धन र बल विना सर्वाधिक भोट ल्याएर जित्ने मै हुँ: प्रधानमन्त्री - nagariknews.nagariknetwork.com
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विगतका निर्वाचनहरूमा धन र बलको प्रयोग नगरी, स्वच्छ प्रतिस्पर्धाबाटै देशमा सर्वाधिक मत ल्याएर विजयी भएको दाबी गरेका छन्।उनले निर्वाचन महँगो र भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आफ्नो राजनीतिक निष्ठामाथि कसैले प्रश्न उठाउन नसक्ने तर्क प्रस्तुत गरे।आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन ईतिहास’ नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चुनावी अनुभव र लोकतान्त्रिक प्रणालीबारे धारणा राखेका थिए।आफ्नो चुनावी यात्राको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विगतका दुईवटा आम निर्वाचनमा सर्वाधिक भोट ल्याएर नेपालमा जितेको सांसद मै हुँ। कुनै प्रकारको अस्वस्थ तरिका अपनाएर होइन, कतै बुथ कब्जा नगरी, कतै कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी स्वच्छ तरिकाले जनताले भोट दिएर जितेको हुँ।’ उनले थपे, ‘न बल प्रयोग, न धन प्रयोग। यो कुरा म सञ्चारमाध्यममा लाइभ गइरहेको बेला भनिरहेको छु, कसैले असत्य प्रमाणित गर्न सक्छ भने गरोस्।’आफ्नो पहिलो निर्वाचनको अनुभव सुनाउँदै उनले २०४८ सालको चुनावमा आफ्ना साथीहरूले चन्दा उठाएर जम्मा ४३ हजार रुपैयाँ खर्च भएको र त्यसमध्येबाट पनि १० हजार रुपैयाँ पार्टी कोषमा बचत भएको रोचक तथ्य प्रस्तुत गरे।उनले भने, ‘चुनाव सकिएपछि एक कप चिया पनि नखुवाएको भनेर साथीहरूले गुनासो गर्दा मैले पार्टीले दिएको २०० रुपैयाँबाट बचेको २० रुपैयाँले चिया खुवाएको थिएँ। त्यसरी पनि चुनाव लडिन्छ र जितिन्छ।’प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा समस्या नभई त्यसलाई सञ्चालन गर्ने पात्रहरूको नियत र व्यवहारमा समस्या रहेको बताए। उनले भने, ‘हामी संविधान वा प्रणालीलाई दोष दिन सक्दैनौँ। समस्या प्रणालीभित्रका ऐंजेरुहरू (खराब तत्व) मा छ।’निर्वाचनमा पराजित हुने डरले र अलोकतान्त्रिक सोच भएकाहरूले नै प्रणालीलाई कमजोर बनाउन खोज्ने उनको भनाइ थियो।सरकार शासक नभई जनताको सेवक र व्यवस्थापक भएकोमा जोड दिँदै उनले सरकार जनताप्रति उत्तरदायी मात्र नभई जिम्मेवार हुनुपर्ने बताए। उनले भने, ‘सरकारले देशमा सुशासन, शान्ति-सुरक्षा र विकासको प्रत्याभूति गर्नुपर्छ। त्यो हाम्रो जिम्मेवारी हो।’कार्यक्रममा उनले लेखक सूर्यप्रसाद श्रेष्ठलाई ८८ वर्षको उमेरमा पनि यस्तो गहन र ऐतिहासिक पुस्तक लेखेर नेपाली समाजलाई ऋण लगाएको भन्दै उनको योगदानको प्रशंसा गरेका थिए।