एआई कम्पनीहरुका सुरक्षात्मक पहल वैश्विक स्तरको नभएको अध्ययनको दावी - www.technologykhabar.com
एन्थ्रोपिक, ओपनएआई, एक्सएआई र मेटाजस्ताठूला कृत्रिम बुद्धिमत्ता कम्पनीहरूका सुरक्षा अभ्यासहरू उदीयमान विश्वस्तरीय मापदण्डभन्दा निकै तल रहेको नयाँ प्रतिवेदनले जनाएको छ। फ्युचर अफ लाइफ इन्स्टिच्युटको एआई सेफ्टी इन्डेक्सको नयाँ संस्करण बुधबार सार्वजनिक गरिएको हो। संस्थाले जनाएको अनुसार स्वतन्त्र विज्ञ प्यानलले गरेको मूल्यांकनले यी कम्पनीहरू सुपरइण्टेलिजेन्स विकासको दौडमा व्यस्त भए पनि त्यस्ता उन्नत प्रणालीलाई नियन्त्रण गर्ने स्पष्ट रणनीति कसैसँग नभएको देखायो। मानिसभन्दा बढी तर्क र विचार गर्न सक्ने प्रणालीहरूले समाजमा पार्न सक्ने असरबारे सार्वजनिक चिन्ता बढिरहेका बेला यो अध्ययन आएको हो। केही आत्महत्या र आत्महानीका घटनाहरू एआई च्याटबोटसँग सम्बन्धित देखिएका छन्। “एआईमार्फत ह्याकिङ, मानिसलाई मनोवैज्ञानिक समस्या र आत्महानीतर्फ धकेलेको विवाद बढिरहेको भए पनि अमेरिकास्थित एआई कम्पनीहरू रेस्टुरेन्टभन्दा पनि कम नियमनमा छन् र बाध्यकारी सुरक्षा मापदण्डविरुद्ध लबिंग गरिरहेछन्,”फ्युचर अफ लाइफका अध्यक्ष तथा एमआईटीका प्राध्यापक म्याक्स टेगमार्कले भने। रोयटर्सका अनुसार एआई प्रतिस्पर्धा सुस्त हुने कुनै संकेत छैन, ठूलो प्राविधिक कम्पनीहरूले आफ्नो मशीन लर्निङ क्षमता विस्तार र सुधार गर्न सयौँ अर्ब डलर प्रतिबद्ध गरिरहेका छन्। फ्युचर अफ लाइफ इन्स्टिच्युट एउटा गैर–नाफामुखी संस्था हो जसले मानवताका लागि बुद्धिमान मेसिनहरूले ल्याउन सक्ने जोखिमबारे चासो उठाउँदै आएको छ। सन् २०१४ मा स्थापना भएको यस संस्थालाई टेस्ला सीइओ एलन मस्कले सुरुमा समर्थन गरेका थिए। अक्टोबरमा वैज्ञानिक ज्योफ्री हिन्टन र योशुआ बेन्जियोलगायतको समूहले सार्वजनिक माग र सुरक्षित मार्ग विज्ञानले तय नगरेसम्म सुपरइण्टेलिजेन्ट एआई विकासमा प्रतिबन्ध लगाउन आह्वान गरेको थियो। The post एआई कम्पनीहरुका सुरक्षात्मक पहल वैश्विक स्तरको नभएको अध्ययनको दावी appeared first on Technology Khabar.