Redirecting...

एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन स्तब्ध - kendrabindu.com

एनपीएलमा सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन स्तब्ध - kendrabindu.com
Source: kend

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले स्तब्ध पारेको हो । सुदूरपश्चिमले दिएको १७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा चितवन १७.१ ओभरमा अलआउट हुँदै १२० रनमै समेटियो । चितवनका लागि विदेशी खेलाडी रवि बोपाराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, देव खनालले २८ रन र ओपनर डाविड मलानले १६ रन जोडेका थिए। तर, मध्यक्रममा अन्य कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन्। सुदूरपश्चिम रोयल्सका लागि पुनित मेहराले किफायती बलिङ गर्दै ३ महत्त्वपूर्ण विकेट लिए। यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनभ बोहोरा, इशान पाण्डेले समान १-१ विकेट लिए। स्कट कुगेलेइन र हरमीत सिंह भने विकेटविहीन रहे। त्यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ४ विकेटको क्षतिमा १६९ रन बनाएकाे थियाे । सुदूरपश्चिमको इनिङ्ग्समा स्टार ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट प्रदर्शन गरे। सुदूरपश्चिमको स्कोरलाई उकास्नका लागि क्रिस लिनले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। उनले मात्र ५६ बल मा ५ चौका र ३ छक्का को मद्दतले ७५ रनको सानदार पारी खेले। यद्यपि, उनी चोटका कारण रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिन बाध्य भए। लिन रिटायर्ड हर्ट भएपछि इनिङ्ग्सलाई बलियो अन्त्य दिनका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले महत्वपूर्ण साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले १४ बलमा २ छक्कासहित २४ रन जाेडे भने आरिफ शेख १६ बलमा २ चौका र १ छक्काको सहायताले २४ रनमा नटआउट रहे। त्यसअघि ओपनर विनोद भण्डारीले पनि १७ बलमा २१ रन जोडेका थिए। चितवन राइनोजका लागि सैफ जैबले २ विकेट लिएका थिए । लगातार छैटौं जित निकालेको शीर्ष स्थानको सुदूरपश्चिमले १२ अंक जोडेको छ। सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । यसअघि आजै काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान बनाएको थियो। यससँगै सुदूरपश्चिम, काठमान्डु र विराटनगर गरी तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन्।