बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा - www.onlinepana.com
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत् आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटपछि आएको बाढीले आयोजनाको बाँधलगायत संरचनामा ठूलो क्षति पुर्याएको थियो । मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र बाँकी मर्मत कार्य आगामी वर्षायामअगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायत उपकरण बगाएको थियो । आयोजनाबाट १६ पुस २०८१ बाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द थियो । आयोजना पूर्णरुपमा सञ्चालनमा आएपछि वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ । The post बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).