राजनीतिमा लाग्ने वा नलाग्नेबारे अझै निर्णय गरेको छैन: मन्त्री खरेल - nagariknews.nagariknetwork.com
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी दिनमा सक्रिय राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रस्ताव आए पनि आफू भने अहिले नै राजनीतिमा होमिन अनिर्णित रहेको स्पष्ट पारेका हुन्।‘पुराना र ठूला राजनीतिक दलहरूबाट प्रस्ताव आएको कुरा सत्य हो, नयाँ दलहरूबाट पनि कुरा आएको छ,’ मन्त्री खरेलले भने, ‘जनता र विभिन्न क्षेत्रबाट पनि सुझावहरू आइरहेका छन्। सबैका कुरा सुनिरहेको छु, तर मैले राजनीतिमा जाने वा नजाने, चुनाव उठ्ने वा नउठ्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।’मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।‘अहिले मैले यो विषय समयलाई छोडिदिएको छु,’ उनले भने, ‘मेरो पढाइ अलिकति बाँकी छ। केही पारिवारिक जिम्मेवारीहरू पनि पूरा गर्नुपर्नेछ। त्यसैले अहिले नै निर्णय लिइसकेको छैन।’मन्त्री भएर सिंहदरबार छिर्दा धेरै सपना बोकेर गए पनि ६ महिनाको छोटो अवधिमा ती सपना पूरा गर्न नसकिने रहेछ भन्ने बोध भएको उनले बताए।‘मन्त्रीका रूपमा मेरो ‘टेस्ट’ हुन पनि बाँकी छ,’ उनले भने, ‘मन्त्रालयभित्र भ्रष्टाचार नै सिस्टम बनेर बसेको रहेछ। चियाको कपदेखि ठूला नीतिगत निर्णयसम्म भ्रष्टाचारको जालो छ। यो देखेर कहिलेकाहीँ उकुसमुकुस हुन्छ।’उनले छोटो समयमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास गरेको र बाँकी जीवन पनि देश र जनताकै लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।