नेपाल हुँदै रुसी महिला भागेको घटनाले भारतमा हंगामा, प्रहरीमाथि अदालत खनियो - nagariknews.nagariknetwork.com
भारतको राजधानी दिल्लीबाट एक रोचक घटना बाहिर आएको छ। दिल्ली प्रहरीलाई झुक्काएर एक रुसी महिला भागेकी छन्। उनले भाग्न नेपालको बाटो रोजेको पाइएको छ। रुसी महिलाले आफ्नो ५ वर्षीय छोरालाई पनि साथमा लिएर गएकी छन्। यो मुद्दा भारतको सर्वोच्च अदालतमा उठाइएको छ, जसमा दिल्ली प्रहरीको कडा आलोचना गरिएको छ।सर्वोच्च अदालतले दिल्ली प्रहरीको असफलताका कारण भिक्टोरिया बसु नामकी रुसी महिला आफ्नो पाँच वर्षीय बच्चासहित भारतबाट भाग्न सफल भएको बताएको छ। अदालतले यदि दिल्ली प्रहरीले समयमै कारबाही गरेको भए महिलालाई रोक्न सकिन्थ्यो भन्ने तर्क गरेको छ। यो घटना बच्चाको हिरासतसम्बन्धी चलिरहेको मुद्दामा अदालतको आदेशको उल्लंघन थियो। बच्चाको बुबा भारतीय थिए र उनी मुद्दाको पक्ष थिए। बच्चाको कस्टडीबारे दुईबिच विवाद थियो।सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्त र जयमाल्या बागचीको इजलासले दिल्ली प्रहरीले पेस गरेको स्थिति प्रतिवेदन र गृह मन्त्रालयले पेस गरेको पत्रको समीक्षा गरेपछि यो आदेश दिएको हो। सर्वोच्च अदालतले यो घटना दिल्ली प्रहरीको असफलताका कारण भएको बताएको छ, जसले २२ मे २०२५ को अदालतको आदेशको पालना गर्न सकेन। अदालतले भनेको छ, ‘सुरुमा हामी यो भन्न बाध्य छौँ कि निवेदकले बच्चा लगेको यो घटना दिल्ली प्रहरीको ठुलो लापरबाही र हाम्रा निर्देशनहरूको पालना गर्न असफल भएको स्पष्ट कारण हो।’अदालतले प्रहरीले निगरानी राख्न असफल भएको बताउँदै जुलाई ७ मा महिला आफ्नो बच्चासहित घरबाट निस्किएको बताएको छ। बच्चाको बुबाले पनि उजुरी दर्ता गरेका थिए, तर प्रहरीले तत्काल कुनै कारबाही गरेन। सिसिटिभी फुटेजले दिउँसो ३ बजेतिर पछाडिको ढोकाबाट महिला बच्चासहित घरबाट निस्किएको देखाएको छ।सुनुवाइको क्रममा न्यायाधीश सूर्य कान्तले टिप्पणी गर्दै दिल्ली प्रहरीले के गरिरहेको थियो भनेर सोधेका छन्। उनले स्थानीय प्रहरी अधिकारीहरू जिम्मेवार भएको भन्दै उनीहरूलाई नछोड्ने टिप्पणी गरेका छन्। जानकारीअनुसार, ती महिला दिल्लीबाट ट्याक्सीमार्फत बिहारको नरकटियागंज रेलवे स्टेसन पुगेकी थिइन्। त्यहाँबाट उनी जुलाई ८ मा नेपाल पुगिन्। जुलाई १२ मा उनी नेपालबाट शारजाह उडेर अन्ततः रुस पुगिन्। नवभारत टाइम्सबाट