टिकटकको कल्भर सिटी मुख्यालयमा धम्की दिएपछि एक व्यक्ति पक्राउ - www.technologykhabar.com
लस एन्जलस नजिक रहेको टिकटकको मुख्यालयमा शुक्रबार धम्कीपूर्ण सन्देशपछि खाली गरिएपछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। कल्भर सिटी प्रहरी विभागले जारी गरेको विज्ञप्तिअनुसार टिकटकका कर्मचारीहरूले ३३ वर्षीय हर्थोर्नका जोसेफ मायुयो नामका व्यक्तिबाट विभिन्न सामाजिक सञ्जालमार्फत धेरै धम्कीपूर्ण सन्देश प्राप्त गरेको रिपोर्ट दिएका थिए। त्यसपछि टिकटकको कल्भर सिटी मुख्यालयलाई लक्षित अर्को सन्देश आएपछि कम्पनीको सुरक्षा टोलीले “सावधानीका लागि” भवन खाली गराएको थियो। टेकक्रञ्चका अनुसार प्रहरीले मायुयोको घरमा अनुसन्धान गर्दा उनले थप धम्कीपूर्ण सन्देशहरू पोस्ट गरेका थिए, जसमा उनले आफूलाई “जिउँदै पक्राउ गर्न नदिने” उल्लेख गरेका थिए। प्रहरीले सर्च र गिरफ्तारी वारेन्ट प्राप्त गरी करिब ९० मिनेट वार्तापछि मायुयो स्वेच्छाले घरबाट बाहिर निस्किए र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिजनेस इनसाइडरका अनुसार एक टिकटक कर्मचारीले ती धम्कीलाई “एकदम डर लाग्दा” भनेका छन् भने अर्को कर्मचारीले ती सन्देशहरू विशेष गरी ई–कमर्स विभागलाई लक्षित गरेको आशंका व्यक्त गरेका छन्। मायुयोको एक्स (पूर्व ट्विटर) खाता घृणास्पद सामग्री नीतिलाई उल्लङ्घन गरेको आरोपमा निलम्बन गरिएको छ। उनका नाममा रहेको मिडियम खाताबाट गत जुलाईमा प्रकाशित एक लेखमा उनले टिकटकशप यूएसएलाई “ठगी” भन्दै आलोचना गरेका थिए। टेकक्रन्चले टिकटकसँग यसबारे प्रतिक्रिया मागेको छ। विज्ञप्तिमा प्रहरीले टिकटकको सुरक्षा टोलीको “छिटो प्रतिक्रिया र सहकार्य” को प्रशंसा गरेको छ। यो गिरफ्तारी त्यस्तो समयमा भएको हो जब टिकटकको अमेरिकी शाखा चिनियाँ मालिक बाइटडान्सबाट अलग हुँदै नयाँ सञ्चालक मण्डलसहितको संयुक्त उद्यमका रूपमा पुनर्संरचना हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि यस सम्झौताबारे चर्चा गर्दै आएका छन् र हालै उनले उक्त बिक्री स्वीकृत गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। The post टिकटकको कल्भर सिटी मुख्यालयमा धम्की दिएपछि एक व्यक्ति पक्राउ appeared first on Technology Khabar.