अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा - janatatimes.com
वासिङटन डिसी (अमेरिका), साउन १७ । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गर्नुभएको छ । ‘द लेट शो विथ स्टीफन कोल्बर्ट’मा एक अन्तर्वार्तामा पूर्वउपराष्ट्रपति ह्यारिसले यस्तो घोषणा गर्नुभएको हो । ह्यारिसले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदको लागि उम्मेदवार नहुने घोषणा गर्नुभयो । ‘अमेरिकाको राजनीतिक प्रणाली भाँचिएको छ र म लोकतान्त्रिक मूल्यमान्यताहरूको रक्षा गर्न पर्याप्त बलियो छैन,’ राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पसँग पराजीत हुनुभएकी पूर्वउपराष्ट्रपति ह्यारिसले भन्नुभयो । उहाँले आफ्नो करियरभरि जनताको सेवा गरेको भन्दै थप्नुभयो, ‘मैले गभर्नर बन्ने बारेमा धेरै सोचें । मलाई मेरो क्यालिफोर्निया राज्य मन पर्छ, तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता घटेको छ ।’ ह्यारिसले अब देशभर यात्रा गर्न र मानिसहरूसँग कुरा गर्न चाहेको तर भोट माग्न नभई उनीहरूको कुरा सुन्न चाहेको बताउनु भएको छ । ‘देशभर यात्रा गरेर मानिसहरुको कुरा सुन्न चाहन्छु तर भोट माग्न होइन, उनीहरूको कुरा सुन्नका लागि हो,’ ह्यारिसले भन्नुभयो । उहाँको नयाँ पुस्तक ‘१०७ डेज’ सेप्टेम्बर २३ मा रिलिज हुँदैछ। जसमा आफ्नो १०७ दिने राष्ट्रपति चुनाव अभियानका अनुभवहरू उल्लेख गर्नुभएको छ । २०२४ को राष्ट्रपति चुनावमा कमला ह्यारिस डोनाल्ड ट्रम्पसँग पराजीत हुनुभएको हो । ट्रम्पले ३१२ मतका साथ राष्ट्रपति चुनावको इलेक्टोरल कलेज जित्दा रिसले २२६ मत पाउनु भएको थियो । १९९० मा जिल्ला न्यायाधिवक्ताको रूपमा आफ्नो राजनीतिक करियर शुरू गर्नुभएकी ह्यारिसले जिल्ला न्यायाधिवक्ताबाट राज्य न्यायाधिवक्ता र त्यसपछि सिनेट (अमेरिकी राज्यसभा) सम्म पुग्नुभयो । उहाँले मृत्युदण्ड घटाउन काम गर्नुभएको थियो ।