बौलाहा अम्मरे बन्यो विद्रोही - sahityapost.com
कथाको गहिराइ पाठकको डुब्न सक्ने क्षमतामा हुन्छ कि लेखकको गहिराइतिर डोर्याउने शक्तिमा ? अरू कथाको कुरा भए भन्न सकिन्थ्यो पनि होला । तर यो कथा भिन्नै छ । भिन्नै कुन अर्थमा भने यस कथाको तौल शून्य छ । न कुनै सन्देश भेटिने सम्भावना न घटनाक्रम बीच तालमेल । तै पनि यो कथा छ जस्तो हावा देखिँदैन तर छ अनि त्यसको यथार्थ हरपल महसूस हुन्छ । हुनु र नहुनुको फरक त्यस चीजले तान्न सक्ने आकर्षणमा भर पर्छ होला । यस कथामा आकर्षण छ भन्न सकिन्छ । कस्तो आकर्षण पाठकले पढिसके पछि अन्त्यमा मूल्याङ्कन गर्दा बेस होला । कथा त्यस्तो व्यक्तिको हो जो संसार जित्नबाट एउटा तिलको गेडाको लम्बाइ जतिले चुक्यो । विद्रोही ! हो विद्रोही हो उसको नाम । यो नाम सम्म आनुको यात्राको पनि कहानी छ । कहानी छोटो छ भनिहालूँ । जस्तो आम मानिसको नाम न्वारानमा राखिन्छ उसको पनि राखिएको थियो । सात दिन यो विचित्रको दुनयाँमा आगमन भइसकेपछि एउटा टुप्पी लामो पालेको, खैरो दौरा सुरुवाल लगाएको बाहुन भनिने मान्छेले ल बाबु तिम्रो नाम आजबाट बलबाहादुर भनेर ठोकुवा गरिदिए । त्यस पश्चात् घरमा अनि अन्य प्रयोजनका लागि बाआमाले अमर भनेर राखिदिए । केही दशक पछि जब विद्रोही विद्रोहको भाषा बोल्न थाल्यो अनि समाजले उसलाई अराजक पात्रको रूपमा औँल्याउन थाल्यो । यसरी समाजले उसलाई अर्को नाम उपहार दियो – बौलाहा अम्मरे ! बौलाहा अम्मरे नाम बोकेर विद्रोही फेरि केही वर्ष भौँतारिरह्यो । समाजको हरेक अङ्गलाई चामलबाट ढुङ्गा छुट्याए जस्तो छुट्याएर बुझ्न थाल्यो अनि चेतनाले एउटा खुड्किलो उक्लियो । जब उसले यो बुझ्यो कि नाम राखिदिने बाहुन, बा, आमा, समाज यी सब दुनियाँको दिन चरिया चिनाउने सहाराहरू उसको संसार हेर्ने नजरिया बुझ्ने हैसियत राख्दैनन् भने यिनले दिएको परिचय बोक्नुको के अर्थ । हो यहीं जन्मियो उसको असली नाम – विद्रोही । शुरू गरौँ है त । एक मानेमा विद्रोहीलाई लेखक भन्दा हुन्छ अझ स्पेसिफिक हुने हो भने उसलाई साहित्यकार भन्दा फरक नपर्ला । विद्रोहीका रचनाहरू न किताबमा भेटिन्छन् न कुनै म्यागेजिनमा न कुनै पत्रिकामा । उस्का रचनाहरू सिर्फ दुई ठाउँमा फेला पार्न सकिन्छ एक उसको झोला जुन हर पल, हर बखत उसको ढाडमा टाँसिएको भेटाउन सकिन्छ । र अर्को ठाउँ खैर के भनौं । फेरि पाठक उसलाई समाजले राखिदिएको प्यारो नाम बौलाहा अम्मरे भनेर बोलाउन थाल्नेछन् । के फरक पर्छ र भनिहाल्छु । उसको मस्तिष्क ! विद्रोहीलाई उस्का रचनाहरू कतै छापियोस् भन्ने लोभ वा त्यसबाट केही रकम आर्जन गरौंला भन्ने खोस्टा बराबर मतलब थिएन । उसलाई यो लागिसकेको थियो कि उस्का रचनाहरू अमर भइसकेका छन् जुन यदि दुनियाँले पढ्यो भने बिस भै जाने छन् । तपाईं भन्नु होला अनि के विद्रोही साँच्चै साहित्यकार हो त ? यदि विद्रोहीले एउटा चीजबाट मुक्ति पाउँछ भने ऊ साँच्चै साहित्यकार हो । डर छ विद्रोहीभित्र । भयानक डर । उसलाई यस चीजबाट मुक्ति पाउन त्यति नै जरूरत छ जति पानीबाट बालुवामा आइपुगेको माछालाई पानीको जरूरत हुन्छ । यो डर विद्रोहीभित्र कहिले र कसरी पस्यो यस्को छुट्टै कहानी बन्न पनि सक्ला तर अरू कुनै बेला । यो डरभित्र गुजुल्टिएका अनेकौँ डर मध्य एउटा डर यो हो कि विद्रोही मृत्युको खुट्टामा टाउको टेकाउनुअघि संसारमा लेखिएका हरेक कालजयी साहित्यमा डुब्न चाहन्थ्यो । साहित्यको विशाल समुद्री गहिराइमा हराउनु थियो विद्रोहीलाई हमेसा हमेसाको लागि । तर के सम्भव छ शब्दहरूको जालोमा आफूलाई त्यागेर साहित्यलाई पुज्न ? के माकुराको जालोमा फसेको झिँगा र विद्रोहीमा केही फरक भेटिन्छ ? विद्रोही मगन छ भलै ऊ भित्र डरका छालहरू गगन चुम्बी उचाइ ताक्दै उफ्रिरहेका हुन्छन् । छुटै संसार निर्माण गरेको छ उसले जहाँ उसले पढेका हरेक उपन्यासका पात्रहरू उस्का ओरिपरी घुमिरहेका हुन्छन् । अजिब शक्ति छ विद्रोहीभित्र । उसले पढेका किताबका लेखक र तिनका पात्रहरू विद्रोही यथार्थमा देख्न सक्छ । संवाद गर्न सक्छ । कहिले अल्बर्ट क्यामुस त कहिले लियो टोल्स्टोय त कहिले फ्योदोर दोस्तोएव्स्की त कहिले रुसी साहित्यका महान् लेखकहरू । विद्रोही हरेक दिन मानौँ लुगा फेर्दै छ त्यसरी ऊ आफ्नो मित्रता फेर्छ । यस पटक भने विद्रोही सन्तापलाई अँगाल्दै घुमिरहेको छ । सन्ताप पियुस मिस्राको जीवनीमा आधारित पियुस मिस्राको काल्पनिक पात्र हो । कहिले घना वनको बिचोबिच त कहिले सहरले ओकालेको फोहोरको डंगुरको भद्दा चुचुरो त कहिले मसान घाट । बेग्लै हुने गर्छन् विद्रोहीका पर्यटकीय स्थलहरू । विद्रोही हर समय यस्ता स्थलहरूमा भेटिन्छ एकोहोरो आकाशको अनन्त खालीपन पढ्न खोजे जस्तो मुद्रामा । बरबराइरहेको हुन्छ विद्रोही सिर्फ उसले देख्न सक्ने उपन्यासका पात्र र लेखकहरूसँग । सन्तापः अनि कस्तो लाग्यो त ? विद्रोही: अद्भुत । क्या लेखाई प्रिय पियुम मिस्रा जी को । सन्ताप: अनि अब नयाँ लेख कहिले त ? विद्रोही: लेख्ने सोच्दै छु । कामुसँग केही सुझाव लिन बाँकी छ । हिजो मार्सल्टले जेलबाट पठाएको चिठ्ठी पाएँ कामु मिथ अफ सिसिफस लेख्दै छन् अरे । सन्ताप: ठिक ठिक । सिसिफसलाई त ढुंगा पहाडको चुचुरो सम्म गुल्ट्याउने अमर काम मिल्यो तँलाई के त विद्रोही ? विद्रोही: मलाई ? विद्रोहीलाई यस्ता प्रश्नहरूले चिड्याउने गर्छन् । मलाई के भन्दा पनि मैले के दिन सक्छु भन्ने सिद्धान्त पुज्ने विद्रोही यस्ता प्रश्न सुन्ने बित्तिकै रन्किहाल्थ्यो । अनि शुरू हुन्थ्यो विद्रोहीको विद्रोह । यहाँ शुरू हुन्थ्यो पागलपन । भयानक पागलपन । उसलाई लाग्न थाल्थ्यो हटा सारा साहित्य । भाड्मे जाओ सबै लेखक । चाहिँदैन मलाई कोही । म आफैंमा कवि हुँ, आफैंमा साहित्यकार आफैंमा भगवान अनि आफैंमा एक महान् पागल । अहिले ऊ एयरपोर्टको रनवेको बिचोबिच ठिङ्ग उभिएको छ । एक्लै ! सन्ताप फुत्त निस्किसकेको हुनुपर्छ कतै किताबको पानामा सुरक्षित बसेर विद्रोहीको पागलपन सिनेमा हेरे झैँ हेर्दै होला । पछाडि उस्का कृतिहरूले भरिभराउ झोला, खुट्टामा घिस्रिसकेका जुत्ता, खैरो सर्ट, खल्तीमा टिमिक्क भरिएका डढपेन, हालसालै खौरिएको कपाल अनि उम्रिँदै गरेका कपालका टुसाहरू यस्तो छ विद्रोहीको हुलिया । ऊ यसरी उभिएको थियो कि ल्यान्ड गर्दै गरेको प्लेन च्याप्प समात्ने वाला छ आफ्नो ब्याग खेलेर सारा आफ्ना पात्रहरूलाई भर्ने छ र पठाउने छ कतै टाढा जहाँ स्वतन्त्र जिउन पाउनेछन् उस्का पात्रहरूले आफ्नो जीवन । विराट आकाशबाट प्लेन यसरी आउँदै छ मानौँ कुनै चिल कुखुराको चल्ला टिप्न आउँदै छ । विद्रोही तयार देखिन्छ । मानौँ विद्रोही प्लास्टर बइसकेको छ एकदम अचल अडिग भएर विद्रोही घुरिरहेको छ तेज गतिमा आफूतिर आउँदै गरेको प्लेन जो अबको केही सेकेन्डमा विद्रोहीलाई किच्ने वाला छ । गार्डर्हरू परबाट ऊतिर दगुरिरहेको देख्न सकिन्छ । प्लेन रोक्न सक्ने कु रै भएन । ऊ खडा छ उसको डर मिलि सेकेन्ड बाई मिलि सेकेन्ड नजिकिँदै छ । अनि जे अनुमान लगाइएको थियो त्यो नहुने कुरै भएन । मानौँ समयको सिनेमा कसैले बीचमा पज गरिदियो । सब चीज रोक्कियो । सन्नाटाले निल्यो वर्तमानको ध्वनि । हावामा विद्रोहीका रचनाले भरिएका पानाहरू बग्दै छन् मानौँ आकाशबाट पानी बर्सिरहेको छ । ती पानाहरू एक एक गर्दै विद्रोहीको रगतमा डुब्दै छन् डुब्दै छन्… The post बौलाहा अम्मरे बन्यो विद्रोही appeared first on साहित्यपोस्ट.