सिड्नीमा मिश्रको उपन्यास ‘पहिचान’ लोकार्पण - sahityapost.com
सिड्नी । सिड्नीमा स्थायी रूपमा रही नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आउनु भएकी साहित्यकार ममता मिश्रद्वारा लिखित दोस्रो कृति ‘पहिचान’ उपन्यासको भव्य विमोचन समारोह ब्ल्याकटाउनस्थित म्याक्स वेबर पुस्तकालयमा सम्पन्न भएकाे छ । ब्ल्याकटाउन सिटी काउन्सिलको सहयोगमा आयोजित यस कार्यक्रमले प्रवासमा नेपाली साहित्यिक चेतनाको उल्लेखनीय उत्साह प्रस्तुत गरेकाे थियाे । विमोचन कार्यक्रममा लेखक ममता मिश्र, पत्रकार ध्रुवहरि अधिकारी, सामुदायिक अगुवा तथा लेखक डा. ओम ढुंगेल, लेखक सौरभ किरण श्रेष्ठ र सानु घिमिरेले संयुक्त रूपमा ‘पहिचान’ विमोचन गर्नुभएकाे थियाे । कार्यक्रममा उपन्यासमाथि महिला दृष्टिकोणबाट टिप्पणी गर्दै उपन्यासकार प्रज्ञा पनेरुले महिला पात्रहरूको मनोविज्ञान, सामाजिक सन्दर्भ र प्रतिरोधको स्वरमाथि गहिरो विश्लेषण प्रस्तुत गर्नुभयाे । समालोचक सुरेन्द्र दवाडीले उपन्यासको शिल्प, संरचना र साहित्यिक चेतका विविध पक्षहरूलाई उजागर गर्दै लेखकलाई भविष्यमा थप प्रयोगशीलता र सशक्तता ल्याउने सुझाव दिनुभयाे । पुस्तक विमोचनपछि लेखक ममता मिश्र र सानु घिमिरेबीच प्रेम, अध्यात्म, यौन, लैङ्गिक चेतना, र सामाजिक मूल्यबारे गहन पुस्तक वार्ता पनि सञ्चालन गरिएकाे थियाे । सर्जक मिश्रले उपन्यासभित्रको पात्र जीवन, संघर्ष र आत्मअन्वेषणबारे आफ्ना विचार पोख्नुभएकाे थियाे । पत्रकार ध्रुवहरि अधिकारी, गजलकार ज्ञानुवाकर पौडेल र डा. ओम ढुंगेलले मिश्रको ‘पहिचान’ कृतिलाई गम्भीर र समकालीन साहित्यिक हस्तक्षेपका रूपमा स्वीकार गर्दै लेखकको आगामी यात्रा सफल होस् भन्ने शुभकामना दिनुभयाे । नेपालस्थित साहित्यपोस्ट द्वारा प्रकाशित उक्त कृतिका प्रकाशक अश्विनी कोइरालाले भिडियो सन्देशमार्फत पुस्तकमा समेटिएको अध्यात्मिक गहिराइ र भावबोधको मुक्तकण्ठले प्रशंसा गर्नुभएकाे थियाे । औपचारिक अतिथि विना सम्पन्न अर्ध–औपचारिक तर गहन र आत्मीय साहित्यिक माहोलमा कार्यक्रमको सञ्चालन ब्ल्याकटाउन नेपाली समाजकी सल्लाहकार तथा लेखक प्रतिज्ञा अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा सिड्नी तथा आसपासका साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो, जसले प्रवासमा नेपाली साहित्यको भविष्यप्रति उत्साह र आशा जगाएको छ। The post सिड्नीमा मिश्रको उपन्यास ‘पहिचान’ लोकार्पण appeared first on साहित्यपोस्ट.