Redirecting...

सङ्घर्षकै निम्ति प्राप्त संयोगहरू - sahityapost.com

सङ्घर्षकै निम्ति प्राप्त संयोगहरू - sahityapost.com
Source: shpt

एउटा निश्चित लक्ष्य भेट्टाउनु छ भने तिमीले पछाडि फर्किएर कदापि नहेर्नू । भीड तिम्रो पिच्छा गर्दै पछिपछि आइरहेको छ । रोकिएर छिनभर उसलाई किमार्थ नसुन्नू । सुन्दै नसुन्नू । जसले तिमीलाई दुर्बल बनाउन सक्छ । दुर्बल हुन किञ्चित नलाग्नू । बरु एक निर्भीक मन लिएर नित्य अघि बढिरहनू, नित्य … ! तब एउटा गन्तव्य भेटिनेछ । त्यतिखेर भीड तिम्रोसामु श्रद्धाले झुक्ने छ । हो त्यही क्षणको प्रतीक्षामा हरदम दृढता भरिरहनू … । हरदम साहस भरिरहनू … । हरदम लक्ष्य सम्झिरहनू । सब थोक हरदम … हरदम … ! त्यसै गरी फेरि सुन त ! जीवन सोचेजस्तो सहजतामा थोरै पनि हिँड्न नजान्ने रहेछ । त्यसो हुँदा तिमीले असहजता नै स्वीकार्नू । अनि पो जीवन प्रिय लाग्न थाल्नेछ र एउटा अर्थपूर्ण मार्ग लिनेछ । त्यसको लागि जहाँ छौ त्यहीँ रोकिएर आफूलाई किमार्थ नहेर्नू । बरु एक पाइला अगाडि सार्ने हिम्मत गर्नू अर्को पाइला स्वतः चल्नेछ । बस् तिमीले अरू केही गर्नुपर्दैन । केवल एक कदम सार्ने धृष्टता गरे पुग्छ । जीवन त त्यही धृष्टताको निम्ति प्राप्त भएको रहेछ; त्यस्तै सङ्ग्राममा भिड्नेका निम्ति रहेछ । भगौडा हुन कसैले यो जन्म पाएको होइन । हार्नका लागि त्यसरी जीवन पाइएको हुँदै होइन । त्यसको पर्वाह नराखी जीवनसँग भिड्नकै लागि जीवन आएको रहेछ । प्रिय पाठक ! सन्दर्भ विहीन यस्तो अभिव्यक्तिले निश्चय तपाईं अलमल पर्नु भएको हुन सक्छ । कुरा के भने डा. रेणु सोलुकृत ‘तुइन जिन्दगी’ पढेपछि म यसरी भावावेगमा आएछु । लेखक सोलुको जीवनबाट प्रभावित भएर, यस खालको भावोद्गारले तरङ्गित भएछु । एउटा अज्ञात उत्साहले म छचल्किएछु । जीवनको एउटा स्पष्ट धारणा बनाएकी लेखक सोलु । एक विद्रोही सोलु । अन्याय विरुद्ध आक्रामक हुने सोलु । समानताको अपीलमा खटिने सोलु । सहअस्तित्व रुचाउने सोलु । कायरतालाई अस्वीकार गर्ने सोलु । न्यायको पक्षमा बोल्ने सोलु … । ‘तुइन जिन्दगी’मा मैले यिनै यस्तै धेरै सोलुहरू भेट्टाएँ । अरू पनि केही सोलुहरू भेट्टाएँ । अन्ततः अपरिचित सोलुसँग साक्षात्कार गर्ने अवसर पाएँ । यस पहिले नै उनका ‘भीरमह’ र ‘चिराक’ उपन्यास, ‘अस्तित्वको खोजी’ कथासङ्ग्रह, ‘सङ्घर्षका पाइला’ र ‘अवसरको सगरमाथा’ गजलसङ्ग्रह, ‘शिखर पुरुषप्रति श्रद्धासुमन’ शोककाव्य, ‘गुलाफ फुल्न खोज्दा’ आत्मकथा र ‘उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीतिचेतना’ जस्ता कृति प्रकाशित भइसकेका छन् । लेखनको प्रस्तावनासँगै अब कुरा गरौँ ‘तुइन जिन्दगी’ भित्रको भावार्थबारे । प्रथमतः लेखक बाँचेको समाजमा नारीहरूले सम्मानपूर्ण, समतापूर्ण, विभेदरहित जीवन बाँच्न पाएका भए; शायद प्रस्तुत कृति सिर्जिने नै थिएन । यहीँनेर लेखकीय भूमिकाबाट एउटा सानो सन्दर्भ जोड्न मन लाग्यो, “म जन्मिँदा ‘छोरी जन्मिएको’ खबरले मेरो हजुरबुबाले खुइय सुस्केरा निकालेर टोपीले निधारको पसिना पुछी ‘थुक्क है !’ भन्नुभएको थियो रे ! मेरो हजुरबुबा तत्कालीन समाजको एक प्रतिनिधि पात्र हुनुहुन्थ्यो, जसलाई नातिको रहरमा नातिनीको आगमनले पसिना छुटाएको थियो (पृ–७) ।’ कुनै पनि कुरा घट्नुको पछाडि केही न केही कारण हुने रहेछ । मानिसको जीवन आफूले चाहे जस्तो नहुनुमा पनि निश्चय कुनै कारण होला । भोलि गएर ऊ जेजस्तो हुनेछ त्यही कारणकै परिणत हुनेछ, शायद । त्यसो हुँदा म विश्वस्त छु । भन्न सक्छु आजकी साहित्यकार सोलु आफैँ सोलु भएकी होइनन् । छोरीको अस्तित्व अस्वीकार गर्ने समाजले नै उनलाई सोलु बनाएको हो । त्यसैले त उनी भन्छिन्, ‘छोरी जन्मँदा निसन्तान महसूस गर्ने तमाम अभिभावकको मनस्थिति बदल्नुलाई समेत आफ्नो जिन्दगीको महत्त्वपूर्ण उद्देश्य बनाउँदै लगेँ (पृ–९) ।’ तपाईंलाई लाग्ला ‘तुइन जिन्दगी’मा लेखकका आफ्नै निजी अभिप्राय होलान् । त्यसो होइन । यसमा सामूहिक तथा प्रतीकात्मक अर्थहरू पनि छन् । सबैका लागि आफ्नो जीवन तुइन जस्तै कठिन हुने रहेछ । जीवन बडो धराशायी छ, अनिश्चित छ, अन्योलपूर्ण छ । त्यस्तै अज्ञात पनि । ‘तुइन’ शब्दले आफैँमा एउटा सार्विकता बोलेको छ । सोलुको प्रस्तुत संस्मरणात्मक निबन्धसङ्ग्रह, जसमा अठार वटा विविध विषय–सन्दर्भका आलेखहरू रहेका छन् । अझ विधागत सूक्ष्मताको दृष्टिले हेर्ने हो भने केही संस्मरण, केही नियात्रा र केही निबन्धको समष्टि रूपले; कृतिको आकार लिएको छ । प्रायः रचनाहरू लेखकको जीवनसँग सन्दर्भित छन् । अनि बाँकी सन्दर्भमा पुरुषसत्ताबाट प्रताडित नारीका आवाजहरू छन् । उनीहरूको न्याय र स्वतन्त्रताका लागि उठाइएका स्वरहरू छन् । त्यस्तै दमन र हिंसा उन्मुक्तिका खातिर पुरुष सत्तामाथि गरिएका केही प्रश्नहरू समेत छन् । अन्त्यमा महिला जीवनमा आइपरेका जटिलताको सम्बोधन गर्नु कृतिको प्रमुख उद्देश्य रहेको छ । विशेषतः यी निबन्धमा लेखकले नारी र पुरुषदेखि माथि उठेर; एउटा व्यक्ति हुने प्रयास स्वरूप गरेका सङ्घर्षहरू छन्, चुनौतीहरू पनि । उनका अनुभव मिश्रित विचारमा प्रखर तार्किकताले केही सत्य निर्धारण गरेका छन् । समाजमा सचेतता ल्याउनु उनको लेखनको प्रमुख आशय रहेको छ । उनी पारम्परिक दृष्टि बदल्नका निम्ति नूतनत्वको पक्षमा उभिएकी छिन् । अझ यसो भनौँ उनी समाज बदल्ने अभियानमा छिन् । गहिरो अबोधतामा रहेका नारीहरूलाई ब्यूँझाउने प्रयासमा छिन् । समतामूलक समाजको अपेक्षामा छिन् । ‘तुइन जिन्दगी’ भित्रकी सोलु लैङ्गिक पहिचानबाट उठेर, समाजका छोरीहरू एउटा जिम्मेवार सन्तान हुनुपर्ने दृष्टान्तको रूप उभिएकी छन् । समसामयिक विषयमा केन्द्रिकृत उनका सिर्जनामा, नारीको समर्थन स्वरूप पुरुषको विरोध होइन, बरु सहअस्तित्वको आह्वान गरिएको छ । अग्रगामी चेतनाकै कारण यहाँ उनले धेरै अवरोध सामना गर्नु परेको छ । समाजले जसो भने पनि भनोस् । बाबु आमाको सकारात्कतामा आज उनी धन्य भएकी छन् । यात्रारत जीवनमा एउटा मानिस त्यतिखेर सफलीभूत हुने रहेछ, जतिखेर ऊ स्वतन्त्र भएको हुन्छ । उसलाई त्यस स्वतन्त्रताले नै दूर क्षितिजमा पुर्‍याउने रहेछ । हरेक मान्छेले आफ्नो स्वतन्त्रता आफैँ कायम गर्न सक्नुपर्ने रहेछ । त्यस बन्धित भावलाई, परम्परित सत्यलाई विखण्डित गर्न समर्थ भएपछि मात्रै उसले लक्ष्य देख्ने रहेछ । त्यसो भएन भने उसको लक्ष्य सधैँ छेलिनेछ, अदृश्य हुनेछ । सोलुलाई पढ्दा यिनै यस्तै कुरा बोध हुन्छ । आजका हामीलाई यस्तै सचेततापूर्ण साहसिकता चाहिएको छ । आत्मविश्वासी हुने, चुनौतीसँग नडगमगाउने सङ्घर्षशील जीवन चाहिएको छ, जस्तो कि सोलुको संस्मरणमा त्यो पाइन्छ । लाहुरे भएर फर्किंदा आलेखमा उनको किशोर जीवन कति निर्भीक, कति अविचलित लाग्छ । सोलुखुम्बुको विकट गाउँले जीवनमा त्यो अस्तित्व चेत कसरी आयो होला ? समाज र सामाजिक बन्धन विपरीत उनको वैयक्तिक निर्णय बडो अद्भुत लाग्छ । एक किसिमको असम्भव जस्तै । एस.एल.सी. फेल भएपछि घर परिवार कसैलाई थाहा नदिई, टियुसन पढ्न भागेर झापा पुग्दाको कथा यस्तो लाग्छ; जुन कि म अहिले पनि सोच्न सक्दिनँ । भास्कोडिगामाको जस्तै साहसिक लाग्छ झापा पुग्दाको उनको त्यो यात्रा । एउटा सही मार्गमा हिँड्दा अरूले अन्यथा जति नै बोलून् केही फरक नपर्दो रहेछ । एउटा शिक्षित जीवन बाँच्न भनौँ या जे भनौँ पढाइको तृष्णाले त्यसरी भाग्दा उनीमाथि सिङ्गो समाज कसरी खनिन्छ । अपजस गाउँछ । विरोध गर्छ । मानहानिको वचन बोल्छ । तथापि त्यो किशोरीलाई केही प्रभाव पर्दैन । मानिसमा एउटा यस्तो चेतना हुँदो रहेछ । त्यसले उसलाई अपमानको क्षतिपूर्ति गर्न निरन्तर सक्रिय बनाउने रहेछ । अन्ततः त्यही सक्रियताले उसलाई विशेष बनाउने रहेछ । आखिर अपमानित हुनु नराम्रो कुरा होइन रहेछ । त्यसले उसको अस्तित्व चेत झन् बढी तीव्र पार्ने रहेछ । सोलुलाई त्यही चेतले हुन सक्छ; आफूमाथि गरिएको उपेक्षाको क्षतिपूर्ति स्वरूप घर फर्किंदा लाहुरे भएर जाने इच्छा भएको । कस्तो जटिल इच्छा ! त्यसलाई सार्थकता दिन उनी टियुसन सँगसँगै केही कमाइको उपाय गर्छिन् । घर पुग्दा साँच्चि नै लाहुरेको सम्झना मेटाउने गरी उपस्थित हुन्छिन् । साहित्यकार सोलुको सिर्जनामा अभिव्यक्त अवसाद, विषाद, बाधा, अड्चन तथा अभावका बीच भएको सङ्घर्ष र जीवनका कठोर निर्णयहरू, मैले यसरी व्याख्या गर्दा; त्यसको मूल्य घटेको अनुभव गरेको छु । किनकि त्यसभित्रको जीवनलाई व्यक्त गर्ने मेरो भाषा कमजोर लाग्छ । किशोरकालीन हुँदै वयस्क उमेरसम्मको त्यो मनोविज्ञान, त्यो चेतना र सङ्घर्ष अनि तत्कालीन परिस्थितिको कृतिमा जुन वर्णन छ । त्यो पढ्दा जति प्रभावकारी छ । त्यही कुरा मैले यसरी बताउँदा प्रभाव घटेको लाग्छ । पितृसत्तामा हुर्किएको एउटा युवाले पनि नदेख्न नसक्ने खालको सपना; एक युवतीले कसरी देख्न सकिन् होला ? मैले आफैँलाई प्रश्न गरिरहेँ । त्यही सपना देख्ने हिम्मतले नै उनलाई आज डा. रेणु सोलु बनाएको छ । छोरीहरू पनि कम्ती खूबीका हुँदैनन् भन्ने अस्तित्व चेतले नै उनलाई गाउँका दिदी बहिनीभन्दा बेग्लै बनाएको छ । बेग्लै भविष्य देख्न सिकाएको छ । उता गाउँ समाज छोरीको सबलतालाई स्वीकार्न मञ्जुर छैन । त्यसो त मञ्जुर नभए नभोइरहोस् । सोलुलाई केही फरक परेको छैन । उनी निकै जब्बर छिन् । बोल्नेहरू बोल्छन्, एक दिन अवश्य थाक्छन् तर म थाक्नु हुँदैन उनी यही भन्छिन् । सर्जक सोलुको ‘तुइन जिन्दगी’ आत्मविश्वासले, दृढ प्रतिज्ञाले र निर्भीकताले ओतप्रोत एक दृष्टान्त बनेको छ । यसका केही निबन्ध पढ्दा त्यसपछिको बाँकी भाग खै ? अनि त्यसपछि के भयो भन्ने एउटा रिक्तता खड्किएको आभास हुन्छ । जस्तो कि एस.एल.सी. पास भएर काठमाडौँ आएपछि के भयो ? संस्मरणमा पाठकले त्यसको अपेक्षा गर्छ । जेहोस् कताकति जीवनी पढेजस्तो आभास हुने, संस्मरणका यी टुक्रा टाक्री जोड्दा सोलुको एक प्रखर व्यक्तित्वसँग राम्रै चिनारी हुन्छ । हाम्रो समाजका अधिकांश मानिसहरू सम्भवतः भीडमा बाँच्ने गर्छन् । आफ्नो बारेमा अरूले के भन्दैछ ? त्यसकै आधारमा आफूलाई निर्धारण गर्दै जान्छन् । अन्ततः बर्बाद जीवन बाँच्छन् । तर कोही यस्ता व्यक्तिहरू हुन्छन्, जसको कुरा काट्नेहरू काटिरहन्छन् तर उसलाई केही फरक पर्दैन । फरक त त्यतिखेर पर्छ जब कि ऊ ती कुराहरू सुन्न थाल्छ । कुमारीको भुँडी निबन्धमा हेर्नु त लेखकका बारेमा कति भाँती भाँतीका कुरा काटिएका छन् । त्यसमा समाजको मिथ्या हल्ला र वास्तविकताबीच कति ठूलो भिन्नता छ । उनी जीवन र मृत्युको सङ्घारमा एक्लै भिडिरहेकी छन् अस्पतालको शैयामा । तर कुरा काट्नेहरू उनको अस्तित्वमा दाग लगाउन खोजिरन्छन् । कस्तो हावादारी छ समाज ? कृतिमा प्राचीनताको भान हुने, सुदूर पहाडकी एउटी छोरीको अनुभूति बडो कठिन लाग्छ । प्रतिकूलताबीच पनि अनुकूलताको मार्ग निर्माण गर्नु, जीवनको तात्पर्य खोज्नु कति असाधारण कुरा छ एक युवतीको लागि । सोलुको परिस्थिति बाँचेका त्यस समयका जति पनि छोरी चेलीहरूले केही फड्को मार्न सकेका छन् भने; अवश्य तिनीहरूलाई पारिवारिक सहयोग मिलेको हुनुपर्छ । आफ्नै बलबुताले समाजसँग, समयसँग, परिस्थितिसँग जुझेर जीवनको अग्रगामी अभिष्य देख्नु एकदम बिरलै कुरा लाग्छ । ‘तुइन जिन्दगी’ त्यही विरलताको एउटा घटना बनेको छ । जो व्यक्ति अरू भन्दा बेग्लै जीवन बाँच्छ । उसको अनुभूतिले बेग्लै हुने सौभाग्य पाउँछ । हुन त उसलाई त्यतिखेर कठिनता भोग्दाको कष्ट त हुन्छ नै, त्यति मात्र होइन कहिलेकाहीँ असह्य पनि हुन सक्छ । तर कालान्तरमा तिनै पीडादायी अनुभवहरू गर्व गर्न लायक हुँदा रहेछन् । अहिले सोलुलाई त्यही भएको छ । त्यस खबतको दुर्बोध्यतासँग उनलाई अहिले बडो गर्व लागेको छ । आखिर जीवनको सम्पदा भन्नु त्यही अनुभूति त रहेछ नि ! किन किन भीड (समाज) सँग मलाई जहिल्यै वितृष्णा भइरहन्छ । उचित अनुचित नठम्याइ ऊ विरोधमै रमाउँछ । अवरोध गर्न रुचाउँछ । अरूका अनावश्यक कुरा गरेर बित्थामा बर्बाद हुन्छ । हेर्नु न त किशोर वय नाघेकी एउटी युवतीको दृढतालाई अपव्याख्या गर्न भीड कसरी तत्पर भइरहन्छ ? उज्ज्वलताको मार्गमा आकृष्ट सोलुका कारण उनका माता पिताले समेत भोग्नु परेको अपमान कति नमज्जा लाग्ने कुरा छ । एउटा निश्चित बाटो लिएर हिँडेपछि, लक्ष्यमा सङ्कल्पित भएपछि, त्यसले मानिसलाई हार्न नदिँदो रहेछ । मनलाई बरालिन नदिँदो रहेछ । त्यस्तै आपत् विपद्ले विचलित पार्न नसक्दो रहेछ । एउटी युवतीको जोखिमपूर्ण यात्रा शीर्षकमा, बाबु बिरामी भएको खबर पाएर लेखक सोलु घर जाँदैछिन् । झोलामा औषधी छ । मनमा सन्देह छ । पीर छ, ताप छ । बाबु भेट्न पाउँछु पाउँदिनँ भन्ने हडबडी छ । गन्तव्य पुग्नु अघिको बाटोमा भेटिएका मानिसलाई देख्दा उनी सशङ्कित भएर सोध्छिन्, ‘कतै बुवाको मलामी भएर आउनुभएको त होइन ? (पृ–४३) ।’ यस्तो अज्ञात सन्तापले अशान्त सोधाइमा; सहानुभूति राख्नु, सौहार्दता देखाउनु त कता हो कता । बाटामा भेटिएको एउटा विदेशीलाई उनको साथमा देखेर, ती गाउँले दाजु उल्टै क्षुब्ध भई गालामा चड्कन लगाउँछन् । कति सङ्कुचित हाम्रो समाज ? साथमा कोही पुरुष देख्यो कि नारीलाई व्यभिचारी दृष्टिले हर्ने कति अज्ञानी ? त्यो पुरुष भाजु, भाइ, मित्र, आफन्त जो कोही पनि त हुन सक्छ । त्यसो त ऊ पराई नै किन नहोस् ऊसँग हिँड्दैमा, बोल्दैमा नराम्रो हुने हो र ? शायद हुन सक्छ त्यो पुरुष मन नराम्रो नियतको हुँदा, उसले सबै पुरुषलाई नराम्रै देख्ने गर्छ । अनि नारीलाई एउटा भोग्याको रूपले हेर्ने गर्छ । बाटामा भेटिएका नारी पुरुषबीच ऊ वासनाको दृश्य निर्माण गर्छ । त्यस बाहेक अरू दृष्टिले महिला र पुरुषलाई अथ्र्याउन ऊ जान्दैन । कति उदेकलाग्दो कुरा ! उति बेलाको समयमा त्यो एउटा मामुली घटना न हो । जुन कुरा पछि एउटा इतिहास जतिकै हुनेछ । समाजशास्त्र तथा मानव सभ्यता विकासक्रमको अध्ययनमा पछि यस्ता प्रसङ्ग निकै उपयोगी हुनेछन् । जस्तो हेर्नु न ‘करिया’ उपन्यास आज हामीलाई कस्तो अनौठो लागिरहेको छ । उत्तरदायित्व बोधले मान्छेलाई सदा कर्मवादी बनाउँदो रहेछ । सङ्कल्पवान् बनाउँदो रहेछ । यसरी हरेक व्यक्तिमा जिम्मेवारी बोध हुन आवश्यक छ । जसलाई बोध हुँदैन ऊ निस्सारतामा विलीन हुनेछ । हाम्रो परिवेशले छोरी चेलीलाई उत्तरदायी हुने पाठ कहिल्यै सिकाएन । बरु भनिरह्यो, ‘अर्काको घर जाने जात !’ छोरीप्रति अनुदार रहेको पारम्परिक समय; जतिखेर कसैले जिम्मेवारी नदिए पनि आफैँले जिम्मेवारी लिएकी सोलुलाई देख्दा; आँखामा एउटा बहादुरीको दृश्य आउँछ । उनलाई म ‘छोरी’ हुँ, म ‘महिला’ हुँ, म ‘अबला’ हुँ भन्ने कुनै त्यस्तो परिस्थिति आएको छैन । बरु कठोर प्रतिकूलताले उनलाई अरू बढी जिम्मेवारी थपिदिएको छ । बुबा हुनुहुन्छ, बुबा हुनुहुन्न निबन्धमा हेर्नु त उनको त्यो आँट, त्यो साहस, त्यो कर्तव्य कति स्तुत्य छ । उनले त्यस आलेखमा आफ्ना बुबाप्रति जीवन दानको कर्तव्य पूरा गर्न सकेकी छन् । परन्तु समाज त्यो देख्दैन । अध्ययनको लागि घर छोडेर काठमाडौँ आएकोमा बरु उनलाई भनिरहन्छ; मति बिग्रिएकी केटी ! ‘तुइन जिन्दगी’का प्रायः आलेखमा जीवनका तिनै दौडधुपहरू छन्, धपेडी छन्, असुविधा छन्, अव्यवस्था र सङ्कट अनि जटिलताहरू छन् । त्यस्तै केही आलेखहरू एकपछि अर्को शृङ्खलाको निरन्तरतामा रचिएका छन् । एकचोटि, दुईचोटि जतिचोटि पनि हुन सक्छ, हरेक मान्छेको जीवनमा परीक्षणकाल आउँदो रहेछ । हो त्यतिखेर परिस्थितिबाट भाग्यो भने ऊ कदापि उत्तीर्ण नहुँदो रहेछ । अवसर लिएर आएको परीक्षणकाल उसको त्यो अवसर फिर्ता गरी त्यसै फर्किंदो रहेछ । हरेक युगमा व्यक्ति आफू सचेत भयो भने मात्रै ऊ बाँचेको समाज सचेत हुनेछ, त्यस्तै सभ्य पनि । ऊ बाँच्दै आएको परिवेश बदल्न प्रथमतः उसको दृष्टिकोण बदल्नु पर्नेछ । हर कोही व्यक्तिले आफू सचेत हुने जिम्मेवारी लिनुपर्छ । उसको सचेतताको जिम्मेवारी दोस्रो व्यक्तिले किमार्थ लिन सक्दैन । सोलुका निबन्धले ममा एउटा यस्तो ज्ञान आएको छ । सती जाने सौभाग्यमा पनि त्यो ज्ञान छ । तार्किक तथा वैचारिक यस आलेखमा हाम्रा दिदी बहिनीहरूको दृष्टि बदल्ने अभिव्यक्ति छ । भुँडीको मर्म शीर्षक निबन्धमा पनि त्यस्तै प्रखर दृष्टिकोण छ । पुरुषसत्तालाई एउटा कठोर प्रश्न छ । तथापि उत्तर दिन ऊ असमर्थ छ । एउटा पुरुष आफ्नी श्रीमती गर्भिणी भएकोमा कत्रो उत्सव गर्छ । बच्चा जन्माइदिन असमर्थ श्रीमती; उसलाई स्वीकार्य हुँदैन । सन्तानको बाबु हुन पाएकैले मात्र ऊ श्रीमतीप्रति सन्तुष्ट हुन सक्छ । तथापि श्रीमतीका अरू कुनै दायित्वलाई ऊ किञ्चित महत्त्व दिँदैन । उनले सम्हाल्नु परेको जिम्मेवारी कति ठूलो छ ऊ देख्दै देख्दैन । बरु भन्छ, ‘यी आइमाईका पनि कति वटा भुँडी हुन्छन् ! कहिले यो दुख्यो भन्या छ, कहिले त्यो दुख्यो भन्या छ । हैरानै भइसकियो । अफिसको कामप्रति त जिम्मेवारै छैनन् । लौन म्याडम ! यी आइमाईलाई सरुवा गरेर एक जना केटा मान्छे ल्याउनुपर्‍यो यहाँ ! आइमाई त कामै रहेनछ ! कहिले दुई जिउको भन्या छ, कहिले सुत्केरी भन्या छ, कहिले सासू बिरामी, कहिले ससुरा बिरामी, कहिले बच्चा बिरामी, कहिले पाहुना आउने, कहिले बच्चालाई दूध खुवाउन जानु छ भन्ने; यसरी त कसरी चल्छ अफिस ! म त वाक्कै भइसकेँ (पृ–७६) ।’ ऊ आफैँले यसरी देखिरहेको छ महिलाको कति धेरै व्यस्तता । महिलाको कति धेरै जिम्मेवारी । फेरि उही भन्छ, ‘महिलाको कामै छैन !’ उसको यस्तो निर्विवेकी भनाइसँग सवाल गर्दै प्रतिजवाफमा लेखक सोलुको अभिव्यक्ति सम्पूर्ण पुरुषहरूले एकचोटि सुनिदिऊन्, ‘प्रमुखज्यू ! तपाईंको घरमा आइमाई छन् कि छैनन् ? आइमाईको सम्मान गर्न जान्नुहुन्न भने अपमान गर्ने अधिकार कसले दियो तपाईंलाई ? तपाईं पहिला आफ्ना घरका सबै आइमाई सरुवा गर्नुस् र पुरुष ल्याएर घरव्यवहार चलाउनुस् अनि मात्र अफिसका आइमाई सरुवा गर्ने कुरा गर्नुस ! आइमाईको सानो पेट दुख्नु, भुँडी बोक्नु, सुत्केरी हुनु, बच्चालाई समयमा खुवाउनु … हुनुको कारण के स्वयम् आइमाई हो ? के यी आइमाईले बोकेका भुँडी आइमाईका मात्रै हुन् ? परिवारको वंशदेखि राष्ट्रको नागरिक बोकेर हिँडेका आइमाईको भुँडी किन एक्लैएक्लै डराउँदै, लजाउँदै दुख्नुपर्ने ? आइमाईले बोकेका यिनै भुँडीभित्र राष्ट्रप्रमुख, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति या कुनै देशका राजदूत पनि त हुन सक्दैनन् (पृ–७७) ?’ त्यस्तै म छोरी हुँ छोरी शीर्षकमा पुग्दा, ममा अचानक एउटा यस्तो विचार आयो । एक खेप सोची हेरेँ मानव जीवन आफैँमा कति ठूलो उपहार रहेछ । तर मानव हुन पाएकोमा म कहिल्यै कृतज्ञ भएको छैन । एउटा सुन्दर जीवनको प्राप्तिमा सृष्टि कारकप्रति आभारी हुनुपर्ने होइन ? तर निबन्धको प्रसङ्ग यहाँ अर्कै छ । हाम्रो सामाजिक संरचना, संस्कार तथा आदिमताले; छोरीलाई परनिर्भरता र परतन्त्रताको बोध गर्न सिकाउँदै आएको छ । त्यसको विपक्षमा आफू छोरी हुन पाएकोमा लेखक गौरवान्वित हुन्छिन् । महिलाहरूका लागि बनिएका मूल्य मान्यताको अस्वीकार गरी; नर या नारीको विभेददेखि पर एउटा मानिस हुनुको मूल्य स्थापनामा उनी लागेकी छन् । उनले पारम्परिक मान्यता विपरीत आफ्ना बाबुको मृत्यु संस्कार आफैँले सम्पन्न गरेकी छन् । यस घटनाले समाज परिवर्तनको अर्थ बिस्तार गरेको छ । प्रथमतः यसले सदियौँदेखिको सत्यलाई विघटन गरेको छ । नयाँ सत्य जन्माएको छ । त्यस्तै अर्को कुरा के छ भने हाम्रो संस्कारमा जीवनभर बरु कोही नभए पनि हुन्छ । तर आफू मरेपछि पिण्ड पानीका लागि छोरा चाहिँ जन्माउनै पर्छ भन्ने जुन आदिमता छ, त्यसलाई विस्थापित गरिदिएको छ । विशेषतः कुनै पनि जाति सम्प्रदायको शक्ति उसको संस्कार, संस्कृतिमा निर्भर रहेको हुन्छ । त्यसैले समाजलाई निर्देशन गर्दै आएको हुन्छ । अनि स्वीकार्य अस्वीकार्य मान्यता पनि कायम राख्दै आएको देखिन्छ । त्यस्तै छोरा र छोरीलाई हेर्ने दृष्टिकोण, उसको कर्म र दायित्व हाम्रो संस्कार संस्कृतिले नै निर्धारण गरेको हुँदा—त्यो लैङ्गीय विभेद सहजै अन्त्य हुने कुरा होइन । जब हामीले पुरानो संस्कारलाई सच्याउँदै, विनिर्माण गर्दै जान्छौँ, परिमार्जन गर्छौं । हो त्यस खबत बल्ल पुरातन सत्यको जरा मक्किएर नयाँ धारणा बनिन थाल्छ । त्यसकारण परिवर्तित सभ्यता निर्माण गर्न प्रथमतः हाम्रो संस्कार संस्कृतिलाई युगानुकूल बनाउँदै लैजानु पर्छ । यसको अर्थ आफ्नो परम्परा छोड्ने भनेको होइन । संस्करण गर्दै युगोचित बनाउने मात्रै हो । जस्तो एउटा दृष्टान्त हेरौँ, हाम्रो परम्पराले छोराहरूलाई ठेक्का दिएको कर्म जब छोरीहरूले गर्न थाल्छन् । त्यसपछि विभेदको अन्त्य निश्चित छ । अनि समतामूलक समाजले अर्को घुम्ती मोड्ने छ । यसरी नै हरेक युगमा नवीन परिवर्तनहरू आउने गर्छन् । त्यसको लागि कोही न कोही अग्रगामी नायक युगले जन्माउने गर्छ । उता समाज हिजोको निरन्तरता विखण्डित भएकोमा विद्रोह गर्छ । यदि विद्रोह गर्न सकेन भने पनि सङ्कथनलाई सच्याउन ऊ चाहँदैन । बरु भन्छ, ‘तपाईंले छोराकै काम गर्नु भयो । तपाईं छोराभन्दा कम्ती हुनुहुन्न ।’ यस कुराले सोलुलाई खुशी होइन । पीडा दिएको छ, ‘आफ्नो जन्मदाताप्रति गर्नुपर्ने कर्तव्यमा समेत किन यति ठूलो विभेदको खाडल खनिएको होला ? छोरा हुन् कि छोरी, दुवै सन्तान बराबरी होइनन् र ? दुवैले जन्मदाताप्रति जिम्मेवार वा कर्तव्यपरायण हुनु नपर्ने, नपाउने भन्ने पनि न्यायोचित हो र (पृ–८८) ।’ सही कुरा । उनको भनाइ अझ अगाडि कति मार्मिक लाग्छ, ‘छोरी होइन, छोरा रहिछौ अरे ! छोरीले गरेको कामलाई सम्मान गर्ने हो भने जतिसुकै जटिल कर्म गरे पनि ‘यो छोरी नै हो’ भनेर किन गर्वका साथ भन्न नसकेको ? निरीह रूपबाट हेर्दा शालीन, निर्भीक रूपबाट हेर्दा विद्रोही देखिन्छन् हो छोरीहरू (पृ–८९) ?’ बेला बेला मलाई यस्तो लाग्ने गर्छ । हामीले सधैँ पुरुषलाई मात्रै दोषी देख्यौँ । परापूर्व–कालदेखि आजसम्मको सामाजिक संरचना थामेर यहाँसम्म ल्याइपुर्‍याउनुमा; महिलाहरू पनि उतिकै जवाफदेही हुनुपर्छ । उनीहरू हिंसामुक्त हुन्, शोषणमुक्त हुन् स्वयं आदिम चेतबाट मुक्त हुन सक्नुपर्छ । के छोरी, के बुहारी निबन्ध पढेपछि मलाई यस्तै लाग्यो । हाम्रो दृष्टिले नै हामी निर्बन्ध हुन सकिरहेका छैनौँ । आजका नारीले चेतनाको फड्को मार्न तयार हुनुपर्छ । दुखेसो, रोनाधोना जति भयो, भयो । त्यसो गर्ने समय अब बाँकी छैन । अरूले के भन्ला, समाजले के भन्लातिर वास्ता गर्न हामीले छोड्नु पर्छ । त्यस्तै अर्को कुरा एउटी नारी सफल जीवन बाँच्नको लागि, समाजसँग उसको सम्बन्ध जस्तो हुन पनि सक्छ । उसको लागि सिङ्गो जगत् विरोधी भए पनि केही फरक पर्दैन । तर उसका परिवारले अर्थात् परिवारका पुरुषहरूले नारीको मनोभावना बुझेर सम्मान गर्न जान्यो भने नारी कदापि हार्ने छैन । कमाजेर हुने छैन । ऊ आफ्नो उद्देश्यमा सदा विजयी हुनेछे । सम्बन्धका तीन आयाममा लेखक सोलुको यही अनुभव छ । सोलुका यी निबन्धहरू केही न केही तात्पर्यका साथ रचिएका छन् अर्थात् लेखनको अभिप्राय स्पष्ट छन् । टिस्टा अब हाम्रो मामाघर प्रस्तुत आलेखमा शोक तथा सन्तप्त परिस्थितिको उल्लेख भए पनि यसमा एउटा रमाइलो पक्ष छ । कालेम्पुङमा डायास्पोरिक जीवन बाँचेका नेपाली समुदायको एकता र सौहार्दताको दृश्य कस्तो खुशी लाग्दो छ । डायास्पोरिकहरू जहाँ जहाँ पुगे पनि आफ्नो भाषा संस्कृतिलाई कसरी बचाइ राखेका हुँदा रहेछन् । कत्रो प्रेम छ, श्रद्धा छ उनीहरूलाई आफ्नो जातीय पहिचानमा । आफ्नो भाषा संस्कृतिमा । जगत् जहिले पनि विचारमा अडेको हुने रहेछ । विचारले जगत् परिचालित छ । सभ्यताको शुरुवातदेखि यहाँ जति पनि युद्धहरू भए । आखिर ती विचारका युद्धहरू न थिए । जब आपसमा विचारले द्वन्द्वको रूप लिन्छ तब हुन थाल्छ भौतिक लडाइँ । वास्तवमा भन्ने हो भने हामीले विचारको शक्तिलाई बुझेकै रहेनछौँ । त्यसैले हाम्रा विचारहरू फितला छन् । कहिलेकाहीँ स्वार्थ लिप्त हुँदा हामी आफ्नै विचार खण्डन गर्न पनि पछि हच्किदैनौँ । हाम्रो देश, हाम्रो राजनीति त्यही कारण दुर्बल भइरहेछ । अस्थिर भइरहेछ । त्यसो हुँदा हामीले सोच्नु पर्छ कि आफ्नो धारणा स्पष्ट छ कि छैन ? आफू व्यापक हुनुछ, सशक्त हुनुछ भने प्रथमतः हामीले आफ्नो दृष्टिकोणलाई सबल पार्नुपर्छ । दृष्टि विशाल गर्नूस् अनि त दृश्य आफैँ फैलिने छ । म नारीवादी भन्ने लेखमा सोलुको यस्तै केही अभिव्यक्ति छ । उनी भन्छिन्—यो अन्यायको आवाज भनेर जान्न पनि विचार र विवेक फराकिलो हुनुपर्ने रहेछ । साहित्यकार सोलुको सिर्जनामा नारी र पुरुषको प्रसङ्ग प्रायः आइनै रहन्छन् । अन्याय विरुद्ध बोल्ने तथा महिला हकहितका कुरा ज्यादा गर्ने हुँदा उनलाई नारीवादी आक्षेप लगाइन्छ । आखिर न्यायको पक्षमा बोल्दा कहीँ नारीवादी, पुरुषवादी भन्ने पनि हुन्छ ? आफूलाई नारीवादीको ताज लगाइदिएकोमा लेखक त्यसको विरोध होइन बरु खुशीका साथ भन्छिन्, ‘नारीले नारीको हितमा बोल्नु नारीवादी हुनु हो भने म गर्वका साथ भन्छु—हो, म नारीवादी (पृ–१४४) ।’ बारम्बार अघिदेखि आइरहेको कुरा फेरि पनि सन्दर्भमा अन्तिम पटक बोल्न खोज्दै छु । पुनः उही कुरा म किन आवृत्ति गर्दैछु भने, अब हामीले लाठीमुङ्ग्रीको होइन, विचारको क्रान्ति गर्नु पर्ने समय आएको छ । मानिसले जति नै समृद्धिको उत्कर्षता भोगे पनि उसको विचारमा सकारात्कता छैन भने ऊ कदापि सभ्य हुन सक्दैन । शङ्काको आगो शीर्षकमा ठीक यही कुरा छ । एउटा पुरुष विधावारिधिको लागि विदेशको भूमिमा बस्दै आएको छ । यता स्वदेशमा रहेकी आफ्नी श्रीमतीप्रति ऊ बित्थामा सन्देह गरिरहन्छ । त्यसो हो भने उसको पीएचडीको के अर्थ ? जब कि उसको सोचाइमा साक्षरता छैन भने । साँच्चै भन्ने हो भने हामी प्रमाणपत्रमा मात्रै शिक्षित छौँ । व्यवहारमा निरक्षर भएपछि शिक्षा लिनु नलिनुको पनि के अर्थ ? एकदम इमानदार भएर भन्नु पर्दा मैले यस अघि सोलुलाई पढेको थिइनँ । साहित्य मार्फत् प्रथम पटक मैले उनलाई चिन्न सकेँ । जनजीवनको वास्तविकता नजिक रहेको उनको लेखन सरल छ । बोधगम्य छ । पाठक मनलाई चित्त बुझ्ने राय तथा समाज परिवर्तनको स्वर स्वीकार्य छ । आर्दशपूर्ण तार्किता होइन व्यावहारिकताले कृति पठनीय छ । स्वयं लेखकको जीवन नारीहरूको लागि एउटा प्रेरणास्रोत बनेको छ । अन्त्यमा म यति भन्न चाहन्छु ‘तुइन जिन्दगी’ नपढ्दा त्यस्तो ठूलो कुरा केही छुट्ने छैन । नवीन प्रयोग र वैचारिकता पनि छुट्ने छैन । तर छुट्ने छ एउटा सुन्दर जीवन निर्माण गर्ने हौसला, उत्साह र प्रेरणा । The post सङ्घर्षकै निम्ति प्राप्त संयोगहरू appeared first on साहित्यपोस्ट.