महाधिवेशन : पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने तयारीमा ओली - bishwokhabar.com
काठमाडौं– नेकपा एमालेको महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमै जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउने रणनीति अघि सारेका छन्। उनले यो प्रस्ताव प्रत्यक्ष रूपमा आफैंले नगरी निकटस्थमार्फत यसका लागि माहोल बनाइरहेको एक नेताले बताए । आइतबारको बैठकमा विधान संशोधन गरेर अघि बढ्नुपर्ने वा पहिलेकै विधानलाई कार्यान्वयन गर्नुपर्ने भन्नेबारे ओली निकटका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन्। सिधै आफूले प्रस्ताव ल्याउँदा विरोध हुनसक्ने भएकाले ओलीले बैठकमा आफू निकटस्थलाई विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने गरी धारणा राख्न लगाएको ती नेताको भनाइ छ । सोहीअनुसार अनुसार, केन्द्रीय सदस्य खिमलाल देवकोटा र शेरबहादुर तामाङलगायतका नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष बनाउने गरी पदाधिकारीको आकार बढाउन बैठकमा प्रस्ताव गरेका छन् । यो प्रस्ताव केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ। उसो त अध्यक्ष ओलीले हलभित्र प्रवेश गर्ने क्रममा समेतअब पदाधिकारी थपिने सङ्केत दिएका थिए। केन्द्रीय सदस्यहरूको बोल्ने क्रम जारी रहेकाले आजको बैठकले विधान संशोधन र पदाधिकारीको सङ्ख्याबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। एमालेकै ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको विरोध गर्दै आएको छ ।