पोखरालाई हराउँदै काठमाडौं एनपीएलको प्लेअफमा, आलमले लिए ६ विकेट - kendrabindu.com
काठमाडौं । काठमाडौं गोर्खाजले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं प्लेअफमा पुगेको हो । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यता पोखराको प्लेअफ होड भने कमजोर बनेको छ । काठमाडौंले दिएको १६६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रनमै समेटियो । प्लेअफको आशा जीवित राख्न जित्नैपर्ने दबाबमा रहेको पोखराले काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो। पोखराको शुरुआत खराब रह्यो र लगातार विकेट गुमाउँदै गयो। यद्यपि, भारतीय खेलाडी ऋषि धवनले शानदार अर्धशतक प्रहार गरे । उनले मात्र ३१ बलमा ३ चौका र २ छक्कासहित ५४ रनकाे मद्दत गरे। तर जितका लागि पर्याप्त हुन सकेन । धवनलाई धनञ्जय लक्षनले ३० रन र कप्तान कुशल भुर्तेलले २२ रन साथ दिए पनि तल्लो क्रमका ब्याट्सम्यान टिक्न नसक्दा टोलीले जित दर्ता गर्न सकेन। काठमाडौंका बलरहरूले पोखराको इनिङ्सलाई १५२ रनमा समेट्न महत्त्वपूर्ण भूमिका खेले । स्पिनर शाहब आलमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ६ महत्त्वपूर्ण विकेट लिए । उनी ह्याट्रिकसहित ६ विकेट लिने एनपीएलका पहिलाे खेलाडी हुन् । यस्तै, सन्नी पटेल र करण केसीले पनि २-२ विकेट लिएर पोखरालाई लक्षमा पुग्नबाट रोके। त्यसअघि टस जितेर फिल्डिङ रोजेको पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदै ८ विकेटको क्षतिमा १६५ रन बनाएकाे थियाे । काठमाडौंको इनिङ्सलाई बलियो योगफलसम्म पुर्याउन विदेशी खेलाडी बेन चार्ल्सवर्थ र आक्रामक ब्याट्सम्यान भिम सार्कीले शानदार अर्धशतक प्रहार गरे । ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रन बनाए। यस्तै, भिम शर्कीले विस्फोटक पारी खेल्दै मात्र २३ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५५ रन बनाए। टोलीको सुरुवात भने राम्रो हुन सकेन र २ रनमा नै पहिलो विकेट गुमाएको थियो। मध्यक्रममा बेन चार्ल्सवर्थले एक छेउ सम्हाले भने अन्तिमतिर भिम शर्कीको उत्कृष्ट ब्याटिङले काठमाडौंलाई सम्मानजनक स्कोरमा पुर्याएकाे हाे । पोखरा एभेन्जर्सका बलरहरूमध्ये धनञ्जय लक्षनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर ४ विकेट लिए । यता कुशल भुर्तेलले २ विकेट लिँदा बिपिन खत्री र किरण ठगुनाको नाममा १/१ विकेट रह्यो ।