चिनियाँ संग्रहालयमा अरनिको-कला - nepalnews.com
उत्तरी सोङ राजवंशको तिआनसेङ काल (१०२३-१०३२)को समयमा वाङ वेयी नामका एक चिकित्सा अधिकारीले मेरिडियन (अकुपन्चर उपचार पद्धतिअनुसार प्राण र ऊर्जा प्रवाह हुने मार्ग) र एक्युपोइन्ट (ऊर्जाको बिन्दु जहाँ अक्युप्रेसरका बेला सियो रोपिन्छ)हरू अंकित दुईवटा कांस्य मानव प्रतिमा बनाए र ती कांस्य प्रतिमाहरूमा कुँदिएका एक्युपोइन्टहरूबारे चित्रसहितको निर्देशिका लेखे। शाही चिकित्सा प्रतिष्ठानको परीक्षाहरूका बेला विद्यार्थीहरूले सही एक्युपोइन्टहरू फेला पारून् भनेर यी प्रतिमाहरूलाई मैनले लेपेर पानी भर्ने गरिन्थ्यो। युआन राजवंशको समय (१२७१-१३६८)मा यो प्रतिमाको मर्मत अरनिकोले गरेका थिए। यसबारे युआन इतिहास: अरनिकोको जीवनीमा उल्लेख छ। चीनको मिआओयिङ मन्दिरमा भएको अरनिकोको सालिक। तस्बिर : विकिपेडिया युआन राजवंशको झोङतोङ कालको दोस्रो वर्षमा कुब्लाई खाँले अरनिकोलाई सोधे, “तिमीसँग के के सीप छ?” अरनिकोले जवाफ दिए, “म मेरो हृदयलाई गुरु मानेर काम गर्छु र चित्रकला, मूर्तिकला तथा ढलाइको केही ज्ञान छ।” सम्राटले उनलाई देखाउन मिङ ताङ (शाही चिकित्सा केन्द्र)बाट कांस्य एक्युपन्चर प्रतिमा मगाए र भने, “सोङ राजवंशका बेला दूत वाङ जीले उपहारस्वरूप दिएका थिए। समयसँगै यसमा क्षति पुगेको छ र कसैले पनि यसलाई मर्मत गर्न सकेको छैन। के तिमी यसलाई फेरि नयाँजस्तै बनाउन सक्छौ?” अरनिकोले जवाफ दिए, “मैले यस्तो पहिले कहिल्यै नगरेको भए पनि म प्रयास गर्नेछु।” झियुआन कालको दोस्रो वर्षसम्ममा त सबै रक्तनली र शिरा अंकित नयाँ प्रतिमा तयार भइसकेको थियो। धातुकर्मीहरू यसको अद्भुत कारिगरी देखेर छक्कै परे र आफैँप्रति लज्जित महसुस गरे। नेपाली शिल्पी अरनिकोले यसको पुनःस्थापना सम्पन्न गरे। अरनिकोले मर्मत गरेको यो प्रतिमा अहिले चीनको राष्ट्रिय संग्रहालयमा राखिएको छ। संग्रहालयमा योसँगै नेपालसँग सम्बन्ध राख्ने थुप्रै वस्तु छ। नेपालका तत्कालीन शासकहरूले चिनियाँ शासक र नेताहरूलाई समय समयमा दिएका यी कूटनीतिक उपहारहरूले नेपालले कसरी आफ्नो परराष्ट्र नीति सञ्चालन गरेको थियो भन्ने दृष्टान्त पनि दिन्छ। नेपालको गोरखा राजवंशले छिङ राजवंशलाई सन् १७८५ मा फलामे छुरी उपहार दिएको थियो। उपहार दिएको तीन वर्षपछि पहिलो गोरखा-छिङ युद्ध सुरु भएको थियो। उक्त छुरी चीनको संग्रहालयमा देख्न सकिन्छ। नेपाली राजाले उपहारस्वरूप दिएको फलामको छुरी यस्तै चीनमा दूतावास भएका नेपालसहितका ११ एसियाली र युरोपेली देशले सन् १९५७ मा सम्झनास्वरूप चिनियाँ सरकार प्रमुख चाउ एनलाईसमक्ष चाँदीको सिल्ड प्रदान गरेका थिए। उक्त चाँदीको सिल्ड पनि संग्रहालयमा देख्न सकिन्छ। चीनका लागि नेपाली राजदूत दमनशमशेर जबराले उक्त सिल्डमा हस्ताक्षर गरेका छन्। चाँदीको सिल्ड अरनिकोले चीनमा नेपाली शिल्प विस्तार गरे। राजधानी बेइजिङमा रहेको सबैभन्दा पुरानो र ठूलो तिब्बती बौद्ध पगोडा (द ह्वाइट डगोबा) अरनिकोले नै निर्माण गरेका थिए। ह्वाइट डगोबा – द अरनिको प्रोजेक्टमा प्रकाशित लेखको अनुदित र सम्पादित अंश