Redirecting...

नागरिक सरकारका मन्त्री कुलमान घिसिङ : सरकारी स्रोतको दुरुपयोग गर्दै, उज्यालो नेपाल पार्टीलाई भोट माग्दै - janatatimes.com

नागरिक सरकारका मन्त्री कुलमान घिसिङ : सरकारी स्रोतको दुरुपयोग गर्दै, उज्यालो नेपाल पार्टीलाई भोट माग्दै - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर १९ । नागरिक सरकार भनिएको सुशीला कार्की नेतृत्वको सरकारका शक्तिशाली मन्त्री कुलमान घिसिङ सरकारी साधन स्रोतको चरम दुरुपयोग गरेर आफ्नो पार्टीको पक्षमा भोट माग्न लाग्नु भएको छ । सकारी सुरक्षा, गाडी र सरकारी कार्यक्रम लिएर हिँड्नु भएका घिसिङ सरकारी मञ्चबाट नै खुल्ला रूपमा आफूले घोषणा गरेको उज्यालो नेपाल पार्टीलाई भोट लाग्न लाग्नु भएको छ । घिसिङले देशलाई उज्यालो बनाउन आफू नेतृत्वमा पुग्नु पर्ने भन्दै त्यसको लागि आफ्नो पार्टीको पक्षमा सहयोग गर्न आह्वान गर्नुभएको छ । रामेछापको सुनापति गाउँपालिकामा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै कुलमानले देश बनाउनको लागि आफूले पार्टी दर्ता गरेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिन सक्ने व्यक्ति आफू भएको पनि उहाँले दाबी गर्नुभयो । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको घिसिङले बताउनुभयो । उहाँले आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताउनुभयो । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो । उहाँले देश भरि नै बिजुलीको उज्यालो आफूले पुर्‍याएको दाबी गर्नुभयो । रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न पनि उहाँले आग्रह गर्नुभयो । सुशासनको कुरा गरिरहँदा घिसिङले आफूले सरकारी साधन, स्रोत र मञ्चको दुरुपयोग गरेर पार्टीलाई भोट मागिरहेको कुरा सायद बिर्सनु भयो । उहाँले सो विचार राखिरहँदा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएका वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईँ मञ्चमा अप्ठेरो मान्दै मोबाइल चलाउँदै हुनुहुन्थ्यो । सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायत बहुसङ्ख्यक वडाध्यक्षहरू माओवादी पार्टीबाट निर्वाचित हुनुहुन्छ । जो सो कार्यक्रममा उपस्थित हुनुन्थ्यो । सुनापति घिसिङको गृह गाउँपालिका पनि हो । आफू नेतृत्वको सरकारलाई दल बाहिरको पूर्ण नागरिक सरकार बताउने प्रधानमन्त्री सुशीला कार्कीले घिसिङकाे यो गतिविधि थाहा पाउनु भएको छैन वा थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्नु भएको हो । कि कार्कीकै योजना अनुसार यी गतिविधि भइरहेका छन् ? प्रश्न उब्जिएको छ ।