अब बालाजुबाट पनि ट्रायल दिन पाइने, टेन्डर आह्वान - www.meroauto.com
काठमाडौं । अब चाँडै यातायात व्यवस्था कार्यालय, बालाजुबाट पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि परीक्षा दिन पाइने भएको छ । हाल उपत्यकाको एकान्तकुना, चाबहिल, ठूलो भर्याङ र राधेराधेबाट मात्रै लिखित तथा ट्रायल दिन पाइने व्यवस्था रहेकोमा अब बालाजुबाट पनि सेवा सुरू गरिने भएको हो । हालसम्म सवारी ब्लू बुक नवीकरण र कर संकलनको काम मात्रै हुँदै आएको यातायात कार्यालय बालाजुबाट अब नयाँ लाइसेन्स सम्बन्धी काम पनि हुने भएको हो । कार्यालयले एक सूचना प्रकाशित गर्दै पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने तयारी स्वरुप ट्रायल सेन्टरका लागि टेन्डर आह्वान गरेको छ । कार्यालयले मोटरसाइकल, स्कुटर र मोपेड (‘क’ र ‘ट’ वर्ग), कार, जिप, डेलिभरी भ्यान, मिनिबस र मिनिट्रक (‘ख’ र ‘च’ वर्ग) र ट्रक, बस र लरी (ग वर्ग)को ट्रायल सेन्टरका लागि ड्राइभिङ सेन्टरहरूसँग प्रस्ताव माग गरेको हो । प्रस्ताव अनुसार ट्रायल सेन्टर काठमाडौँको बालाजु चोकबाट ५ किलोमिटरको दूरीमा (चक्रपथ भित्र वा बाहिर) हुनुपर्नेछ । ट्रायल सेन्टरमा एकैपटक १०० जना परीक्षार्थी सहभागी भई लिखित परीक्षा दिन सक्ने क्षमता भएको हल, चमेना गृह र पार्किङ सुविधा हुनु पर्नेछ । साथै, दुईपाँग्रे, चार पाङ्गेर ठूला सवारीको ट्रायल एकै कम्पाउण्डबाट संचालन हुनुपर्ने छ । ट्रायलका लागि प्रयोग हुने साना सवारी साधन सन् २०१९ वा सोभन्दा पछाडिको मोडेलको हुनुपर्ने कार्यालयले जनाएको छ । ठूला तथा मझौला सवारीको हकमा भने १० वर्ष भन्दा पुरानो हुन नहुने मापदण्ड तोकिएको छ । इच्छुक कम्पनीहरूले आगामी पुस ११ गतेभित्र गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ । The post अब बालाजुबाट पनि ट्रायल दिन पाइने, टेन्डर आह्वान appeared first on Meroauto.