दिक्तेल–रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु - kendrabindu.com
खोटाङ। खोटाङमा दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरमा रहेको चट्टान फुटाउन काम सुरु गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र हलेसी तुवाचुङ–११ राजापानीको सिमानामा यो काम भइरहेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिए। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराई जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले नगरपालिकाले यसलाई प्राथमिकता दिएको छ। सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२।८३ मा रु दुई करोड बजेट विनियोजन गरिएको थियो। निर्माण कम्पनीले ठेक्का सम्झौताअनुसार चट्टान फुटाउने काम सुरु गरेको छ। सडक सञ्चालन भएमा पूर्वी तराईका जिल्ला जाने यातायात, खाद्यान्न, हार्डवेयर, इन्धन लगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुनेछ। सडकमा पर्ने दिखुवाखोलामा मोटरेबल ट्रस पुलको निर्माण पनि भइरहेको छ। कोशी प्रदेश सरकारको बजेटमा रु तीन करोड विनियोजन भइसकेको छ। वर्षात्को समयमा ठप्प हुने यातायातलाई ध्यानमा राख्दै पुल निर्माणमा रु दुई करोडभन्दा बढीको स्टिल ट्रस प्रयोग गरिएको छ। दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ र यस मार्गले दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो दूरी प्रदान गर्नेछ। यसले जिल्लाबासीमा यात्रा र ढुवानीलाई सहज बनाउने अपेक्षा गरिएको छ।