बाढी पहिरो प्रभावितको व्यवस्थापनमा जुट्न नेता कार्यकर्तालाई रास्वपाको आग्रह - www.pardafas.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण र प्रभावितको व्यवस्थापनमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेको छ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्– ‘अविरल वर्षादबाट देशैभर जल उत्पन्न विपद् जोखिम उच्च रहेको अवगतै छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन अधिक वर्षाको सम्भावना रहेको औँल्याएको छ। जारी वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्न–गराउनुहुन सबैलाई अनुरोध गर्दछौँ। साथै नदी–खोला तटीय क्षेत्र आसपासका क्षेत्रमा बस्नुहुने र स्थलमार्ग प्रयोग गर्नुहुने सम्पूर्ण यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दछौँ। ‘ ‘विपद्को बेला मानवीय सेवा–सहयोगमा जुट्नु सबैको कर्तव्य हो। यही मर्मलाई आत्मसात् गर्दै सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत खोज-उद्धार, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूह सहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यसै विज्ञप्तिमार्फत विशेष आह्वान गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।