कुन दलको चुनावी प्रचारप्रसार रणनीति कस्तो - www.bbc.com
Getty Images राजनीतिक दल तथा उम्मेदवारहरूले १५ दिनसम्म चुनावी प्रचारप्रसार गर्न पाउने छन् निर्वाचन आयोगले चुनावी प्रचारप्रसार गर्न पाउने दिएको समयसीमा आरम्भ भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरू सोमवारबाट त्यसमा केन्द्रित भएका छन्।तर यसपालि चुनावी प्रचारप्रसार गर्ने रणनीति विगतका निर्वाचनमा भन्दा फरक हुने प्रमुख दलका नेताहरूले बीबीसीलाई बताएका छन्।नेपाली कांग्रेस तथा राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा ठूला आमसभा गर्ने बताएका छन् भने नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले घरदैलोजस्ता कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन् अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन् आयोगले निर्धारण गरेको समयसीमाअनुसार निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार गर्न पाउने छन्।मतदान सुरु हुनभन्दा ४८ घण्टा अघिदेखि लागु रहने मौनअवधिमा कुनै प्रकारका प्रचारप्रसार, सभा, जुलुस गर्न नपाइने व्यवस्था रहेको छ। फागुन २१ गते मतदानको कार्यक्रम तय भएको छ।कांग्रेसको चुनावी रणनीतिपार्टीले चुनावको प्रचारप्रसार गर्ने काम थालिसकेको भन्दै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सबै प्रदेशमा ठूला आमसभा योजना रहेको बताए।"सात प्रदेशमा सातवटा ठूला सभा त निश्चित रूपमा हुन्छन्। आवश्यक परेका ठाउँमा पनि विस्तार गर्छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।उनका अनुसार टोलसभा, ससाना सभाहरूलाई जिल्लास्तरीय नेताहरूले र आमसभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने छन्।नेतृत्व परिवर्तनसँगै सभापति गगन थापालाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेको कांग्रेसले सम्भव भएसम्म सबै आमसभामा उनलाई सहभागी गराउने योजना बनाएको छ।"सबैतिर उहाँको माग छ। हाम्रा प्रधानमन्त्री कस्ता हुन्छन्, के बोल्छन् भन्ने चासो छ," प्रवक्ता चालिसेले भने।तर मतदान गर्ने समय घर्किँदै गएकोले सबै आमसभामा पार्टी सभापतिलाई सहभागी गराउन सकिने वा नसकिने कुरा परिस्थितिमा निर्भर गर्ने उनी बताउँछन्।चुनावी घोषणापत्र सार्वजनिक गर्न बाँकी रहेको कांग्रेसले पहिलो आमसभामार्फत् बाहिर ल्याउने तयारी गरेको छ।"फागुन ६ गते जनकपुरमा हामी पहिलो सभा गर्दै छौँ, जुन सभाबाटै पार्टीको घोषणापत्र हामीले सार्वजनिक गर्ने छौँ। हामीले त्यसलाई प्रतिज्ञापत्र भनेका छौँ," चालिसेले भने।यद्यपि मतदातासँगको प्रत्यक्ष संवादलाई चाहिँ बढी प्राथमिकता दिइने पार्टीको योजना रहेको उनले सुनाए। कांग्रेस, एमाले र रास्वपासहितका दलको घोषणापत्र अझै आएन, के एकअर्काको हेर्न ढिलो गरेका हुन् चुनावमा भोट हाल्दा मतदाताहरू किन पार्टीका घोषणापत्रलाई खासै वास्ता गर्दैनन् एमालेको प्राथमिकताएमाले नेता प्रदीप ज्ञवालीका अनुसार यसपालि उनको पार्टीले गर्ने चुनावी प्रचारप्रसारको रणनीति पहिलाभन्दा केही फरक हुन सक्छ।"निर्वाचन क्षेत्रस्तरका सभा फरकफरक ठाउँमा फरकफरक प्रकृतिका हुने छन्। यद्यपि यसपालि ठूलाठूला सभा गर्ने राष्ट्रव्यापी कार्यक्रम हाम्रो छैन," बीबीसी न्यूज नेपालीसँग उनले भने।ज्ञवालीका अनुसार त्यस्ता सभालाई केन्द्रीय स्तरका र उम्मेदवार नरहेका कतिपय नेताले समेत सम्बोधन गर्न सक्ने छन्।बढीभन्दा बढी मतदातासम्म पुग्न सक्ने गरी एमालेले चुनावी प्रचारप्रसारका कार्यक्रम गर्ने योजना रहेको उनले बताए। "मतदाताको तहमा कार्यकर्ताहरू पुग्नुपर्ने अथवा मतदातालाई उठाएर अर्को ठाउँमा ल्याउँदा समयको सदुपयोग नहुने देखेपछि हामी स्थानीय स्तरमा बढी केन्द्रित भएका छौँ," ज्ञवालीले अगाडि थपे।यद्यपि आवश्यकताअनुसार पार्टीप्रति समर्थन र पार्टीको शक्ति देखिने ठाउँमा सभा गर्न सकिने उनले बताए। चुनावी प्रचारप्रसारका निम्ति डिजिटल माध्यम एउटा सशक्त साधन देखिएको भन्दै ज्ञवालीले भने, "हामीले त्यसलाई अझ प्रभावकारी बनाउने छौँ।"उनका अनुसार डिजिटल माध्यमको सम्भावित दुरुपयोगले चाहिँ यसपालि चिन्ता पनि बढाएको छ।"गलत सूचनाले मतदातालाई दिग्भ्रमित पार्ने काम भइरहेको छ। ठूलो चुनौती छ। ठिक ठाउँमा मत पर्दैन कि भन्ने चिन्ता छ। त्यसलाई चिर्ने ढङ्गले हामी अगाडि बढिरहेका छौँ," ज्ञवालीले थपे। Reuters निर्वाचन आयोगले आचारसंहिता पालना गराउन कठाइ गरिएको जनाएको छ रास्वपाका आमसभाठूला आमसभा गर्ने दृष्टिकोणले राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसको प्रचारप्रसार रणनीति समान देखिएको छ।रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उनको पार्टीले चुनावी आमसभाको थालनी सुदूरपश्चिम प्रदेशको धनगढीबाट धरानबाट गर्ने योजना बनाएको छ।"हामीले सातवटै प्रदेशमा ठूला सभा गर्ने छौँ। धनगढीबाट सुरु भई काठमाण्डूमा समापन हुने छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।सबै ठूला सभाहरूलाई पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिहरूबाट सम्बोधन गराउने सो पार्टीको योजना रहेको प्रवक्ता झाले सुनाए।त्यसबाहेक चुनावलक्षित कोणसभाहरू र क्षेत्रीयस्तरका सभाहरू पनि गरिने रास्वपाले बताएको छ।चुनावी प्रचारप्रसारका लागि पालिका तहसम्म कार्यदलहरू परिचालन गरिएको प्रवक्ता झाले जनाए। EPA/Shutterstock घरघर पुग्ने नेकपाको लक्ष्यपुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतका विभिन्न दलबीच एकता भई बनेको नेपाली कम्युनिस्ट पार्टीले परम्परागतभन्दा केही पृथक् ढङ्गले प्रचारप्रसार गर्ने सोच बनाएको नेताहरूले बताएका छन्।यो रिपोर्ट तयार पार्नका लागि टेलिफोनमार्फत् सम्पर्क गर्दा सो पार्टीका नेता तथा पूर्वसभामुख अग्नि सापकोटा चुनावी कार्यक्रमका लागि सिन्धुपाल्चोकमा थिए।"यसपालि परम्परागतजस्तो ठूलाठूला भन्दा पनि हाम्रा अलि व्यवस्थित र प्रभावकारी सभा हुने छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।चुनावी प्रचारप्रसारका क्रममा कोणसभा र घरदैलोलाई चाहिँ नछोड्ने नेकपाको रणनीति छ।"हाम्रो प्राथमिकता चाहिँ सानासाना कोणसभाहरू र सबैभन्दा बढी घरघरमा सबै व्यक्तिलाई भेट्ने काम बढी हुन्छ," नेता सापकोटाले अगाडि थपे।केन्द्रीय चुनाव परिचालन समितिमार्फत् चुनाव प्रचारप्रसारको काम अगाडि बढाइको र त्यसअन्तर्गत रहेको सचिवालयले अनुगमन र दिशानिर्देश गरिरहेको उनले बताए।यूट्यूबदेखि फेसबुकसम्म प्रयोग गर्ने बताउँदै सापकोटाले भनेः "प्रचारप्रसारका लागि परम्परागत र आधुनिक दुवै माध्यम हामीले अपनाएका छौँ।"जसपाले सक्यो आमसभाजनता समाजवादी पार्टी (जसपा) ले चुनावका लागि आमसभा गरिसकिएको जनाएको छ।सो पार्टीका नेता सुरेश मण्डलले अब आफूहरूको ध्यान घरदैलोमा केन्द्रित भएको बताएका छन्।"हामीले सातवटै प्रदेशमा आमसभा सकिसक्यौँ। अब हाम्रो आमसभा नहुन पनि सक्छ। भोट माग्नमा बढी केन्द्रित भएकोले अब आमसभा भ्याउँदैनौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।"अब कोणसभा, घरदैलो, ससाना सभा गर्ने र जनतालाई प्रत्यक्ष सम्बोधन गर्ने काम हुन्छ।"आवश्यकताअनुसार क्षेत्रीयस्तरका सभाका लागि पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवलाई निम्त्याएर सम्बोधन गराउन सकिने उनले योजना सुनाए।त्यसबाहेक अरू दलका नेता अथवा उम्मेदवारहरू तयार भएमा उनीहरूसँग सार्वजनिक बहस गर्न आफूहरू तयार रहेको मण्डलले बताए।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।