसो बढ्नुका साथै यातायात, हवाई सेवा र जनजीवन प्रभावित बनेको छ । विशेषगरी मुस्ताङको कागबेनी–कोरला सडक खण्ड भारी हिमपातका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । कतिपय स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेकाले सवारी साधन चल्न नसक्ने अवस्था आएको छ । यसले स्थानीय आवतजावत मात्र होइन, आपूर्ति प्रणालीमा समेत असर पार्न थालेको छ । हिमपातले चुनौती थपे पनि यसले कृषकहरूमा भने आशा जगाएको छ । लामो समयपछि परेको बाक्लो हिउँ र वर्षाले स्याउ, उवा, फापर, जौँ र आलुजस्ता बालीका लागि राम्रो वातावरण बन्ने अपेक्षा गरिएको छ । चिस्यानयुक्त माटोले उत्पादन बढ्ने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् । उता कर्णाली क्षेत्रका हिमाली जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि लगातार हिमपात भइरहेको छ । सदरमुकाम सिमकोटसहित उच्च भूभागमा एक फिटसम्म हिउँ जमेकाले हवाई उडान ठप्प भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा जोड्ने सडकहरू बन्द छन् । त्यसैगरी बाजुराका उच्च लेकाली क्षेत्रहरूमा परेको बाक्लो हिमपातले गाउँगाउँको जनजीवन प्रभावित बनेको छ । हिमाली, गौमुल र बुढीनन्दा क्षेत्रका केही बस्तीमा चिसोका कारण जनसाधारण घरमै सीमित भएका छन् । वर्षासँगै परेको हिमपातले गहुँलगायत अन्नबाली सप्रिने अपेक्षा गरिएको छ । प्राकृतिक चुनौतीसँगै सम्भावना बोकेको यस हिमपातले एकातिर दैनिकी कष्टकर बनाएको छ भने अर्कोतिर आगामी बाली उत्पादनप्रति आशा पनि जगाएको छ ।