कांग्रेस-एमालेमा नेतृत्व परिवर्तनको रस्साकस्सी, अन्य दलमा पुरानै नेतृत्व - pahichan.com
काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेले पार्टी महाधिवेशनको तयारी तीव्र पारेका छन्। नेपाली कांग्रेसले क्रियाशील सदस्यता प्राप्तिको लिमिटेड अन्त्य गर्दै जति आउन सक्छौ, आउन आव्हान गरेको छ। कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन पुस २६, २७ र २८ गते गर्दैछ। असोज २८ गते महामन्त्री गगन थापाले पेश गरेको महाधिवेशन कार्यतालिकामा ४५ दिन छलफल गरियो। लोकतन्त्रको मसिया ठान्ने कांग्रेसले प्रस्तावमा गहन छलफल गर्यो र अन्ततः फागुन २१ को चुनाव अगाडि नै महाधिवेशन गर्ने तयारीमा जुटेको छ। कांग्रेसले यति छोटो समयमा महाधिवेशन सम्पन्न गरेको इतिहास छैन। गिरिजाप्रसाद कोइरालाले देशमा सङ्कटकाल लागेको बेला छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गराएका थिए। कार्यतालिका अनुसार यही मङ्सिर २० गते क्रियाशील सदस्यताका लागि फारम वितरण गरी पुस ८ भित्र नयाँ क्रियाशील सदस्यताको काम सक्नु पर्नेछ। नेपाली कांग्रेसका वडादेखि केन्द्रसम्ममा विस्तारित कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ। क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधि छनोट गर्छ। नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन्। नियत सफा राख्ने हो भने महाधिवेशन तोकिएकै मितिमा गर्न सकिने कांग्रेस नेताहरू बताउँछन्। कांग्रेसले महाधिवेशनको मिति तोकेसँगै आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्वमा दाबी नगर्ने निश्चित भएपछि समीकरणमा उलटफेर आउने सङ्केत देखिएको छ। महामन्त्री गगन थापाले एक टेलिभिजन कार्यक्रममार्फत आफूलाई आगामी सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत गरेपछि डा. शेखर कोइराला छक्क परेका छन्। अघिल्लो महाधिवेशनमा आफ्नो टिम बनाएर सघाएका थापाले स्वयम् आफूलाई सभापतिको उम्मेदवार भएको बताएपछि कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन्। छलफलमा गगनसँग मिलेर जाने सुझाव सहयोगी नेताहरूले कोइरालालाई दिएका छन्। गगनले शेखरलाई साथ नदिने माहौल बनेको देखेपछि हालसम्म देउवा समूहमै रहेका डा. शशाङ्क कोइरालाले आफू र दाइमध्ये एक जनाले सभापतिको उम्मेदवार नछोड्ने बताएका छन्। कांग्रेसमा गगन, शेखर मात्र होइन, दर्जन बढी नेताहरू सभापतिको आकाङ्क्षी छन्। सभापति देउवा नेतृत्वमा नतेहरिने भएपछि उनको आशीर्वाद लिएर नेतृत्व हत्याउने दाउ संस्थापन निकट नेताहरूको छ। उपसभापति पूर्णबहादुर खड्कासहित कृष्ण सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, शशाङ्क कोइराला, विजय गच्छदार, प्रकाशमान सिंहलगायतका नेताहरू देउवाको सहयोगमा आफू सभापति बन्ने योजनामा लागेका छन्। देउवाका उत्तराधिकारी बन्न सात पूर्वपदाधिकारीहरू पनि निरन्तर छलफलमा छन्। यता नेकपा एमालेको महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ, जुन यही मङ्सिर २७, २८ र २९ गते हुँदैछ। कांग्रेसले क्रियाशील सदस्यता खुला गर्दा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ। एमालेको अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको पार्टीभित्र पक्ष–विपक्षमा बहस चलिरहेको छ। महाधिवेशन प्रतिनिधि छनोटले नै ओली र पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने सङ्केत दिएको छ। ओलीको पक्षमा संस्थापन पक्षका नेताहरू खुल्न थालेका छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा ओलीको विकल्प नभएको बताए। https://pahichan.com/wp-content/uploads/2025/12/Bishnu-2.mp3 जेनजी आन्दोलनले परम्परागत दलहरूको नेतृत्व क्षमतामाथि व्यापक प्रश्न उठाइदिएपछि दलहरू नयाँ नेतृत्व चयनतर्फ कस्सिएका छन्। आन्दोलनले स्थापित नेताहरूको विश्वसनीयतामा टेको लगाएको दबाबलाई बेवास्ता गर्न नसक्ने भएपछि कांग्रेस, एमाले नेतृत्व-पुनःनिर्माणको दौडमा प्रवेश गरेका छन्। यही परिवेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन्। तीन दशकभन्दा बढी सत्ता–समीकरणको केन्द्रमा रहेका देउवाको यो घोषणाले कांग्रेसमा नयाँ समीकरण बनाउने द्वार खोलिदिएको छ। तर देउवापछिको नेतृत्व कसले लिने? यो प्रश्न झन् जटिल बन्दै गएको छ। एमालेमा अध्यक्ष केपी शर्मा ओली पुनः निर्वाचित हुनका लागि आतुर देखिन्छन्। ओलीले औपचारिक रूपमा उत्तराधिकारी देखेका छैनन्, जसले एमालेभित्रको नेतृत्व सङ्क्रमण बहसलाई झनै तिखो बनाइदिएको छ। ओलीको ‘विकल्प छैन’ भन्ने संस्थापन धारणा र पार्टीभित्र उब्रिँदै गएको असन्तोषबीचको द्वन्द्व महाधिवेशनले मात्र निष्कर्ष निकाल्नेछ। १० वर्षे सशस्त्र सङ्घर्षको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने एकीकृत माओवादी–केन्द्रको नामसमेत त्यागेर नयाँ दल गठनमा उफ्रिएका छन्। उनले आफ्नै संयोजकत्वमा नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाएका छन्। नेतृत्वमा आफैँ भएर पार्टी सञ्चालन गर्ने ओलीको पथमै प्रचण्डले छलाङ मारेको यो कदमले माओवादी आन्दोलनको मूल धारणामाथि नै प्रश्न उठाएको छ। नयाँ पार्टीमा पनि प्रचण्ड नै संयोजक बनेका छन्। यसले देखाएको छ, पुरानो नेतृत्वको वैकल्पिक संरचना होइन, पुरानै शैलीको नयाँ आवरण मात्र पुनः स्थापित गरिएको छ। ‘नयाँ’ भनेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नेतृत्व–सङ्कट चर्कँदो छ। सभापति रवि लामिछाने जेलभित्रैबाट सक्रिय भइरहनु र पार्टीमा निर्णय प्रक्रिया अध्यक्ष–केन्द्रित हुनु,दुवै कुराले रास्वपाको आन्तरिक लोकतन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ। रविको यो अस्वाभाविक सक्रियता, नेतृत्व–निरङ्कुशता र प्रक्रियागत अस्पष्टताले रास्वपाका सचेतक सन्तोष परियार, सांसद सुमना श्रेष्ठलगायतका नेताहरूले पार्टी त्याग गरेका छन्। ठूला दलहरूको आलोचक बनेर आएको रास्वपाभित्र नै लोकतान्त्रिक विधि ‘देखावटी’मा सीमित भएको आरोप बढ्दो छ। महाधिवेशनको मिति तोक्ने, सार्ने, फेरि सार्ने, यो क्रमले पार्टीको आन्तरिक चरित्रलाई झनै उजागर गरिदिएको छ। जेनजी आन्दोलनले उठाएको एक मात्र प्रश्नले सबै दललाई उस्तै चस्मा लगाएर हेर्न बाध्य बनाएको छ, देशलाई नेतृत्व दिने तयारी कसले गरेको छ, र संरचनागत रूपमा नयाँ नेतृत्व उदाउने वातावरण दलहरूले साँच्चै बनाएका छन् कि छैनन्? पुराना दलहरू नयाँ मान्छे खोज्दै छन्, तर पुरानै शैली बोकेर। नयाँ दल ‘नयाँ’ भन्ने दाबी गर्छ, तर नेतृत्व अभ्यास पुरानै जस्तो।यही द्वन्द्व नै आगामी चुनाव र दलहरूको भविष्यको मुख्य निर्धारक बन्ने सङ्केत यस अन्तर्द्वन्द्वले गराइरहेको छ