यामाहा नेपालकाे ‘यामाहा ब्लू क्याम्प’ सुरु, एक हप्तासम्म चल्ने - arthasanjal.com
काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत रहेको यामाहा नेपालले देशव्यापी सर्भिस सप्ताह ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ । मंसिर २१ देखि २७ गतेसम्म (डिसेम्बर ७–१३) सञ्चालन हुने यो अभियानमार्फत देशभरका यामाहा राइडरले आधिकारिक सर्भिस सेन्टरमा पुगेर विशेष छुटसहित प्रिमियम सर्भिस अनुभव लिन सक्नेछन् । अभियानको अवधिभर प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने सर्भिसमा निःशुल्क बाइक वास, १५–प्वाइन्ट विस्तृत चेकजाँच, यामाल्युबमा १५ प्रतिशत छुट, स्पेयर पार्ट्समा १० प्रतिशत छुट, लेबर चार्जमा ५० प्रतिशत छुट तथा निःशुल्क एएमसी कार्ड जस्ता सुविधा उपलब्ध गराइने यामाहाले जनाएको छ । ग्राहक अनुभवलाई अझ आकर्षक बनाउन कम्पनीले दैनिक क्यासब्याक अफर पनि ल्याएको छ । अभियान चल्ने सात दिनमै हरेक दिन एक–एकजना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने व्यवस्था गरिएको यामाहाले जनाएको छ । यसले राइडरहरूलाई गुणस्तरीय सेवा मात्रै होइन, सर्भिस खर्चमा विशेष राहत पाउने अवसर पनि प्रदान गर्ने यामाहाको दाबी छ । अभियानमा ‘नो योर बाइक’ सेसनसमेत समावेश गरिएको छ । जहाँ सर्भिस सेन्टरका प्रमुख प्राविधिकले ग्राहकहरूलाई मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मत आवश्यकताहरू तथा प्राविधिक पक्षबारे विस्तृत जानकारी दिनेछन् । त्यस्तै ‘सेफ्टी राइड सेसन’ मार्फत सुरक्षित सवारीका व्यावहारिक सुझावहरू प्रदान गरिनेछ । अनलाइन बुकिङमार्फत यामाहा एक्सप्रेस सर्भिस सुविधा, एएमसी खरिदमा विशेष अफर तथा सरप्राइज गिफ्टहरू पनि उपलब्ध हुनेछन् । अभियानबारे जानकारी दिँदै एमएडब्लू राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ‘यामाहा ब्लू क्याम्प’ ग्राहकप्रतिको विश्वास र प्रतिबद्धता अझ मजबुत बनाउने पहल भएको बताए । “यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिसमार्फत दीर्घकालीन विश्वास निर्माण गर्नेमा विश्वास राख्छ,” उनले भने, “यस अभियानबाट हामी राइडरहरूको सुरक्षा, सन्तुष्टि र सुविधा अभिवृद्धि गर्ने लक्ष्य राखेका छौँ ।”