युवराजको शतकमा क्यानडाद्वारा न्युजिल्यान्डसामु १७४ रनको लक्ष्य प्रस्तुत - kendrabindu.com
काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को भिडन्तमा क्यानडाले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। भारतको चेन्नईस्थित एम.ए. चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको हो। क्यानडाको इनिङ्सको मुख्य आकर्षण १९ वर्षीय युवा ओपनर युवराज सामराको विष्फोटक ब्याटिङ रह्यो। उनले मात्र ६५ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतले ११० रनको सानदार शतकीय पारी खेले। यससँगै सामरा पुरुष टी–२० विश्वकपको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनले ५८ बलमै आफ्नो शतक पुरा गरेका थिए। ओपनर सामरा र कप्तान दिलप्रित बाजवाबीच पहिलो विकेटका लागि ११६ रनको कीर्तिमानी साझेदारी भएको थियो। बाजवाले ३९ बलमा ३६ रन जोडे। अन्य ब्याटरहरूमा नवनीत धालीवालले १० र डिलन हेलिगरले अविजित ८ रनको योगदान दिए। न्युजिल्यान्डका लागि ज्याकब डफी, म्याट हेनरी, काइल जेमिसन र जेम्स निसमले १–१ विकेट लिए। फिल्डिङतर्फ ग्लेन फिलिप्सले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडाका तीनै जना मुख्य ब्याटरको क्याच समातेका थिए।