न्युजिल्याण्ड विश्वकपको सुपर ८ मा, अफगानिस्तान बाहिरियो - kendrabindu.com
काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को भिडन्तमा क्यानडामाथि न्युजिल्याण्डले ८ विकेटको सानदार जित दर्ता गरेको छ। भारतको चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा क्यानडाका १९ वर्षीय युवराज सामराले ऐतिहासिक शतक प्रहार गरेपनि न्युजिल्याण्डले सहज जित हात पार्दै सुपर ८ मा प्रवेश गरेकाे हाे । टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा १७३/४ को बलियो योगफल खडा गरेको थियो। क्यानडाका लागि युवा ओपनर युवराज सामराले मात्र ६५ बलमा ११० रनको विष्फोटक इनिङ खेले। उनको यस इनिङमा ११ चौका र ६ छक्का सामेल थिए। यस शतकसँगै टी-२० विश्वकपको इतिहासमा शतक प्रहार गर्ने उनी सबैभन्दा कान्छा खेलाडी (१९ वर्ष १४१ दिन) बनेका छन्। उनले पाकिस्तानका अहमद शहजादको कीर्तिमान तोडेका हुन्। साथै उनी पुरुष टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी समेत बनेका छन्। ओपनर सामरा र कप्तान दिलप्रित बाजवाबीच पहिलो विकेटका लागि ११६ रनको कीर्तिमानी साझेदारी भएको थियो। बाजवाले ३९ बलमा ३६ रन जोडे। अन्य ब्याटरहरूमा नवनीत धालीवालले १० र डिलन हेलिगरले अविजित ८ रनको योगदान दिएका थिए । न्युजिल्यान्डका लागि ज्याकब डफी, म्याट हेनरी, काइल जेमिसन र जेम्स निसमले १–१ विकेट लिए। फिल्डिङतर्फ ग्लेन फिलिप्सले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडाका तीनै जना मुख्य ब्याटरको क्याच समातेका थिए। यता १७४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको न्युजिल्याण्डले आक्रामक सुरुवात गर्दै मात्र १५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। न्युजिल्याण्डको जितमा ग्लेन फिलिप्स र रचिन रविन्द्रले तेस्रो विकेटका लागि अविजित १४६ रनको साझेदारी गरे । ग्लेन फिलिप्सले ३६ बलमा ७६ रन बनाए भने रचिन रविन्द्रले ३९ बलमा ५९ रज जाेडे । सुरुवाती दुई विकेट सस्तैमा गुमाए पनि न्युजिल्याण्डले २९ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्यो। क्यानडाका डिलोन हेइलिगर र साद बिन जफरले १–१ विकेट लिए। यो जितसँगै न्युजिल्याण्डले ४ खेलबाट ६ अंक जोड्दै सुपर ८ को दौडमा दक्षिण अफ्रिकासँगै आफूलाई शीर्ष स्थानमा उभ्याउँदा अफगानिस्तान भने बाहिरिएको छ । एक खेल खेल्न बाँकी रहेको अफगानिस्तानको २ अंक मात्रै रहेको छ ।