बढ्न थाल्यो तीन नयाँ कम्पनीको सेयर मूल्य - bishwokhabar.com
काठमाडौं– पछिल्लो समय सेयर बजारमा नयाँ आएका केही कम्पनीहरूको सेयर मूल्य फेरि बढ्न थालेको छ। यसरी मूल्य बढ्न थालेका कम्पनीहरूमा सान्भी इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज छन्। यी सबैको आइतबार सेयर मूल्य उच्चले बढेको छ। सान्भी इनर्जीसान्भीको आइतबार सेयर मूल्य ६२ रूपैयाँले बढेर सात सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। केही समयअघि सान्भीको सेयर नौ सय ३० रूपैयाँसम्म कारोबार भएको थियो। बीचमा घटेर पाँच सय ३६ रूपैयाँसम्म पुगेर अहिले फेरि बढ्ने क्रममा छ। गत मंगलबार र बुधबारको कारोबारमा सान्भीको सेयर मूल्यले बनाएको मैनबत्ती चित्रमा ‘इन्गल्फिङ बुलिस’ आकृति बनेको थियो। यसले मूल्य बढ्न सक्ने संकेत गर्छ। बिहीबार मूल्य थप बढेसँगै केही समय मूल्य बढ्न सक्ने यसले संकेत गरिरहेको थियो। आइतबार पनि वृद्धिले निरन्तरता पायो। अब केही समय सान्भीको मूल्य बढ्न सक्छ। गत साउनबाट सान्भीको सेयर कारोबारमा आएको हो। यसले आर्थिक वर्ष २०८१/८२ को नाफापछि लाभांश दिएको छैन। गत असोजको बाढीका कारण यसको आयोजनामा क्षति पुगेको छ। पूर्ण रूपमा विद्युत उत्पादन बन्द भएको सान्भीले त्यसयता पुनः सञ्चालनमा आएको जानकारी दिएको छैन। ७.६ मेगावाटको जोगमाई खोला स्मल हाइड्रो र ५.२ मेगावाटको जोगमाई कास्केड आयोजनामा बाढीले क्षति पुगेको हो। सान्भीको चुक्ता पुँजी थोरै भएकाले पनि सेयर आपूर्ति कम छ। यसले पनि मूल्य बढाउन सहयोग पुगेको छ। सर्वसाधारणसँग सान्भीको ३७ लाख ९० हजार कित्ता अर्थात् ३७ करोड रूपैयाँको सेयर छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्म सान्भीको नाफा दुई करोड ४४ लाखबाट बढेर तीन करोड ८१ लाख रूपैयाँ पुगेको छ। यसको प्रति सेयर आम्दानी १७ रूपैयाँ ३३ पैसा र प्रति सेयर नेटवर्थ एक सय १८ रूपैयाँ छ। सागर डिस्टिलरीत्यस्तै सागर डिस्टिलरीको सेयर मूल्य आइतबार एक सय ३३ रूपैयाँ बढेर एक हजार आठ सय ३३ रूपैयाँमा कारोबार भएको छ। गत कात्तिकबाट सागरको सेयर कारोबारमा आएको हो। केही समयअघि सागरको सेयर दुई हजार एक सय ४६ रूपैयाँसम्म कारोबार भएको थियो। बीचमा घटेर एक हजार ६ सय ५२ रूपैयाँसम्म पुगेर अहिले फेरि बढ्ने क्रममा छ। गत बिहीबार र यस आइतबार दुवै दिन मूल्य बढेर मैनबत्ती चित्रले हरियो मैनबत्ती आकृति बनाएको छ। यसले वृद्धिले निरन्तरता पाउन सक्ने संकेत गरिरहेको छ। यसले आर्थिक वर्ष २०८१/८२ को नाफापछि लाभांश दिएको छैन। सागरले नेप्से बुल्स, द गभर्नर जस्ता मदिरा उत्पादन गर्दै आएको छ। यसका प्रमुख सेयरधनीमा आशुतोष खेतान, सन्दीप जलान र अल्का गोयल लगायत छन्। सागरको चुक्ता पुँजी थोरै भएकाले पनि सेयर आपूर्ति कम छ। यसले पनि मूल्य बढाउन सहयोग पुगेको छ। सर्वसाधारणसँग सागरको १४ लाख ५२ हजार कित्ता (१४ करोड रूपैयाँ बराबरको) सेयर छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्म सागर एक करोड ५३ लाख रूपैयाँ नोक्सानमा छ। सागरको प्रति सेयर नेटवर्थ एक सय तीन रूपैयाँ छ। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजअर्को कम्पनी श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर मूल्य आइतबार ८५.४० रूपैयाँ बढेर ९३९ रूपैयाँमा कारोबार भइरहेको छ। श्रीनगरको सेयरमा आइतबार १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको हो। गत मंसिरबाट श्रीनगरको सेयर कारोबारमा आएको हो। केही समयअघि श्रीनगरको सेयर नौ सय ३० रूपैयाँसम्म पुगेर घट्न थालेको थियो। त्यहाँबाट मूल्य सात सय ६० रूपैयाँसम्म पुगेर बढ्दै अहिले हालसम्मकै उच्च भएको हो। गत मंगलबारयता तीन कारोबार दिनमा श्रीनगरको सेयर मूल्यले ‘एड्भान्स ब्लक बेरिस’ मैनबत्ती आकृतिको संकेत गरेको थियो। मंगलबारको तुलनामा त्यसपछिका हरेक दिन मूल्य बढे पनि सुरू र बन्द मूल्यबीचको अन्तर कम हुँदै गएको थियो। यसले बुलिस प्रवृत्ति कमजोर बनिरहेको संकेत गरिरहेको थियो। तर आइतबार मूल्य उच्च बढ्यो र हालसम्मकै नयाँ उचाइ बनायो। आइतबारको कारोबारमा यसको मूल्यले हरियो मैनबत्ती बनाएर मूल्य थप केही बढ्न सक्ने संकेत गरिरहेको छ। तर सोमबारको पहिलो कारोबार हेरेर मात्रै निर्णय लिनु सही हुन्छ। श्रीनगरले आर्थिक वर्ष २०८१/८२ को नाफापछि कुनै लाभांश दिएको छैन। श्रीनगर पोल्ट्री व्यवसायमा संलग्न छ भने यसले मासु उत्पादन गर्दै आएको छ। यसका प्रमुख सेयरधनीमा सतिशचन्द्र श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स, शिखर इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्स लगायत छन्। श्रीनगरको चुक्ता पुँजी थोरै भएकाले सेयर आपूर्ति कम छ। यसले मूल्य बढाउन सहयोग पुगेको छ। सर्वसाधारणसँग श्रीनगरको ३२ लाख ६२ हजार कित्ता ९३२ करोड रूपैयाँ बराबरको० सेयर छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास ९साउनदेखि असोज० सम्म श्रीनगरले ४२ करोड रूपैयाँ आम्दानी गरेको छ। यसको नाफा ९२ लाख रूपैयाँ छ। प्रति सेयर आम्दानी ०.५४ रूपैयाँ र प्रति सेयर नेटवर्थ एक सय १२ रूपैयाँ छ।