गण्डकीमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने - kendrabindu.com
गण्डकी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ। प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र तीन जना स्वयंसेवक रहने व्यवस्था गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापन भइरहेको छ। छनोट भएका कर्मचारीलाई तालिम दिएपछि मतदान केन्द्रमा खटाइनेछ। गण्डकीका ११ जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन्। प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन्। सबैभन्दा बढी मतदाता कास्कीमा तीन लाख आठ हजार ५७२ र सबैभन्दा कम मनाङमा सात हजार छन्। स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोर्खामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन्। लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेका छन्। कुल मतदातामध्ये नौ लाख १४ हजार ५३५ पुरुष, नौ लाख ५५ हजार ५१६ महिला र अन्य १४ जना छन्। विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकीमा १६ लाख ६२ हजार २४६ मतदाता थिए। यसपटक दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका छन्। प्रदेशमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।