Redirecting...

उपसचिव नगरपालिका नगएपछि अब शाखा अधिकृत नै प्रमुख प्रशासकीय अधिकृत - www.palikalive.com

उपसचिव नगरपालिका नगएपछि अब शाखा अधिकृत नै प्रमुख प्रशासकीय अधिकृत - www.palikalive.com
Source: plkl

काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने नयाँ ढाँचा अपनाएको छ। दरबन्दीअनुसार उपसचिव पठाउने चलन रहे पनि धेरैजसो अधिकारीहरू तोकिएको स्थानमा जान नमान्दा मन्त्रालयले वैकल्पिक व्यवस्था निकाल्दै शाखा अधिकृतलाई नै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न थालेको हो। मन्त्रालयमा चन्द्रकला पौडेल सचिवका रूपमा आएपछि यो प्रक्रियाले थप गति पाएको छ। यसअघि धेरै नगरपालिकामा शाखा अधिकृतलाई ‘निमित्त’ प्रमुख प्रशासकीय अधिकृतको रूपमा मात्र जिम्मेवारी दिइँदै आएको थियो। तर अब निमित्त प्रणालीलाई अन्त्य गर्दै पूर्ण जिम्मेवारीसहित शाखा अधिकृतलाई खटाउने मन्त्रालयले तयारी गरेको हो । बुधवार मात्रै मन्त्रालयले १८ जना शाखा अधिकृतहरूको सरुवा गरेको थियो, जसमा ४ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएर खटाइएको छ। यामुनामाई गाउँपालिकाका सुशील कुमार साहलाई बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ। त्यस्तै, भूमि व्यवस्थापन मन्त्रालयअन्तर्गत कार्यरत सञ्जीव साहलाई हरिपुर नगरपालिका (सर्लाही), सुनिल पौडेललाई पाख्रिवास नगरपालिका र दीपेश कुमार झालाई शम्भुनाथ नगरपालिका पठाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थानीय तहका संरचनामा सहसचिव, उपसचिव र शाखा अधिकृत खटाउने नीति अवलम्बन गर्दै आएको छ। तर धेरैजसो स्थानीय तहमा दरबन्दीअनुसारका उपसचिव कार्यरत नहुँदा वर्षौंदेखि वरिष्ठ कर्मचारीमार्फत निमित्तको भरमा प्रशासनिक कामकाज चलाइँदै आएको थियो। सो व्यवस्थाले दीर्घकालीन समाधान नदिने देखिएपछि आजभोलि १० वर्ष अनुभव भएका शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालय हो । समायोजनका क्रममा आएका स्थानीय तहका कर्मचारीलाई फेरि निमित्त बनाउने प्रचलन रोक्न मन्त्रालयले लिएको यस कदमलाई स्थानीय निकायहरूमा प्रशासनिक स्थायित्व ल्याउने प्रयासका रूपमा हेरिएको छ। के असर पर्छ? स्थानीय तहका विज्ञहरूका अनुसार यो व्यवस्थाले वित्तीय सुशासन र प्रशासनिक पारदर्शितामा सकारात्मक असर पार्न सक्छ। अनुभव भएका शाखा अधिकृतले बजेट कार्यान्वयन, खर्च अनुगमन र आन्तरिक नियन्त्रणमा दक्षता देखाउन सक्ने भएकाले अनियमितता कम हुने सम्भावना छ। यसले नगरपालिकामा निर्णय प्रक्रियामा ढिलाइ घटाउने, परियोजना कार्यान्वयनमा निरन्तरता ल्याउने र आर्थिक स्रोतको प्रभावकारी प्रयोग सुनिश्चित गर्ने सम्भावना पनि बढाउँछ। तर केही चुनौतीहरू पनि छन्। उपसचिवको पदअनुसार आवश्यक उच्च स्तरको अनुभव नभएका शाखा अधिकृतले ठुला बजेट र जटिल वित्तीय निर्णयको सामना गर्नुपर्ने हुन सक्छ। यसले प्रारम्भिक चरणमा निर्णय गुणस्तरमा प्रभाव पार्न सक्छ भने राजनीतिक दबाबमा पर्ने जोखिम पनि बढ्न सक्छ। स्थानीय तहका कर्मचारीहरूले आफ्नो अधिकार र जिम्मेवारीसँग मेल खाने तालिम र निगरानी नपाएमा अनियमितता र प्रशासनिक कमजोरीको जोखिम रहन्छ। स्थानीय सरकारका अधिकारीहरूले कदमलाई दीर्घकालीन प्रशासनिक स्थायित्व ल्याउने उपायको रूपमा मूल्यांकन गरेका छन्। रिक्त पदका कारण रोकिएका योजनाहरू अघि बढाउन सहज हुने र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ। वित्तीय विज्ञहरूले भने शाखा अधिकृतको अनुभव र क्षमतामा भर पर्छ र सफल कार्यान्वयनका लागि पर्याप्त तालिम, निगरानी र आन्तरिक अडिट अनिवार्य रहेको बताएका छन्। The post उपसचिव नगरपालिका नगएपछि अब शाखा अधिकृत नै प्रमुख प्रशासकीय अधिकृत appeared first on Palika Live.