कांग्रेस विवाद झडपमा परिणत - ehimalayatimes.com
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन बारेको विवाद द्वन्द्वमा परिणत हुन थालेको छ । गत शुक्रबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गर्नेगरी कार्यतालिका परिमार्जन गरेपछि विशेष महाधिवेशन पक्षधरहरू आक्रामक बन्न थालेका छन् । मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन पुगेका नेताहरूलाई विशेष महाधिवेशन पक्षधरहरूले पार्टी कार्यालय प्रवेशको क्रममा अवरोध गरेका छन् । पार्टी कार्यालयबाहिर प्रदर्शन गरेर विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका हुन् । उनीहरूले पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरेका छन् । यसक्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझसमेत भएको छ । कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरेका थिए । निधिमाथि दुर्व्यवहारनेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूले पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि दुव्र्यवहार गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन जाने क्रममा निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा विशेष महाधिवेशन पक्षधरहरूले अवरोध गरेका हुन् । प्रदर्शनकारीहरूले निधिलाई घेरेर पार्टी कार्यालयमा नाराबाजीसमेत गरेका थिए । विशेष महाधिवेशनलाई अवरोध गरेको भन्दै उनीहरूले निधिमाथि खनिएका हुन् । त्यसपछि निधिसमेत उनीहरूको प्रतिवादमा उत्रिनुभएको थियो । कार्यसम्पादन समितिको बैठकमा भाग लिन जाँदै गर्नुभएका निधिलाई पूर्वपट्टिको गेटबाट भित्र पस्नासाथ कार्यकर्ताले घेरेका थिए । प्रहरीले असन्तुष्ट कार्यकर्ताहरूलाई अघि बढ्न रोकेपछि धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो । त्यसक्रममा निधि र प्रदर्शनकारीबीच भनाभनसमेत भएको थियो । सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा दुई पक्षबीच चर्काचर्की परेको देखिन्छ । भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ । विशेष पक्षधर कार्यकर्ताको माझबाट ‘तपाईं चैँ को हो ?’ भन्ने आवाज सुनिन्छ । निधि पार्टी कार्यालयतर्फ गइसकेपछि होहल्लाका बीच ‘ओई, आइजा’, ‘तेरो घर…’आदि स्वर सुनिन्छ । पार्टीमा निधिसहितको समूह कुनै पनि हालतमा विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ । निधिको प्रतिक्रिया- ‘विशेष महाधिवेशनवाला होइन, गुण्डागर्दी समूहले बाटो छेक्यो’पार्टी पूर्व-उपसभापतिसमेत रहनुभएका नेता निधिले आफू पार्टी कार्यालय प्रवेश गर्ने क्रममा गुण्डागर्दी गर्ने व्यक्तिहरूले दुव्र्यवहार र अवरोध गरेको बताउनुभएको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि मंगलबार पार्टी कार्यालय जानेक्रममा विशेष महाधिवेशन पक्षधरले अवरोध गरेपछि प्रतिक्रिया दिँदै निधिले भन्नुभयो, ‘त्यहाँ विशेष हैन, गुण्डागर्दी गर्ने समूह आएको थियो । म आउँदा गाडी लक थियो । गाडीबाट ओर्लेपछि दुई/चारजना केटाले बाटो छेके, म चिन्दिनँ । मलाई बाटो देऊ भनेपछि विशेष महाधिवेशन गर, म भोटर हो भने । म विशेष पक्षधर होइन भने । अनि को हो ? भनेर सोधेँ । उनीहरू कांग्रेसी हैन रहेछन् । मुखबाट रक्सी गन्हाएको थियो । को हो थाहा भएन ।’ आफूले मधु आचार्यसहितका विशेष महाधिवेशन पक्षधरले कार्यालय घेर्ने कुरा सुने पनि त्यहाँ अरू नै व्यक्ति रहेको उहाँको भनाइ छ । कार्यसम्पादन समितिको बैठकमा प्रवेश गर्न खोज्दा आफूमाथि दुव्यर्वहारसमेत भएको जानकारी दिँदै निधिले भन्नुभयो, ‘पार्टी कार्यालयको पूर्वपट्टिको बाहिर गेटमा घेरेर बसेका थिए । मलाई घेरेर गाडी जान दिएनन् । हिँडेर भित्र पस्न लाग्दा चारैतिर घेरे । गाडीको हुटमा टाँसिएर मलाई गाली गर्न थाले । डराउने कुरा भएन । तीमध्ये कसैले नुवाकोटको भन्थे । मैले तँ को होस् ? यस्तो बोल्ने कांग्रेस हुन सक्दैनन् ।’ विशेष महाधिवेशनको कुरा भए शान्त वातावरणमा कुरा गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तर एकैचोटि विमलेन्द्र निधि मूर्दावाद भन्दै नानाभाँती बोल्न थाले ।’ विशेष महाधिवेशन पक्षधर नेताहरूले भने विज्ञप्ति निकालेर पार्टी केन्द्रीय कार्यालयमा आफूहरूको कुनै पनि कार्यक्रम नभएको जानकारी गराएका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस विशेष महाविधेशनको पक्षधरहरूको पार्टी कार्यालयमा कुनै पनि गतिविधि र कार्यक्रम नरहेको व्यहोरा सर्वसाधारण सम्पूर्णमा जानकारी गराउन चाहन्छौँ ।’ विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै औपचारिक कार्यक्रम नरहेको र विशेष पक्षधरले सानेपा घेराउ नगरेको जिकिर गर्दै भन्नुभएको छ, ‘कसैले आफ्नो हिसाबले स्वःस्फूर्त व्यक्तिले गर्ने कुराको छुट्टै विषय होला । तर, विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै त्यस्तो कार्यक्रम छैन ।’ नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा तीन महिना पुग्दै छ । कम्तीमा ४० प्रतिशत प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था कांग्रेसको विधानमा छ । तर, संस्थापन पक्ष बलियो रहेको केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख २८–३१ मा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याइसकेको छ । यता, विशेष महाधिवेशन पक्षधरहरू भने यही पुस २७ र २८ का लागि हल बुकसमेत गरेर तयारीमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधरले बनाए विभिन्न समितिकांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । उक्त समूहले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । विशेष महाधिवेशन पक्षधरको मंगलबार बसेको बैठकले समितिहरू गठन गरेको जानकारी दिँदै नेता मनोजमणि आचार्यले भन्नुभयो, ‘विभिन्न जिम्मेवारी बाँडफाँट गरेका छौँ ।’ विशेष पक्षधर समूहले आवास तथा भोजनालय समितिको जिम्मा कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलालाई दिएको छ । यस्तै, भ्रातृ, शुभेच्छुक युवा परिचालनको जिम्मा केन्द्रीय सदस्य प्रतिमा गौतम र जनपरिचालन समिति संयोजकको जिम्मा नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलाई दिइएको छ । स्वयंसेवक परिचालन समितिको जिम्मेवारी मनीष कोइराला र यातायात व्यवस्थापनमा माधव ढकालले पाएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधिमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ । विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार पत्रकार सम्मेलन गरी पार्टी कार्यालयमा भएको घटनाको जिम्मेवारी आफूहरूले नलिने बताएका हुन् । पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतःस्फूर्त भएको बताउनुभयो । आफूहरूले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गर्नुभयो । विशेष महाधिवेशनको औचित्य छैन भन्न मिल्दैन : डा. संग्रौलाकांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले विशेष महाधिवेशन विधानअनुसार माग भएकाले यसको औचित्य छैन भन्न नमिल्ने जिकिर गर्नुभएको छ । पार्टीभित्र देखापरेको विवादलाई समाधान गरेर जानुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन विधानअनुसार माग भएको हो । यसको औचित्य छैन भन्न मिल्दैन । चुनाव आएको छ, नेतृत्व अधिवेशन गर्न नसके पनि संकल्प वा नीति अधिवेशनमा रूपान्तरण गर्न सकिन्छ । पार्टीभित्र एकता हुनुपर्छ, वैकल्पिक शक्ति आउने तर कांग्रेस कमजोर हुने कुरा कुनै हालतमा हुनु हुँदैन । पार्टीभित्रका विवाद समाधान गर्नुपर्छ भनेर हामीले शीर्ष नेताहरूलाई भेटेर भनिरहेका हौँ ।’ सहमतिका आधारमा विशेष महाधिवेशन बोलाउनुपर्छ : डा. कोइरालाकांग्रेस नेता डा. शेखर कोइरालाले सहमतिकै आधारमा विशेष महाधिवेशन बोलाउनुपर्ने बताउनुभएको छ । सभापति शेरबहादुर देउवानिकट ३० केन्द्रीय सदस्यहरूसँग मंगलबार बिहान सम्पर्क कार्यालय विशालनगरमा कुराकानी गर्दै कोइरालाले सहमतिकै आधारमा विशेष महाधिवेशन बोलाउनुपर्ने बताउनुभएको हो । डा. कोइरालाले भन्नुभयो, ‘सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार टुंगो लगाउनुपर्ने बेला छ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरी माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ ।’