Redirecting...

जित्नेको मात्र होइन, हार्नेको पनि इतिहास हुन्छ: मोहन मैनाली - sahityapost.com

जित्नेको मात्र होइन, हार्नेको पनि इतिहास हुन्छ: मोहन मैनाली - sahityapost.com
Source: shpt

काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले अमेरिकामा रहेर पनि निरन्तर लेखनमा सक्रिय रहँदै आएको बताउनुभएकाे छ । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित ‘किताब जात्रा’को दोस्रो दिन शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले जहाँ बसे पनि देशका लागि योगदान दिन सकिने र आफ्नै आत्मसन्तुष्टिको क्षेत्र लेखन भएकाले आफू यसमै निरन्तर लागेको उल्लेख गर्नुभयाे । लेखनलाई दुःखको साथीका रूपमा चित्रण गर्दै निहारिकाले लेख्ने–पढ्ने मानिस कहिल्यै एक्लो नहुने अनुभव सुनाउनुभयाे । लेखन र पठनलाई जीवनको सहयात्री बनाउँदा आएका हरेक दुःखबाट आफू उठ्न सफल भएको बताउँदै उहाँले किताबलाई ‘मिठो भोजन’ जस्तै लाग्ने धारणा राख्नुभयाे । कार्यक्रममा ऐतिहासिक आख्यान र गैरआख्यान विषयमा निलम कार्की निहारिका र मदन पुरस्कार विजेता लेखक मोहन मैनालीसँग विराट अनुपमले संवाद गर्नुभएकाे थियाे । सो अवसरमा निहारिकाले १७ वर्षकै उमेरमा उपन्यास लेख्न थालेको र उपन्यास लेखन नै आफ्नो रुचिको क्षेत्र भएको बताउनुभयाे । हाल ‘राजमाता’ नामक उपन्यास बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिँदै उहाँले योगमाया दाहाल यज्ञ निधिबाट प्रेरणा पाउँदै तथा आमाको सुझावअनुसार २०१८ सालदेखि खोज–अनुसन्धानका आधारमा उक्त उपन्यास लेख्न थालेको सुनाउनुभयाे । अनुसन्धानका क्रममा भोग्नुपर्ने भौतिक दुःखलाई सामान्य रूपमा लिने गरेको भए पनि कहिलेकाहीँ सामग्री संकलनमा धेरै समय र श्रम खर्च गर्दा पनि अपेक्षित उपलब्धि नआउँदा निराशा उत्पन्न हुने उहाँले बताउनुभयाे । पछिल्लो समय आफू अनुसन्धानमूलक आख्यानतर्फ केन्द्रित रहेको उल्लेख गर्दै ‘राजमाता’पछि के लेख्ने भन्ने विषयमा हाल कुनै निश्चित योजना नबनाएको स्पष्ट पार्नुभयाे । यस्तै, लेखक तथा मदन पुरस्कार विजेता मोहन मैनालीले आफ्नो कृति ‘मुकाम रणमैदान’ लेख्न सामग्री संकलनमा निकै मिहिनेत गर्नुपरेको अनुभव सुनाउनुभयाे । उक्त कृतिको सन्दर्भमा बोल्दै उहाँले कुनै लडाइँ हार्दा पनि त्यहाँ बहादुरी हुन सक्ने र जित्दा पनि बहादुरी नहुन सक्ने तथ्य प्रस्तुत गर्नुभयाे । ‘इतिहास जित्नेको मात्र हुँदैन,’ उहाँले भन्नुभयाे, ‘हारभित्र पनि साहस र बलिदानका कथा हुन्छन्।’ कार्यक्रमले ऐतिहासिक आख्यान र गैरआख्यानमार्फत इतिहासका भित्री पाटालाई उजागर गर्ने लेखकहरूको दृष्टिकोण र लेखन यात्रालाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको सहभागीहरूले बताउनुभएकाे थियाे । The post जित्नेको मात्र होइन, हार्नेको पनि इतिहास हुन्छ: मोहन मैनाली appeared first on साहित्यपोस्ट.