रोटरीको निःशुल्क आँखा शिविर - ehimalayatimes.com
काठमाडौं । रोटरी इन्टरनेसनलको ‘युनाइट फर गुड’ अभियानअन्तर्गत रोटरी क्लब अफ हेटौंडाको पहल तथा समन्वयमा रोटरी डिस्ट्रिक ३२९२ का १६२ क्लबमध्ये १५ क्लबले पाँचदिने निःशुल्क आँखा जाँच तथा सर्जरी क्याम्प’ सम्पन्न गरेका छन् । रोटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ बागमती काठमाडौं, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ काठमाडौं हाइट, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ मध्यपुर, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ पाटन, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ यल, रोटरी क्लब अफ तिनकुनेको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरले मकवानपुरको इन्द्रसरोवर क्षेत्रका स्थानीयलाई निःशुल्क तथा गुणस्तरीय आँखा सेवा उपलब्ध गराएको आयोजकले जनाएको छ । आयोजकका अनुसार मंसिर १७ देखि २१ गतेसम्म सञ्चालित शिविरमा स्क्रिनिङदेखि मोतियाबिन्दु शल्यक्रियासम्मका सेवा प्रदान गरिएको थियो । पहिलो तीन दिन चलाएको स्क्रिनिङ अभियानमा इन्द्रसरोवर क्षेत्रका पाँच स्थानमार्फत् तीन सय ५० जनाको विस्तृत आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६७ जनामा मोतियाबिन्दुको समस्या र तीनजनामा दुवै आँखामा गम्भीर समस्या रहेको पाइएको थियो । मंसिर २० मा कुलेखानी–३ स्थित खानीखेत स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया शिविरमा ५९ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको हो, तीमध्ये दुवै आँखामा समस्या भएका तीनजनाको दुवै आँखाको सफल अपरेसन सामुदायिक आँखा अस्पताल हेटौंडाको नेत्र विशेषज्ञ डा. सुनिल थकाली नेतृत्वको प्राविधिक टोलीले सम्पन्न गरेको बताइएको छ । अभियानअन्तर्गत शल्यक्रिया गरिएका सबै बिरामीको मंसिर २१ मा ‘आई ओपनिङ डे’ मनाउँदै पुनः स्वास्थ्य परीक्षण गरिएको तथा आवश्यक परामर्श प्रदान गरिएको सामुदायिक आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताउनुभयो । अभियानमा रोटरी क्लब अफ हेटौंडा, सामुदायिक आँखा अस्पताल हेटौंडा, इन्द्रसरोवर गाउँपालिका र रोटरी डिस्ट्रिक ३२९२ का १५ क्लबहरूको सहकार्य रहेको थियो । रोटरी क्लब अफ गोंगबुका अध्यक्ष रोटेरियन राजाराम फुयालले भन्नुभयो, ‘गिफ्ट अफ साइट केवल शल्यक्रिया कार्यक्रममात्र होइन, यो जीवनमा पुनः प्रकाश फर्किने आशा हो । १५ क्लबको एकताबद्ध प्रयास, स्थानीय सरकारको सक्रिय साथ, नेपाल आर्मीको स्वयंसेवक र सामुदायिक आँखा अस्पतालको समर्पित टिमका कारण ५९ जनाले फेरि संसार देख्न पाएका छन् ।’